नारायण प्रसाद दाहाल – कात्तिक २६,२०७८
अराजकताको राँको बालेर नेपाल बार एसोसिएसन देशको न्याय व्यवस्थालाई नै ध्वस्त पार्न अग्रसर भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका विरुद्धमा तथानाम नारा र लाञ्छना लगाएर दिनहुँ गरिने प्रदर्शन उग्र बन्दै गएको छ ।
शुक्रबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशलाई अदालतमा प्रवेश गर्नै नदिने कार्यक्रम तय गरेका छन् । त्यसका लागि प्रवेशद्वारमै धर्ना बस्ने उनीहरुको कार्यक्रम छ । अदालतजस्तो संवेदनशील क्षेत्रमा न्यायिक मर्यादाभन्दा बाहिर गएर गरिने यस्ता स्तरहीन प्रदर्शन र नारा कुनै बेलाको वाईसीएललाई पनि बिर्साउने खालका छन् । यी गतिविधि अझै मुठभेड बढाउने खालका छन् । जानीजानी नियोजित तवरले अप्रिय अवस्था सिर्जना गर्न उद्धत वकिलहरुको भिडमा वरिष्ठ विद्वानहरु पनि देखापर्नु थप विडम्बनापूर्ण छ ।
न्यायालय सुधारका माग राखी दबाबका कार्यक्रम गर्नुलाई अन्यथा मान्न सकिन्न । न्यायालय सुधारको मूलभूत दायित्व प्रधानन्यायाधीशको हो । प्रधानन्यायाधीशलाई सुधारका लागि सम्भावित बाटो देखाउने, सुझाव दिने र कार्ययोजनाका लागि दबाब दिनेसम्मका कार्यक्रमलाई सहज रुपमा नै लिन सकिन्छ । तर, एकैपटक प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने सर्त राखी अदालत ठप्प पार्ने र गालीगलौज तथा अराजकतामा उत्रिने कार्य स्वाभाविक मान्न सकिन्न । यस्तो शैलीका विरोध र प्रदर्शनले कोही पनि सफा हात लिएर आएको देखाउँदैन ।
कानुन व्यवसायीहरुको छाता संस्था बार भनेको अदालतको रक्षाकवच हो । अन्यत्रबाट अदालतमाथि प्रहार हुँदा बारले प्रतिवाद गर्नुपर्छ । किनभने, अदालत आफै बोल्दैन । अदालतले स्वयं प्रतिवाद गर्न पनि सक्दैन । त्यसकारण पनि बार अदालतको पहरेदार हो ।
तर, यहाँ ठीक उल्टो भइरहेको छ । इजलासमा न्यायाधीश हड्तालमा उत्रिएका छन् । बाहिर बार कुर्लिरहेको छ । बारले नै तथानाम भनेपछि आमनागरिकमा अदालतप्रति कस्तो छाप पर्ला रु यो संस्था यसरी भताभुंग होला भनेर अहिलेसम्म कसैले सायदै कल्पना गरेको थियो होला ।
अझ यहाँ खतरनाक पक्ष त के भने देशको प्रधानन्यायाधीशलाई आन्दोलन गरेर हटाउन खोजिँदै छ । तथ्य जेसुकै होस्, तर्क–कुतर्क गरेरै प्रधानन्यायाधीशलाई भ्रष्ट र अनैतिक प्रमाणित गर्ने होड चलेको छ । जो चर्को स्वरले करायो, उही बढी क्रान्तिकारी हुने भ्रम कानुन व्यवसायीदेखि पूर्वन्यायाधीशहरुमा देखिन थालेको छ । मिडियामा तिनकै घोक्रो सुकाएका आवाजलाई बढीभन्दा बढी स्थान दिइएको छ । मिडियाको ध्यान तान्न र भाइरल बन्न झन् अर्को आवाज गर्न थालिएको छ।
न्यायालय शुद्धीकरण आन्दोलनको नेतृत्व नै बोराका बोरा न्यायाधीशलाई बुझाउँछौँ भन्नेहरुले गरेका छन् । टन्न भागबण्डा लिइसकेकाहरु अहिले अदालतमा भागबण्डा भयो भन्दै बाटामा कराउँदै छन् । अदालतमा राजनीति घुस्यो भन्नेहरुले नै सक्दो धेरै दलीय प्रतिनिधिलाई न्यायाधीश बनाउन भूमिका खेलेका छन् । इजलासमा पनि हड्तालमा जोजो उत्रिएका छन्, ती हरेकको साइनो–सम्बन्ध राजनीतिक दलसँग छ । ती हरेकले राजनीतिक दल र तिनका भातृ संगठनमा सक्रिय गतिविधि गरेका छन् । तिनैमध्ये केहीले त पार्टी कार्यालयमा गएर शपथ नै लिएका छन् ।
जसको नैतिक धरातल नै भासिएको छ, तिनैले अहिले नैतिकताको पाठ सिकाउन थालेका छन् । आफू उही बाटो हिँड्ने, अनि अर्कोलाई चाहिँ किन हिँडिस् भन्दै डण्डा बजार्ने । यो दोगला चरित्रको आन्दोलनले न्यायालयमा कुनै सुधार गर्दैन । खासमा यो आन्दोलन पनि होइन, अराजकताको आगो हो । यसले अहिले अदालतलाई सिध्याउन खोजेको छ । विस्तारै राज्यका सबै अवयवलाई खरानी बनाउनेछ ।
अहिले चोलेन्द्रशमशेर राणा नामका एकजना व्यक्तिमाथि जाइलागेको यो अराजक भिड भोलि जोकोहीमाथि जाइलाग्न सक्नेछ । अदालतमै यसको नजिर स्थापित गर्न सके भोलि सबैतिर सल्काउन सजिलो हुनेछ । आगोको बिउ लिएर जता जान पनि सकिनेछ । तसर्थ, अदालतको प्रांगणमा उभिएका धुन्धुकारीले बोकेको अराजकताको राँकोले कोही पनि सुरक्षित छु भनेर ढुक्क भएर नबस्दा हुन्छ । बर्णन मेडियाबाट
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८