• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

देशभरका तुइन हटाउँछ भनेर मलाइ सरकारबाटै हटाइदिए : ओली


देशभरका तुइन हटाउँछ भनेर मलाइ सरकारबाटै हटाइदिए : ओली

केन्द्रमा प्रदेशमा आफ्नै हालीमुहाली अनुसार सरकार चलाउँदै आएको एमाले आफै छिन्नभिन्न भएर प्रमुख प्रतिपक्ष दलमा पुगेको छ । यो अवस्थामा आज ओलीले दिएको भाषण अनुसार ५१औँ प्रतिशत ल्याउछ भनेर सर्वसाधरणले पत्याउलान्?

 

केपी शर्मा– मंसिर १०, २०७८

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरवहादुर देउवालाई पनि काम गर्न सहज नहुने बताएका छन् । भरतपुरको नारायणी नदी किनारमा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै ओलीले यस्तो कुरा बताएका हुन् ।

माधव कुमार नेपाल र प्रचण्डप्रति लक्षित गर्दै ओलीको वाण थियो ‘मेरो पार्टीमा रहेर मलाई खुट्टा तान्दै यो अवस्थासम्म पुर्याउने साथीहरु अहिले देउवाजीको खुट्टा समात्दैछन । त्यसैले मलाई भएको समस्या दोहोरिने सम्भावना देखिरहेको छु ।’

नेकपा एमाले अहिलेकै रफ्तारमा अघि वढ्दै गए आउँदो चुनावमा सवैभन्दा ठूलो दल मात्र होइन ५१ प्रतिशतनै ल्याएर देखाइदिने उनले दावी गरे । आफूले समृद्ध नेपालको सपना देखेर काम गरिरहदा सरकारबाट बाहिरिनु परेको बताउँदै अवको चुनावमा अत्यधिक बहुमत ल्याएर अपूरा योजना पूरा गर्ने समेत उनको भनाई थियो ।

आफ्नो नेतृत्वको सरकारले इतिहासमै सवैभन्दा धेरै काम गरेको उनले दावी गरे । तुइन नै तुइनको संजाल भएको नेपालका नदीहरुमा आफ्नो पालामा तुईन विस्थापित गर्दै झोलुङ्गे पुल र पक्की पुल निर्माण गरेको उनको भनाई थियो ।

उनले भने,“देशभरीका तुइन हटाउँछ भनेर मलाई नै सरकारबाट हटाइदिए । त्रिशुलीको बाटो तुइनमय थियो अहिले तुइन हटेपछि पक्की र झोलुङ्गे पुल बनेका छन् । त्यो त तपाइहरुले देख्नु भएकै छ । अव केही समयपछि हामीले सुरु गरेको सुरुङमार्गबाट काठमाण्डौ पुग्नुहुनेछ । ”

आफ्नो पालामा भएको सरकारले गरेको कामको फेहरिस्त हेर्ने हो भने अन्तरिक्षमा समेत नेपालले हिस्सा पाउने उनको दावी थियो । उनले भने,“अन्तरिक्षमा पनि हाम्रो हिस्सा लाग्छ । नेपालले आफ्नो दावी अन्तरिक्षमा गरिसकेको छ । ” साथै उनले नेपालको भूभाग लिपुलेक लिम्पियाधुरा लगायत मिचिएको जग्गा फिर्ता ल्याएरै छाड्ने बताउँदै त्यसका लागि वार्ता नै काफि रहेको बताए । उनले भने,“लिम्पियाधुरा र कालापानीको नक्सामात्रै उतारेर मलाई शान्ति मिलेको छैन । जग्गा पनि फिर्ता ल्याउनुपर्छ । अव हाम्रो सरकार बन्छ र ती अधुरा काम हामीले गर्नेछाैं। ”

भूगोलको हिसावमा साना ठूला नहुने भन्दै राष्ट्र र राष्ट्रियताका लागि सवै देश एउटै भएको उनको भनाई थियो । साथै ओलीले नेपालको संविधान जनचाहाना अनुसार परिमार्जन हुँदै जाने र त्यसका लागि सवै दलहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

शुक्रवार उद्घाटन सत्र सकिएको एमालेको महाधिवेशनको बन्द सत्र शनिवार विहान ८ बजेदेखि सौराहाको होटल सेभेनस्टारमा सुरु हुनेछ । महाधिवेशले नयाँ नेतृत्व चयन गर्नेछ । त्यसका लागि शनिवार बेलुका देखिनै उम्मेदवारी दर्ता अन्तिम नामावली प्रकाशीत गर्ने कार्यतालिका रहेको छ । आइतवार भने मतदान हुनेछ ।

यस पटक एमालेले मतदानका लागि १०० वटा इलेक्ट्रोनिक भोटिङ मेशीन प्रयोग गर्दैछ । एमालेका अनुसार सम्भवत नजिता पनि सोही दिन बेलुका आउने बताइएको छ । अन्त्यमा सौराहा घोषणा पत्र जारी गर्दै महाधिवेशन सक्ने एमालेले जनाएको छ ।

  • प्रकाशित मिति : मंसिर १०, २०७८, शुक्रवार १३:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८