काँग्रेसको १४ औं महाधिवेशन : कसरी हुन्छ निर्वाचन ? यस्तो छ तालिका

  • खबरदाता
  • मङि्सर २२, २०७८

 

मंसिर २२,२०७८

नेपाली काँग्रेस १४ औं महाधिवेशनको अन्तिम तयारीमा छ । उसले यहीँबाट मंसिर २४ गते देखि २७ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा अधिबेशन गर्दै छ।

गएको भदौ १८ गतेबाट वडा देखि शुरु गरेको अधिवेशन काँग्रेसले मंसिर २० सम्म प्रदेश अधिवेशन पनि सम्पन्न गरिसकेको छ । केहि जिल्लामा जिल्ला अधिबेशन भने काङ्ग्रेसले गर्न सकेको छैन । यता प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि गर्ने गरी स्थगित गरिएको छ । प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेतृत्व चयन भएको छ ।

प्रदेश अधिवेशनका लागि सम्बन्धित प्रदेश राजधानी आएका अधिकांश महाधिवेशन प्रतिनिधि पनि काठमाडौं आइसकेको अवस्था छ ।

२१ गतेबाटनै महाधिवेशन प्रतिनिधिको इन्ट्री काङ्ग्रेसले सुरु गरिसकेको छ। अहिले सम्म ४ हजार ३१९ महाधिवेशन प्रतिनिधिको जनाको नाम इन्ट्री भइसकेको उसले जनाएको छ ।

यस्तो छ महाधिवेशन तालिका

मतदाता नामावली प्रकाशन भने मंसिर २४ गते विहान १० बजे हुने छ । मंसिर २५ गते विहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ । मनोनयन पत्रमाथि पर्ने दाबी विरोध, दर्ता गर्ने र जाँचबुझ गर्ने समय मंसिर २६ गते विहान ८ बजेदेखि १० बजेसम्म रहेको छ । त्यस उपरको निर्णय मंसिर २६ गते विहान १० बजेदेखि १२ बजेसम्म रहेको छ ।

उम्मेदवारको नामावली प्रकाशन गर्ने समय सोही दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म रहेको छ । मनोनयन फिर्ता लिने समय २६ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म राखिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोही दिन अपरान्ह ५ बजेसम्म छ । मतदानको समय २७ गते विहान ८ बजेबाट सुरु हुने छ ।

मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभा गृह र पुलिस क्लबमा मतदान स्थल बनाइनेछ । १४ औं महाधिवेशनका लागि २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स राखिने छ । १३ औं महाधिवेशनमा ९ प्रकारका मतपत्र थिए भने यसपटक १२ प्रकारका रहेका छन् । सभापति, पदाधिकारी, खुला केन्द्रीय सदस्य, प्रदेशबाट निर्वाचित हुने सदस्य, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गता लागि छुट्टाछुट्टै मतपत्र बनाउनेछ ।

  • खबरदाता
  • प्रकाशित मिति:मङि्सर २२, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८