• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सपना भिलेजद्वारा हात्तीवाङका चेपाङहरुलाई ६ लाख

  • खबरदाता

सपना भिलेजद्वारा हात्तीवाङका चेपाङहरुलाई ६ लाख

मंसिर १८, २०७८

चितवन । चितवनको सौराहामा अवस्थित सपना भिलेज सोसियल इम्प्याक्टले ईच्छाकामना गाऊंपालिका वडानम्वर १ का चेपाङ परिवारलाई करिव ६ लाख नगद पुरस्कार प्रदान गरेको छ।

गाउँपालिकाको सहकार्यमा संचालित ‘सबै यात्राको सुरुवात एक सपनाबाट हुन्छ’ नामक परियोजनामा आवद्व ती परिवारलाई प्रतिस्पर्धाका आधारमा ५ लाख ९८ हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको संस्थाका अध्यक्ष ध्रुव गिरिले जानकारी दिए ।

प्रतिस्पर्धामा विजयी हुनेहरुलाई वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै उनले चेपाङहरुलाई परिवर्तन गराउदै लगेकोमा खुशी व्यक्त गर्दै प्रदेश सरकार समेत यसमा लागिरहेको बताए ।

वडानम्वर १ मा ६६५ घरधुरी रहेपनि सुगम रहेको हात्तीवाङ वाहेक ५७० घरधुरीमा परियोजनाले काम गरिरहेको परियोजनाका निर्देशक सुजन बस्नेतले बताए । त्यसमा कूल ११ वटा क्लष्टर बनाएर ८ जना सहजकर्ता मार्फत नियमित रुपमा जनचेतना दिदै प्रेरणा दिइरदा उनीहरुले आफ्नो दैनिकी,आनीवानीमा सुधार गरिरहेका छन् । त्यही सुधारको सूचक पूरा गर्नेहरुलाई पुरस्कार प्रदान गरिएको हो ।

एउटा क्लष्टरमा ३५ देखि ६५ घरधुरी समावेश गरिएको छ भने त्यही क्लष्टरभित्र प्रतिस्पर्धा गराएर प्रथम हुने परिवारलाई नगद रु.१६ हजार, दोस्रो हुनेलाई १२ हजार,तेस्रो हुनेलाई १० हजार,चौथो हुनेलाई ७ हजार र पांचौ हुनेलाई ५ हजार प्रति क्लष्टर प्रदान गरीएको हो । तीन वर्षसम्म संचालन हुने परियोेजनाले यो दोस्रो पटक पुरस्कार वितरण गरेको हो । प्रतिवर्ष २ पटक पुरस्कार वितरण गर्ने नियम रहेपनि कोरोनाका कारण एक वर्ष पछि धकेलिएको गिरीले बताए ।

त्यस्तै ५७० घरपरिवारमध्ये फलफूल खेतीमा,वाख्रापालनमा र ११ क्लष्टरमा पनि सर्वात्कृष्ट हुने परिवारलाई प्रति परिवार रु. १६ हजार नगद पुरस्कार दिईएको कार्यक्रम अधिकृत अनिल अर्यालले जानकारी दिए । कोरोनाकै कारण वडाभित्र रहेका विद्यालय प्रतिस्पर्धा भने यस पटक समावेश गर्न नसकिएको उनको भनाई छ ।

चेपाङ समुदायको चेतनास्तर बढाउदै सकारात्मक परिवर्तन ल्याउन विस २०७६ माघ १ गतेदेखि यो परियोजना संचालनमा आएको हो । आर्थिक, सामाजिक,शैक्षिक , स्वास्थ्य, कृषि क्षेत्रमा पछि परेका चेपाङहरुको सोच परिवर्तन गराउदै ती क्षेत्रमा सुधार ल्याउन सुरु भएको परियोजनबाट अहिले चेपाङहरुमा परिवर्तन आएको वडाअध्यक्ष नन्दलाल गिरिले बताए ।

अहिले चेपाङहरु वालवालिका विधालय पठाउन थालेका छन् भने घर वरपर सरसफाई राख्ने,धुंवारहित चुलो प्रयोग,गर्भवती महिलाको नियमित स्वास्थ जाँच,शौचालय निर्माण,फलफूल खेती,वाख्रापालन आदि सुचकमा सफलता प्राप्त गरेका चेपाङ परिवारलाई पुरस्कार दिईएको हो ।

यसअघि सपना भिलेजले कालिका नगरपालिकाको चेपाङ बस्तीमा परियोजना संचालन गरेको थियो । त्यहां देखिएको परिवर्तन आफ्नो गाउँपालिकामा समेत आवश्यक भएको भन्दै गाउँपालिका अध्यक्ष गिता गुरुङले परियोजना संचालनमा सहकार्य गर्न तयार भएकी थिइन् ।

शनिवारको कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहेको थियो । गायक मिलन लामा र रमेशराज भट्टराईले आफ्नो प्रस्तुति दिदा दर्शकहरू रमाएका थिए । साथै चेपाङहरुले समेत आफ्नो प्रतिभा प्रस्तुत गर्दै सपना भिलेजले ल्याएको परिवर्तनबारे खुलेर प्रशंसा गरेका थिए भने आफ्नो ठाउंका समस्यावारे सरकारी निकाय तथा स्थानीय तहको ध्यानाकर्षण गराएका थिए । कच्ची सडक पुगेपनि विधुत नपुगेको, ओढारमा पुगेर पीउने पानी ल्याउनुपर्ने वाध्यता रहेको लगायतका गुनासो उनीहरुको थियो ।

  • प्रकाशित मिति : मंसिर १८, २०७८, शनिवार ११:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८