मंसिर ११, २०७८
चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरको लहर आफ्नो पार्टीमा रहेको बताएका छन् ।
१० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै ओलीले एमालेको कपी गर्दै अन्य पार्टीले समेत धमाधम अधिवेशन गरेको बताए । एमालेको गतिविधि कपी गरेपनि हिजो जस्तो जनसहभागीता र उत्साह ल्याउन कुनै पार्टीले नसकेको र नसक्ने उनको भनाई थियो ।
नक्कल गर्न सकिने भएपनि सृजनशील हुन सामथ्र्य र हैसियत चाहिने भन्दै त्यो नेकपा एमालेसँग मात्रै रहेको उनको दावी थियो ।
अधिवेशनका लागि केही असन्तुष्टी रहेको भएपनि आमरुपमा देशभरबाट आमकार्यकर्ताहरु सर्वसम्मतीका साथ आएको बताउँदै उनले यति धेरै प्रतिनिधिहरु सर्वसम्मतबाट छानिनु धेरै खुशीको कुरा भएको बताए । पार्टी भित्र लोकतन्त्रलाई कसरी प्रयोग गरिन्छ भन्ने हेर्न एमालेको सिको गरे हुने उनको ठम्मायाई थियो ।
पार्टीभित्रको प्रतिस्पर्धा मूल्याकंनका आधारमा हुने र विपक्षिहरुसँग प्रतिस्पर्धा प्रतिस्पर्धाकै आधारमा हुने बताउँदै पार्टीभित्र प्रतिस्पर्धा नभई एकता महत्वपूर्ण हुने उनले बताए । सर्वसम्मतीबाट नेतृत्व चयन गर्न घुमाउरो आग्रह गर्दै उनले पार्टी चौतर्फी घेराबन्दीमा पर्दापनि सक्रियतापूर्वक योगदान दिएको भन्दै दीर्घमा रहेका नेताहरुलाई धन्यवाद दिएका थिए ।
दृढतापूर्वक लागेर एकताको पक्षमा संघर्ष नगरेको भए अहिलेको हैसीयत हुने कल्पना पनि गर्न नसकिने भन्दै नेता कार्यकर्ताको योगदानले नेकपा एमालेले लाखौँ कार्यकर्ता नारायणी नदी किनारमा उतार्न सकेको उनले बताए ।
माधव नेपाल र प्रचण्डप्रति इंगित गर्दै उनले व्यक्तिगत असन्तुष्टी,ईष्र्या त्यागेर पार्टीलाई टुक्रिन नदिएको भन्दै बन्दसत्रमा सहभागी नेता तथा प्रतिनिधिहरुलाई उनले पटक पटक धन्यवाद भनेका थिए ।
आफू कति वाँच्छु थाहा छैन, उनले भने“धेरै पटक मरेर बाँचेको मान्छे भएकाले धेरै अपेक्षा छैन । तर जसरी पार्टीलाई सिध्याउन खोज्नेविरुद्ध तपाईहरु चट्टानी अडानमा रहनुभयो,त्यसैको प्रतिफल अहिलेको जनसहभागीता हो ।”
जनलहर र पार्टी टुक्राउन लागिपरेका विरुद्ध कडा रुपमा उत्रिएर यो स्थानमा पार्टी आउँदा आफूलाई खाना मीठो लाग्ने र आनन्दले निन्द्रा लाग्ने उनको भनाई थियो । अगाडि रहेका नेता तथा प्रतिनिधिहरुलाइ उनले भने,“हिम्मती चेहाराले देशको भविष्य सुरक्षित देख्छु,यसले लोकतन्त्र र पार्टीको भविष्य सुरक्षित रहेको ठान्छु । यसकारण ढुक्क भएर आफू सुत्ने गरेको छु ।”
मानव अधिकार तथा ग्लोवल इस्यूमा पनि नेपालले सक्रिय सहभागीता जनाएको उल्लेख गर्दै कोभिडले आवधिक क्षती पुर्याएपनि राजनीतिक नेता र तिनका पिछलगुहरुले दीर्घकालिन व्यवधान खडा गरेको ओलीले बताए ।
आफ्नो नेतृत्वमा सरकार हुँदा राम्रो परिणाम प्राप्त गर्दै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य लिएर यसको प्राप्तीका लागि लागेपनि लोकतन्त्र राष्ट्रियता, शुसासनको पक्षमा काम नगर्नेहरु देश विगार्न सक्रिय रहेको उनले बताए ।
नेकपा एमालेको १०औँ महाधिवेशन मंसिर १० गतेबाट सुरु भई १२ गते आइतबार सकिने कार्यतालिका रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८