एमालेमय बन्दै नारायणगढ…

  • खबरदाता
  • मङि्सर १०, २०७८

पाँच लाख मान्छे उतार्ने महोत्वकांक्षि लक्ष्यका साथ उद्घाटन गर्न लागिएको एमालेको १०औँ महाधिवेशनमा धेरै दुखले देशभरबाट कार्यकर्ताहरु आइरहेका छन् । यसरी आएका कार्यकर्ताको एउटै चिन्ता छ की अवको नेतृत्व कस्तो आउला ?

केपी शर्मा-  मंसिर १०, २०७८

चितवन । विहानै ६ः३० बजे, भरतपुरको चौविस कोठी । सदाका दिनजस्तो सवारी आवागमन थिएन । बाक्लो हुस्सुले टाढाबाट एकले अर्कोलाई सजिलै पहिचान गर्न पनि कठिन थियो । नजिकैबाट वल्ल एकलेअर्काेलाई पहिचान गर्न सकिन्थ्यो । वाक्लो हुस्सुले जाडो पनि त्यतिकै थियो । तर पनि मानिसहरु हुलका हुल आइरहेका थिए । लामवद्ध भई आएका उनीहरु आजबाट सुरु हुन गइरहेका नेकपा एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन आएका हुन् ।


भरतपुर कतिलाई नौलो नै थियो की केही अलमलमा देखिन्थे । सवारी साधन नभएपनि वाक्लो संख्यामा उपस्थिती उनीहरुलाई नेपाल प्रहरी तथा ट्राफिक प्रहरीहरुले महाधिवेशन उद्घाटन हुने नारायणी नदी किनारको बाटो पहिचान गराइरहेका थिए ।

बाक्लो लुगा लगाएका र केही ले त कम्बल समेत ओढेका थिए । उनीहरु पूर्वी तराइबाट आएका भनेर सहजै अनुमान गर्न सकिन्थ्यो । उनीहरुलाई भरतपुरको केन्द्रीय बसपार्कबाट पैदलनै जान भनेर प्रहरीले भनेपछि उनीहरु उद्घाटनस्थलतर्फ अघि बढेका थिए ।


यस्तै नारायणगढको पुल्चोकमा भने विहान सात बजेनै मानिसहरुको घुँइचो देख्न सकिन्थ्यो । पश्चिमतर्फबाट आएका नेता कार्यकतालाई नवलपुरको गैँडाकोटमै सवारी रोकेर पैदल पठाइएको थियो ।
सुरक्षाको दृष्टिकोणले नारायणी नदी पुललाई सकेसम्म प्रहरीले खाली गराउने प्रयास गरेको देख्न सकिथ्यो । पुलमा कुनैपनि सवारी साधन रोकिन नपरोस भनेर त्यसरी आएका नेता कार्यकर्ताहरुर्लाइ लामवद्ध वारपार गराइरहेका थिए ।
छिटपुट मात्रामा प्रवेश गरेका सवारी साधनलाई पुलकै छेउबाट शिवघाट जाने बाटोतर्फ डाइभर्ट गरिएको थियो ।


पुल्चोकबाट पोखरा बसपार्क तर्फ प्रवेश गर्ने बाटोमा सतप्रतिशत आवागमन बन्द गरिएको छ । त्यस क्षेत्रमा अहिले मानिसहरुको वाक्लो भीड छ । त्यहाँ मात्रै होइन नारायणी नदी किनार प्रवेश गर्ने ठाउमा पनि सवारी प्रवेश गर्न दिइएको छैन। यता मुग्लिनतर्फबाट आउने सवारी साधनलाई आँपटारीमा रोकेर देवघाट जाने बाटोमा पार्कीङको व्यवस्था मिलाइएको छ । त्यहाँबाट पनि नेता कार्यकर्ता पैदलनै नारायणी किनार पुग्ने गरेका छन् ।


नेता तथा कार्यकर्ताको आवागमनसँगै भरतपुरको नारायणगढ एमाले मय बनेको छ । स्वागतद्धारा, सडकका पोल, डिभाइडर रुख आदि जस्ता स्थानहरुमा राखिएको एमालेको झण्डा र चिन्हले सजिसजाउ पार्दा चमक देखिएको छ । पार्टीका स्वयम्सेवकहरु वाहिरबाट आएका कार्यकर्तालाई कार्यक्रमस्थल देखाइरहेका थिए ।


पाँच लाख कार्यकर्ता उतार्ने बताएको एमालेको १०औँ महाधिवेशन मध्यान्न १२ बजे नारायणी नदी किनारमा उद्घाटन हुनेछ । उद्घाटनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीवारनै भरतपुर आइपुगेर सौराहा बसेका छन् ।

  • खबरदाता
  • प्रकाशित मिति:मङि्सर १०, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८