• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

ओमिक्रोनको त्रास : बुकिङ ‘होल्ड अन’ गर्न थाले पर्यटक

  • खबरदाता

ओमिक्रोनको त्रास : बुकिङ ‘होल्ड अन’ गर्न थाले पर्यटक

मंसिर २१ ,२०७८

सन् २०२१ को अन्तिमतिर अर्थात् नोभेम्बरमा नेपालमा यो वर्षकै धेरै पर्यटक आएसँगै लयमा फर्किन थालेको पर्यटन क्षेत्रमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले धक्का दिने प्रारम्भिक अनुमान गर्न थालिएको छ । नयाँ भेरियन्ट नेपालमा समेत पुष्टि भएका बेला अहिले नेपाल आउन चाहने पर्यटकले बुकिङ ‘होल्ड अन’ गर्न आग्रह गर्न थालेको होटेल व्यवसायीहरूले बताएका छन् ।

सन् २०२१ को नोभेम्बरमा नेपालमा यसअघिका महीनाभन्दा धेरै पर्यटक घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा २६ हजार १३५ पर्यटक नेपालमा आएका छन् भने यसअघिको महीना अक्टोबरमा २३ हजार २८४ पर्यटक आएका थिए । पर्यटकको संख्या क्रमशः बढ्दै आएका बेला देखिएको ओमिक्रोनले त्रास सृजना गरेको छ । त्यसैले विभिन्न देशले उडान तथा भ्रमणमा रोक लगाएका छन् भने नेपालले पनि दक्षिण अफ्रिका, हङकङलगायत विभिन्न ९ देश र ती देशलाई ट्रान्जिट बनाएर आउने व्यक्तिलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

ओमिक्रोनको प्रभावले भन्दा पनि यसले उत्पन्न गरेको त्रासका कारण अहिले पर्यटक आउने वातावरण नै नभएको व्यवसायीहरू बताउँछन् । एस होटेल तथा रिसोर्टका कार्यकारी अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी योगेन्द्र शाक्यले सन् २०२१ मा होटेलहरूको समग्र अकुपेन्सी औसतमा ३० प्रतिशत रहेको जानकारी दिँदै पर्यटन क्षेत्र लयमा फर्किन लाग्ने सम्भावनाका बीच ओमिक्रोन देखिएको बताए । अहिले जनवरी, फेब्रुअरीमा आउने र वसन्त यामसम्मका बुकिङ फ्रिज हुने अवस्था आउन सक्ने उनको भनाइ छ ।

शाक्यले ओमिक्रोन डरलाग्दो छैन भन्ने कुरा आएको भए पनि यसले एक किसिमको त्रास सृजना गरेको बताउँछन् ।

लुम्बिनीबाट भारततर्प जान लागेका पर्यटकलाई भारतले रोक लगाएको जानकारी आएको भन्दै उनले अहिले तत्काल नै केही समय ‘होल्ड’ हुने अवस्था आएको बताए । अबको २ महीनापछि मात्रै उठ्न थालेको पर्यटनमा ओमिक्रोनले कस्तो प्रभाव पर्छ भन्न सक्ने उनको विश्लेषण छ ।

‘कोभिड पुष्ट हुँदै गर्दा हामीले पर्यटन लयमा फर्कन सन् २०२४ नै पर्खिनुपर्छ भन्ने प्रक्षेपण गरेका थियौं,’ शाक्यले भने, ‘तर, बीचमा पर्यटक आगमन बढेकाले २०२३ मा पर्यटन क्षेत्र लयमा फर्किने आश पलाएको थियो तर अहिले ओमिक्रोनले फेरि समस्या थपेको छ ।’ ओमिक्रोन देखिएपछि अहिले पर्यटक पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । ‘अहिले पर्यटकहरू होल्ड अनको अवस्थामा छन्,’ उनले भने, ‘नयाँ भेरियन्टले कस्तो रूप लिन्छ भन्ने हो भेरियन्ट डरलाग्दो भएन भने डिसेम्बर, जनवरीतिर नै केही राम्रो संकेत देखिनेछ ।’

पर्यटन बोर्डले भने पर्यटक संख्या बढाउने गरी पर्यटन प्रवद्र्धन र प्रचारप्रसारको कार्यलाई निरन्तता दिने दाबी गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० धनञ्जय रेग्मीले कोरोनाको नयाँ भेरियन्ट आउनासाथ आत्तिहाल्नुभन्दा पनि सावधानी अपनाएर अहिलेको प्रचारप्रसारलाई नै निरन्तरता दिने बताए । ‘पहिलोपटक कोरोना देखिँदा पनि हामी निकै आत्तिएका थियौं, तर त्यस्तो केही भएन,’ उनले भने, ‘ओमिक्रोनको जटिलताका विषयमा उल्लेख्य जानकारी नआएको हुँदा बोर्डले प्रचारप्रसार प्रवद्र्धनका लागि गरेका कुनै पनि कार्यक्रम स्थगित गर्दैन ।’

बोर्डले ७ ओटै प्रदेशमा टुरिस्ट मार्ट गर्ने, बोर्डर सिटी प्रवर्द्धनलाई निरन्तरता दिने उनको भनाइ छ । अहिले आएको पर्यटक संख्यालाई बढाउने गरी बोर्डले काम गर्ने उनले बताए । कोरोना भाइरस देखिएसँगै अन्य देशभन्दा पनि भारत अर्थात् नजिकका पर्यटक भित्र्याउने रणनीतिमा बोर्ड लागेको छ ।आर्थिक अभियानबाट ।

  • प्रकाशित मिति : मंसिर २१, २०७८, मंगलवार ०१:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८