मंसिर २७, २०७८
विरोधी खेमाभित्रका बहुदावीकै कारण नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको नतिजा एकलौटी रुपमा आफ्नो पक्षमा पर्ने आकलन गरेका प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवारी दर्तापछि अत्तालिएका छन् । उनी हतास र पराजित मानसिकता बोकेर प्रतिनिधिहरुसामु प्रस्तुत हुन थालेका छन् ।
आइतबार बिहानै आफूनिकट केही प्रतिनिधिको भेलामा उनले एकदमै कमजोर मनोदसाका साथ हतास अभिव्यक्ति दिए । उनले आफू जित्नुपर्ने अरु कुनै तर्क र आधार नपाएर एमाले अध्यक्ष केपी शर्मा ओलीको डर देखाए । आफू हारेपछि यो सरकार ढल्ने र ओली सरकारमा आउने भय देखाएर प्रतिनिधिको भयदोहन गर्न खोजे ।
देउवाले यो कुरा जानीबुझी गरे वा अनायासै अन्तरमनको कुरो फुस्कियो, त्यो बेग्लै पक्ष हो । तर, उनले जे भने त्यसले देउवाले हार स्वीकार गरिसकेको जनाउ दिन्छ ।
देउवा अहिले केवल एकजना सभापतिका प्रत्यासी मात्र होइनन्, सारा राज्य संयन्त्र हातमा लिएर बसेका उच्च पदाधिकारी हुन् । उनीसँग पक्कै बलियो सूचना सञ्जाल र संयन्त्र छ । आफू हार्ने करिब निश्चित देखेपछि अत्तालिँदै भय बाँडेर, प्रलोभन देखाएर वा ओली कार्ड खेलेर माहोल बनाउन खोजिरहेका छन् । तर, यस्तो मानसिकताले उनी कमजोर हुन्छन् कि बलिया भन्ने बेग्लै समीक्षाको विषय छ ।
खासमा देउवा यति कमजोर भएका अरु कारणले होइन, आफ्नै कारणले हो । सबैभन्दा पहिलो गल्ती उनले आफ्नो टिम बनाउँदा गरे । उनले एकातिर विजयकुमार गच्छदारजस्ता भ्रष्टाचारको आरोप लागेका पात्रलाई आफूभन्दा पछाडिको वरीयतामा राखी उपसभापतिका रुपमा अघि सारेका छन् । अर्कोतिर उपसभापतिकै अर्का उम्मेदवार संगठनमा भिज्न नसकेका, आफ्नै निर्वाचन क्षेत्रबाट जित्न नसक्ने र कोठे राजनीतिमा रमाउने पूर्णबहादुर खड्कालाई बनाएका छन् ।
विश्वप्रकाश शर्मा, बालकृष्ण खाँण, रमेश लेखक, एनपी साउँदजस्ता एक से एक नेता हुँदाहुँदै प्रकाशशरण महतलाई महामन्त्री बनाएर देउवाले अर्को गल्ती गरे । महतसँग न संगठनमा पकड छ, न त कुनै वैचारिक धरातल वा व्यक्तित्वमा आकर्षण । विगतमा पटकपटक अवसर पाइसकेर पनि कुनै काम देखाउन नसकेका, बरु उल्टै कांग्रेस कार्यकर्तालाई चिढ्याएर भएको शक्ति पनि क्षय गराएका छन् । नुवाकोटमा कांग्रेसीहरुबाटै लखेटिएर काठमाडौँमै चुनाव उठ्नुपर्ने अवस्थामा पुगेका उनलाई अब निर्वाचन क्षेत्र त के, एउटा टोलबाट पनि समर्थन पाउन मुस्किल छ ।
प्रकाशशरण महतजस्ता कुनै राजनीतिक विचार र जनाधार नभएका व्यक्तिलाई दोस्रो उपसभापतिमा अघि सार्नु नै देउवाको पराजयको प्रस्थानविन्दु हो भने विश्वप्रकाश शर्मा, विमलेन्द्र निधिजस्ता उनका शुभचिन्तकहरु भक्कानो फोरेर हिँड्नुपर्ने अवस्था आउनु अर्को दुर्भाग्य हो ।
सिटौलाको रणनीतिमा फस्नु देउवा पराजित हुने अर्को कारण हो । व्यक्तिगत रुपमा प्रदीप पौडेल कांग्रेस नेतृत्वमा पुग्नुपर्ने पात्र भए पनि सिटौलाको डिजाइनमा देउवाको टिम बनेपछि उनी आफ्नै समूहभित्र कमजोर बनेका हुन् । आफ्नै समूहभित्रको असन्तुष्टिको आगो बोकेर चुनावी मैदानमा होमिँदा देउवा कसरी जित्न सक्लान् रु यही प्रश्नको उत्तरले पनि देउवाको भविष्यलाई इंगित गर्छ ।
अर्कोतिर शेखर कोइरालाको टिमले कार्यकर्ताको मन जितेको छ । एक त कोइरालाले एकपटक मात्र सभापतिमा उठ्ने र त्यसपछि नेतृत्व हस्तान्तरण गर्ने अठोट व्यक्त गरेका छन् । अर्को, उनले युवा र प्रभावशाली नेताहरुलाई साथ लिएका छन् । गगन थापा, मीनेन्द्र रिजाल, धनराज गुरुङ र चन्द्र भण्डारीजस्ता ऊर्जावान् नेताहरुको लहर र शेखरले अघि सारेको पुस्तान्तरणको एजेन्डाले धेरैलाई आकर्षित गरेको छ ।
देउवा हार्नुपर्ने अर्को कारण विमलेन्द्र निधि हुन् । उनले देउवालाई जसरी पनि हराउनुपर्ने र कांग्रेसमा नयाँ नेतृत्व स्थापित गर्नैपर्ने एकसूत्रीय एजेन्डामा निधि अघि बढेका छन् । उनले आइतबार सार्वजनिकरुपमै घोषणा गरिसकेका छन् कि देउवालाई पहिलो चरणमा जित्न नदिने, दोस्रो चरणमा बाँकी तीनवटै सभापतिका उम्मेदवार एक ठाउँमा उभिएर हराउने योजना बनिसकेको छ ।
यसरी दोस्रो चरणमा देउवालाई हराउने शेखर कोइराला र उनको टिम नै हुनेछ । उनलाई रामचन्द्र पौडेल र सशांक कोइरालाको आशिर्वाद त छँदै छ, प्रकाशमान सिंह, सुजाता कोइराला, विमलेन्द्र निधिलगायतले पनि साथ दिनेछन् । त्यसपछि देउवा कांग्रेस राजनीतिबाट सधैँका निम्ति विदा हुनुपर्नेछ । पैसाको बलमा जे पनि गर्न सकिन्छ भन्ने देउवापत्नीको घमण्ड पनि त्यही विन्दुबाट चूर हुनेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८