• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

शुक्रवारदेखि चितवनका सवै पालिकामा मतदाता नामावली संकलन हुने

  • खबरदाता

शुक्रवारदेखि चितवनका सवै पालिकामा मतदाता नामावली संकलन हुने

मंसिर १६, २०७८

चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले स्थानीय तहमै गएर मतदाता नामावली संकलन गर्ने भएको छ ।
तीनै तहको निर्वाचन नजिकिएसँगै आयोगले जनतालाई सहज हुनेगरी पालिका तहमै नामावली संकलनको कार्य सुरु गर्न लागेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले जानकारी दिए ।

चितवनमा रहेका सात वटा स्थानीय तह माडी नगरपालिका, कालिका नगरपालिका,रत्ननगर, खैरहनी, राप्ती र इच्छाकामनामा एकसाथ फोटो सहितको मतदाता नामावली संकलन गरिने भएको कार्कीले बताए । जिल्लाका पालिकाहरुमा मंसिरको १७ गतेबाट सुरु भएको नामावली संकलन पौषको १८ गतेसम्म संचालन हुनेछ । ६ वटा स्थानीय तहमा दुई चरण गरी नामावली संकलन हुने कार्कीले बताए ।


भरतपुर महानगरपालिकाभित्रका उमेर पुगेका योग्य नागरिकले भने जिल्ला निर्वाचन कार्यालमै गएर नामावली दर्ता गराउनुपर्नेछ । वाँकी ६ वटा पालिकामध्ये माडी, कालिका र इच्छाकामनामा यही १७ गतेदेखि पौषको २ गते सम्म कार्यक्रम संचालन हुनेछ । तर रत्ननगर, खैरहनी र राप्तीमा भने पौष ४ गतेदेखि पौषको १८ गतेसम्म नामावली दर्ता गरिनेछ ।

के छ त सुविधा यस पटक ?

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार यो पटक सम्वन्धीत जिल्लाभन्दा बाहिरका नागरिकले पनि यही जिल्लामा मतदाता नामावली दर्ता गर्न पाउने भएका छन् ।

तर त्यसका लागि भने पालिका स्तरमा नभई जिल्ला निर्वाचन कार्यालयमै पुगेर नाम दर्ता गराउनुपर्ने कार्कीले बताए । मदताता परिचय पत्र लिन भने चुनावको केही दिन अघि मतदानस्थलमै पुग्नुपर्ने कार्यालयले जानकारी दिएको छ ।

मतदान गर्न भने सम्वन्धीत जिल्लामै जानुपर्ने तर मतदाता नामावली दर्ता गर्ने सुविधा भने प्रदान गरिने उनले बताए । तर आवश्यक कागजात सहित आएमा मतदाता नामावली सार्ने, सच्याउने लगायतका सुविधा समेत प्रदान गरिने व्यवस्था छ । यदि बसाइसराइ गरेको कागजात भए वा विवाह गरेर आएको भए मात्रै परिवर्तीत ठाउँबाट मतदान गर्न सकिने अन्यथा नागरिकतामा उल्लेख भए अनुसार नै मत खसाल्ने सुविधा हुने उनले बताए ।

१६ वर्षमै नागरिकता पाउने भएपनि १८ वर्ष पूरा भएकाले मात्रै नेपालको निर्वाचनमा सहभागी हुन पाउनेछन् ।

२०७७ चैत्र ४ गतेसम्म चितवनमा ३ लाख ६८ हजार ३ सय ८२ जना मतदाता रहेका थिए । जसमध्ये भरतपुर महानगरपालिकामा १ लाख ७६ हजार ५६, रत्नगनरमा ४९ हजार ४९०, खैरहनीमा ४० हजार ४४, कालिकामा २७ हजार ८६३, राप्तीमा ३५ हजार ८२१, माडीमा २५ हजार १४७ र इच्छाकामनामा १३ हजार ९६१ मतदाता रहेका थिए ।

उल्लेखित नामावली २०७७ साल पौष ४ गतेसम्म संकलित नामावली हो । त्यस्तै जिल्ला निर्वाचन कार्यालय चितवनले दिएको तथ्याङ्क अनुसार २०७८ कार्तिक मसान्त सम्म ३ लाख ७८ हजार ७२१ जनाको नामावली संकलन गरिएको छ । तर यो तथ्याङ्क नागरिकता लिएकाहरु सहितको हो ।

१६ वर्षमै नागरिकता पाउने भएकाले नाम दर्ता गरेपनि पछिल्लो संख्या अनुसार मतदाता कति छन् भन्ने एकीन तथ्याङ्क निर्वाचन घोषणा भएपछि मात्रै प्राप्त हुने कार्यालयले जानकारी दिएको छ । जिल्लामा भने अहिले पनि नामावली संकलन कार्य जारी रहेको छ ।

  • प्रकाशित मिति : मंसिर १६, २०७८, बिहीवार १०:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८