• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

१० वर्षका लागि बन्द भए चितवनमा स्थानीय जनगणना कार्यालय


१० वर्षका लागि बन्द भए चितवनमा स्थानीय जनगणना कार्यालय

ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा जनगणना गर्न कठिनाई भएको गणक तथा सुपरीवेक्षकहरुले बताइरहेका थिए । बारिहबाट आई डेरामा बसोवास गर्दै आएका तथा सहरका स्थानीयले पनि वास्तविक विवरण दिनलाई आनकानी गरेको बुझियो । यसले गर्दा अहिले पनि वास्तविक तथ्याङ्क आउला नै भनेर एकीन गर्न भने सकिने अवस्था छैन ।

केपी शर्मा-     मंसिर १६, २०७८

 

चितवन । जनगणना २०७८ सकिएसँगै जिल्लाका स्थानीय जनगणना कार्यालयहरु बन्द भएका छन् । केन्द्रीय तथ्याङ्क विभागको निर्देशन अनुसार गत भदौ २५ गते स्थापना गरिएका ती कार्यालयहरु यही मंसिर १५गतसम्म संचालनमा आएर बन्द भएका हुन् ।

जनगणना २०७८ का लागि चितवनमा ७ वटा स्थानीय जनगणना कार्यालयहरु स्थापना गरिएका थिए । जस अन्तर्गत भरतपुर महानरपालिकामा मात्रै तीन वटा कार्यालयहरु स्थापना गरिएको थियो । भरतपुर १०, भरतपुर ६ को गितानगार र भरतपुर २० को नयाँ बजारमा ती कार्यालयहरु रहेका थिए ।

त्यस्तै माडी, टाँडी, भण्डारा र कालिकामा समेत स्थानीय जनगणना कार्यालयहरु रहेका थिए । ती मध्ये भण्डारामा रहेको कार्यालयले राप्ती र खैरहनीको गणना गरेको थियो भने कालिकाको रेडक्रस ग्राममा रहेको कार्यालयले कालिका सहित इच्छाकामना गाउँपालिकाको समेत तथ्याङ्क संकलन गरेको थियो ।

भरतपुुर १० मा रहेको जिल्ला जनगणना कार्यालय भने यही मंसिर मसान्त सम्म संचालनमा रही बन्द गरिनेछ । यस वर्षको १२ औँ राष्ट्रिय जनगणनामा चितवनमा २१० जना सुपरीवेक्षक र ८६७ जना गणकहरुलाई परिचालन गरिएको थियो । उनीहरुले जिल्लाका ९८ वटै वडाबाट तथ्याङ्क संकलन गरी जिल्लामा बुझाइसकेका छन् ।

जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीका अनुसार राप्तीको १० देखि १३ नम्वर वडा र इच्छाकामनाका केही स्थानहरुमा भौगोलिक कठिनाइका कारण समस्या आएको थियो । तर ती क्षेत्रहरुमा पनि समयमै जनगणना सम्पन्न भएको उनले बताए । बन्द भएका स्थानीय जनगणना कार्यालयहरुले गणक तथा सुपरीवेक्षकहरुले संकलन गरेका फाराम तथा वाँकी रहेका सामाग्रीहरु जिल्ला जनगणना कार्यालयमा पठाइसकेका छन् ।

मंसिरको २५ गतेभित्रमा जिल्ला जनगणना कार्यालयले संकलित भएका ती विवरणहरुलाई वडाअनुसार छुट्टाछुट्टै राखेर केन्द्रीय तथ्याङ्क विभागमा पठाइसक्ने छ ।

संस्थागत रुपमा वसोवास गर्दै आएका परिवारलाई (प्रहरी, सशस्त्र र नेपाली सेना) गणना गर्नका लागि नेपाल प्रहरीका ४ जना, सशस्त्रका २ जना र नेपाली सेनाका ४ जना गरी १० जनालाई काजमा ल्याएर गणना कार्य सफल पारेको भण्डारीले बताए ।

भण्डारीका अनुसार भारतीय भूमि प्रयोग गरेर जानुपर्ने माडी नगरपालिका १ बाल्मिकी आश्रममा समेत सहजै गएर जनगणना गरिएको छ । उक्त ठाउँमा जम्मा १० परिवार रहेको उनले बताए । तर गणना चितवनमा भएपनि सो क्षेत्रमा बसोवास गरेका नागरिकहरुले प्रशासनिक काम भने नवलपुरको विनयीत्रिवेणी गाउँपालिका मार्फत गर्दै आएका छन् ।

निकुञ्ज क्षेत्रमा समेत बसोवास गर्ने उनीहरुले न चितवन न नवलपुरबाट विकास निर्माणको अनुभूति गर्न पाएका छन् । उनीहरुले शुद्ध पिउने पानी समेत नपाएको गुनासो गरेका थिए ।

जनगणना समाप्त भएको तीन महिनाभित्रमा अर्थात फागुन मसान्त सम्ममा प्रारम्भिक नतिजा सार्वजनिक हुने प्रावधान रहेको छ । जिल्लाबाट भने संकलित विवरण पठाइसकेपछि वाँकी रहेको सम्पूर्ण कार्यहरु तथ्याङ्क विभागबाटै सार्वजनिक हुनेछ ।

राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार चितवनमा १ लाख ३२ हजार ४६२ घरपरिवार रहेका थिए । ती घरपरिवार भित्र ५ लाख ७९ हजार ९८४ जना मानिसहरु रहेका तथ्याङ्कले देखाएको थियो । जसमध्ये पुरुषको संख्या २ लाख ७९ हजार ८७ र महिलाको संख्या ३ लाख ८९७ जना रहेका थिए । यो पटकको जनगणनामा यो संख्या बढ्ने अनुमान गरिएको छ । जसअनुसार करिव ७ लाख पुग्ने बताइएको छ ।

  • प्रकाशित मिति : मंसिर १६, २०७८, बिहीवार १२:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८