मङ्सिर १६, २०७८
गहुँ खेतीका लागि किसानले खनजोत गरिरहेका छन्। तर, बजारमा डीएपी मलको चरम अभाव छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार गहुँबालीका लागि ६० हजार मेट्रिक टन डीएपी मलको आवश्यकता छ। सरकारसँग मौज्दात १५ हजार मेट्रिक टन मात्रै छ। १० हजार मेट्रिक टन विदेशबाट आउने क्रममा छ। बाटोमा रहेको मल आइपुगे पनि यो वर्ष २५ हजार मेट्रिक टन मात्र मल किसानले पाउनेछन्। किसानले मागको आधा पनि मल नपाउने अवस्था छ।
कृषि मन्त्रालय र मातहतका निकायहरू गहुँखेतीलाई आवश्यक मल उपलब्ध गराउन नसकिने ‘लाचारी’ व्यक्त गर्न थालेका छन्। कोभिडका कारण उत्पादक कम्पनीले नै कम उत्पादन गरेको र अन्तर्राष्ट्रिय बजारमै मलको भाउ बढेकाले पयाप्त खरिद गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ। कृषिमन्त्री महेन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण पर्याप्तमात्रामा मल खरिद गर्न नसकेको बताए। मलसम्बन्धी खरिद ऐन पुरानो भएकाले पनि खरिद गर्न कठिनाइ भएको हो।
किसानहरूको आवश्यकताअनुसार मल आपूर्ति गर्न नसकिएको लिमिटेडका सूचना अधिकारी राजेन्द्र कार्कीले स्वीकारे। ‘मलको माग अधिक छ,’ कार्कीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘गत वर्षको जति पनि मल आउन सकेको छैन।’ युरिया मलको भने अभाव छैन। तर, डीएपी भने किसानको माग अनुरूप उपलब्ध गराउन नसक्ने कार्की बताउँछन्।
चालू वर्षका लागि सरकारले २५ हजार मेट्रिक टन मात्रै डीएपी मल खरिद गरेको थियो। १५ हजार मेट्रिक टन नेपाल आइसकेको छ। यो भनेको ३ लाख बोरा हो। सरकारले ठेकेदार कम्पनी इन्डियन पोटास लिमिटेड (आईपीएल) सप्लायर्ससँग २५–२५ हजार मेट्रिक टन युरिया र डीएपी मल खरिदका लागि सम्झौता गरेको थियो। डीएपी १० हजार मेट्रिक टन रेल नपाउँदा बाटोमै अड्किएको छ। ‘एउटा रेल पाइयो। २ रेलको बुकिङ गर्न पाइएको छैन,’ कार्कीले भने, ‘बुकिङ खुले लगत्तै भैरहवा र वीरगन्जको आईसीटी नाकामा मल आइपुग्छ।’
दुवै नाकाबाट ५–५ हजार मेट्रिक टनका दरले ल्याउने तयारी भइरहेको कार्कीले बताए। १० हजार मेट्रिक टन भनेको प्रतिबोरा ५० किलो ग्रामको दरले २ लाख बोरा हुन्छ। यो मल एक साताभित्र आइपुग्ने लिमिटेडले जनाएको छ।
खेतीपातीको सिजनमै मल नपाएपछि किसान भने चिन्तित छन्। कृषि विज्ञसमेत यस वर्ष मल अभावमा गहुँको उत्पादनमा कमी आउने बताउँंछन्। कृषि मन्त्रालयका अनुसार सामान्यतया मल ल्याउन ठेकेदारसँग सम्झौता गरेको दिनदेखि नेपाल सीमासम्म आइपुग्न करिब २ सय २६ दिन लाग्छ।
यस वर्ष नेपालमा मात्र नभई भारत, श्रीलंकामा पनि मलको अभाव भएको कार्की बताउँछन्। कार्कीका अनुसार अन्तर्राष्ट्रिय बजारमै गत वर्षको तुलनामा ३ सयदेखि ३ सय ५० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ। त्यसकारण खरिद गर्नसमेत गाह्रो भएको कार्कीले बताए।
अधिकांश रासायनिक मलको मुख्य उत्पादक चीन हो। तर, पछिल्लो समय कोभिडका कारण चीनका मल कम्पनीहरूले उत्पादन घटाएका छन्। कम्पनीहरूले नै कम मल उत्पादन गर्दा मूल्य बढेको कृषि विकास महाशाखाका अधिकारीको भनाइ छ। यसअघि ठेकेदारले प्रतिमेट्रिक टन ३ सय डलर तिरेर मल किन्ने गरेका थिए। यस वर्ष अन्तर्राष्ट्रिय बजारमै मलको मूल्य १ हजार १ सय डलरसम्म पुगेको छ। मूल्य बढेका कारण ३५ रुपैयाँ पर्ने डीएपी मलको मूल्य आकासिने भएको छ। यस वर्ष १ सय १२ रुपैयाँ हाराहारीसम्म मलको मूल्य पुग्नसक्ने मन्त्रालयका अधिकारीहरू बताउँछन्।
भारतमा पनि मलको अभाव देखिएको छ। ‘भारतबाट कालोबजारीको मल पनि नेपाल भित्रिने गरेको थियो,’ सूचना अधिकारी कार्कीले भने, ‘तर यसवर्ष यस्तो मल पनि आएको छैन।’
उनका अनुसार सरकारलाई डीएपी मल प्रतिबोरा (५० केजी) को ५ हजार ८ सय मूल्य पर्न आउँछ। तर, लागतभन्दा प्रतिबोरा ५० रुपैयाँ कम मूल्य तोकेर सरकारले मल बिक्री गर्ने गरेको छ। किसानलाई प्रतिबोरा १ प्रतिशतले अनुदान दिने निर्णय सरकारले गरेको थियो।
यसअघि मलको ठेक्का पाएका केही कम्पनीले बदमासी गर्दा किसानले अभाव खेप्नुपथ्र्यो। तर, अहिले बिक्री कार्टेलिङले गर्दा मल अभाव नभएको तर अन्तर्राष्ट्रिय बजारमै बढेको महँगीले अभाव सिर्जना भएको उनले बताए।
यता कृषि विकास महाशाखाका मल क्षेत्र हेर्ने अधिकारी भने अहिलेको समस्यालाई मध्यनजर गर्दै धानबालीका लागि कम नहोस् भनेर कुरा भइरहेको बताउँछन्। गहुँमा मल राख्नुपर्ने किसानले आधा मल हालेर भए पनि चित्त बुझाउन मन्त्रालयले अनुरोध गरेको छ। ‘महँगो भएकाल पनि अब किसानले गत वर्षको भन्दा आधा नै प्रयोग गर्नुपर्यो। यति भए पनि उपलब्ध हुन्छ। माटोमा भएका फसफोरस जस्ता तत्वले पनि उत्पादनमा सहयोग पुग्छ। जति उत्पादन हुन्छ, त्यसमै चित्त बुझाउनु पर्ने देखिन्छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने। अन्नपूर्ण पोस्टबाट ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८