• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

‘मेड इन नेपाल’लाई प्राथमिकता दिँदै १३औँ चितवन महोत्सव हुने


‘मेड इन नेपाल’लाई प्राथमिकता दिँदै १३औँ चितवन महोत्सव हुने

यस पटकको चितवन महोत्सवले मेड इन नेपालको अवधारणा ल्याएर नेपालमै उत्पादन भएका वस्तुहरुलाई बजारमा चिनाउने लक्ष्य राखिएकाले सधेँ भन्दा यो महोत्सव महत्वपूर्ण हुनेछ ।

केपी शर्मा-    मंसिर ३, २०७८ ।

गत वर्ष स्थगित भएको चितवन महोत्सव यो वर्ष हुने निश्चित भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजना र भरतपुर महानगरपालिका , जिल्ला समन्वय समितिको प्रवद्र्धनमा महोत्सव हुने भएको हो ।

कोरोना महामारीका कारण २०७७ सालमा भइसक्नुपर्ने महोत्सव एक वर्ष पछि धकेलिएसँगै आउँदो पौष २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा आयोजना हुनेछ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा कमीआएपनि पूर्णरुपमा नसकिएको हुँदा यस पटकको महोत्सवमा स्टल संख्या कम गरी परिसरलाई खुल्ला रुपमा राखिने आयोजकले जनाएका छन् ।

१३औँ संस्करणमा आइपुग्दा आयोजकले नेपालमा उत्पादन भएका वस्तुहरुलाई प्राथमिकता दिइने गरी ‘मेड इन नेपाल’ भन्ने छुट्टै परिसर समेत राखिने चितवन महोत्सवका मूल संयोजक राजु श्रेष्ठले जानकारी दिए । उनले भने,“महामारी यथवात रहेकाले सावधानी अपनाउदै परिसरलाई खुलमखुल्ला राख्नेगरी ३५० मात्रै स्टल रहनेछ ।त्यसमा चार वटा विशेष प्रकारका स्टल र डोमहरु पनि समावेश गरिएका छन् । ”

सदाझैँ लघु, घरेलु तथा साना उद्योगबाट उत्पादीत विभिन्न वस्तुहरु, हस्तकलाका सामाग्री,पोल्ट्रीपरिसर, अटो, बैँक तथा वित्तीय लगायतका स्टलहरु रहनेछन् । विशेषगरी नेपाली खानालाई प्राथमिकतामा राखेर हुँदै आएको फुड फेस्टीवललाई यस पटक पनि निरन्तरता दिइएको छ । पौष २८ गतेदेखि माघ २ सम्म फुड फेस्टीवल नारायणगढको क्याम्पा चौरमा विविधि सांस्कृति कार्यक्रम सहित संचालन हुनेछ ।

कोभिडले सवैभन्दा बढि असर पारेको क्षेत्र पर्यटनलाई केन्द्रविन्दुमा राखेर महोत्सव हुने र १० दिन चल्ने महोत्सवमा करिव ५ लाख आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ । उक्त अवधिमा २५ करोड भन्दा बढी कारोवार हुने अपेक्षा गरिएको छ ।

महोत्सवले चितवन जिल्लाको कृषि,शिक्षा,स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक,सामाजिक र सांस्कृतिक विकासमा यसले टेवा पुर्याउने र यहाँ उत्पादीत वस्तुको बजारीकरणमा समेत टेवा पुग्ने श्रेष्ठको भनाई छ ।

कोरोनाविरुद्धको खोप समेत धेरैले लगाएका कारण महोत्सवमा अझ बढी दर्शकको उपस्थिती हुने अपेक्षा अयोजकले गरेका छन् । सर्वसाधरणका लागि रु. ५० र विद्यार्थीका लागि रु. २५ को टिकट दर कायम गरिएको छ भने ज्यष्ठ नागरिक, एकल महिला, शहिद परिवारका लागि परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले बताएको छ ।

महोत्सव सफल पार्न आयोजकले मूल समिति,सल्लाहाकार समिति, स्टेरिङ समिति र विभिन्न गतिविधिमा केन्द्रीत ३० वटा कार्यागत समिति समेत गठन गरेको छ ।

पर्यटकीय नगरी तथा कृषिमा आत्मनिर्भर चितवन जिल्लाको गौरव, गरिमा र प्रतिष्ठाको साझा अभियानको रुपमा लिने गरिएको चितवन महोत्सव भव्यताका साथ सम्पन्न गर्न सवैमा आयोजकले अनुरोध गरेका छन् ।

  • प्रकाशित मिति : मंसिर ३, २०७८, शुक्रवार ०५:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८