• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवने पत्रकारले प्रचण्डलाई नछुटाउने एउटै प्रश्न : राम र राममन्दिर


चितवने पत्रकारले प्रचण्डलाई नछुटाउने एउटै प्रश्न : राम र राममन्दिर

चितवनको माडीमा ओलीले पठाएका राम लक्ष्मण, सीता र हनुमानको मूर्तिलाई विना अनुसन्धान ल्याइएको भन्दै विरोध गर्ने प्रचण्डले भारतीय रामदेव वावालाई आफ्नै निवासमा बोलाएर किन भगवानको रुपमा स्वीकारे ? भारतमा विभिन्न प्रकारका उद्योगहरु संचालन गरेका र नेपालमा पनि विभिन्न टिभी च्यानलहरु उद्घाटन गर्न आएका रामदेवसँग प्रचण्डको कनेक्सन के हो ?

केपी शर्मा   -मंसिर ४, २०७८

चितवन । प्रचण्ड अर्थात् पुष्पकमल दाहाल । नेकपा माओवादीका केन्द्रीय अध्यक्ष । चितवनका स्थानीय । प्रायः महिनैपिच्छे उनी चितवन आइरहन्छन् । पछिल्लो समय भने उनको चितवन आउनेक्रम निकै बाक्लीएको छ ।

एमालेसँगको गठवन्धन तोडिएपछि झण्डै झण्डै विछिप्त हुन पुगेका प्रचण्ड चितवनमा आएर केही न केही नयाँ कुरा दिने गर्दछन् । प्राय काठमाण्डौबाट सोझै भरतपुर आउने प्रचण्ड शनिवार भने रौतहटबाट हेलिकप्टरमार्फत भरतपुर विमानस्थल झरे ।

प्रचण्ड आउँदा सधैँ तामझाम हुने विमानस्थल आज भने सुनसाननै देखियो । पत्रकारको संख्या पनि कमनै थियो । जवजव प्रचण्ड चितवन आउँछन् तवतव पत्रकारहरुले उनलाई अनेकन प्रश्नहरु सोध्छन् । उनले ती प्रश्नको सहजै उत्तर दिन्छन् । तर उनी जतिपटक चितवन आउँदा पनि एउटा प्रश्नको सधैँ भरी सामना गरिरहन्छन् ।

आज पनि प्रचण्डलाइ पत्रकारहरुले धेरै प्रश्नहरु सोधेः एमसीसीको बारेमा, बाबा रामदेव प्रचण्ड निवास गएको बारेमा, आज विहानै विप्लवसँग भएको भेटवार्ता लगायत धेरै अन्य प्रश्नहरु ।

यतिकैमा पत्रकारले उनलाई सदावहार प्रश्नपनि तेस्र्याए, माडी,राम र राममन्दीरको बारेमा । पत्रकारले सोधे , ‘केपी ओलीले भगवान रामलाई आदर्श पुरुष मानिरहदा प्रचण्डले रामदेवलाई किन क्रान्तिकारी माने ?’

प्रचण्डलाई सदावहार सोधिने प्रश्नको जवाफ पनि मुखस्त छ । उनले आफूले राम मन्दिर भएको माडीमै गएर जनताहरुलाइ आफू र आफ्नो पार्टी यसको विरोधी नभएको प्रत्येक पटक चितवन आउँदा बताउने गर्छन् । जुन आज पनि दोहोर्याएर उनले भने ।

“धार्मिक पर्यटनको विकास र माडीका जनताको समृद्धिका लागि पनि यसको महत्व छ उनले भने,“तर हचपचमा कुनै गलत पोलिटिकल नियतले पौराणीक ढंगले अध्ययन अनुसन्धान नगरी यही हो भन्दै हिँड्नु चाहिँ हल्का फुल्का भएर भोलि नेपालकै वेजत नहोस भन्ने हो । केपी जिको नियत ठिक होइन । उहाँले भगवान रामलाई सम्मान गर्न खोजेको हुँदै होइन । म अहिले बढी भन्दिन ।”

तर उनले ओलीलाई कटाक्ष गर्नपनि पछि परेनन् । विना अध्ययन, विना अनुसन्धान, प्रमाणीत नै नगरीकन राम र राम मन्दिर बारेमा हौवा फिँजाउँदै हिँडेको कुराले आफूहरु चिन्तित रहेको उनको भनाई थियो । आफूहरुले राम भगवानको कहिल्यै विरोध नगरेको र सत्य तथ्य सहितको खोज अनुसन्धान भएर विकास भए आफू सदैव सकारात्मक रहने उनले बताए ।

धार्मिक कारणले नभई राजनीतिक कारणले ओलीले चितवनको माडीमा राम मन्दिर स्थापनाका नाममा गरिएको प्रचारप्रसार मात्रै भएको उनको आरोप थियो । पत्रकारले सोध्ने प्रश्न र प्रचण्डले दिने जवाफ यसमा सधैँ उही रहेको पाइन्छ ।


आजको प्रश्नमा बाबा रामदेव पनि जोडिएपछि उनले थप कुराहरु बताए । केही दिनका लागि नेपाल आएका बाबारामदेव अन्तराष्ट्रिय विमानस्थलबाट सिधै प्रचण्ड निवास पुगेका थिए । उनको साथमा आचार्य बालकृष्ण पनि सँगै थिए । यस विषयमा उनले आचार्य बालकृष्ण पहिलादेखिनै आफ्नो घरमा आउने गरेको र आफ्नो श्रीमतीलाई आमा भन्ने गरेको प्रचण्डले प्रष्ट पार्न खोजे । उनले भने,“प्रकाश हुँदादेखिनै उनी निरन्तर आफ्नो निवासमा आउनेगर्दथे । उनीहरु मेरी श्रीमतीलाई सधैँ आमा भन्ने गर्छन् । आउँदा फलफूल लगायत अनेक कुराहरु ल्याउने गर्छन् । उनीहरु मेरा लागि भनेर आएकै होइनन् । अहिले पनि बाबा रामदेवसँगै आउदा लिएर आएका मात्र हुन् ।”

रामदेवको बारेमा प्रचण्डले केही प्रष्ट पार्न खोजे । रामदेव जातभात नमान्ने भएकाले आफू नजिक भएको उनको भनाई थियो । हरिद्वारमा रामदेवको उत्पादनबारेमा आफूले हेरेर आएपछि रामदेवप्रति नजिक भएको उनको धारणा थियो । रामदेव अरुजस्तो धर्मभिरु नभएको आफूले बुझेको उनले बताए । हिन्दुवादी हुनुपर्छ भन्ने उनमा नदेखिएको पनि प्रचण्डको भनाई थियो । जुन कारणले आफू रामदेवको नजिक भएको उनले बताए । उनी वैज्ञानिक तरिकाले सोच्ने बाबाको रुपमा आफूले बुझ्ने गरेको प्रचण्डले प्रष्ट पार्न खोजे ।

  • प्रकाशित मिति : मंसिर ४, २०७८, शनिवार १३:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८