कात्तिक २२, २०७८
नेकपा एमालेको आसन्न १० औँ महाधिवेशनमा भाग लिनका लागि पार्टीले समयसीमा तोकिदिएको छ । पार्टीले चैतसम्म सदस्यता लिएकालाई मात्रै आसन्न १० औँ महाधिवेशनमा प्रतिनिधि छनौट गर्ने भएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका सङ्गठति सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरेको हो ।
एमालेका अनुसार चैत मसान्त सम्ममा सात लाख ३८ हजार पार्टीका सङ्गठित सदस्य रहेकोमा अहिले नौ लाख सङ्गठित सदस्य पुगेको जनाएको छ।
यही कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयन गर्ने एमालेले जनाएको छ । प्रतिनिधि चयन गरिसकेपछि कात्तिक ३० गतेसम्म केन्द्रीय सङ्गठन विभागमा पठाउन निर्देशन दिइएको छ ।
१० औँ महाधिवेशनमा एक हजार ९९९ जना प्रतिनिधि सहभागी हुनेछन् । चितवनमा मंसिर १० देखि १२ गते गर्ने महाधिवेशनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गत एक हजार २ सय पार्टी सदस्यबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले प्रतिनिधि, त्यसपछि ८ सय सम्मले थप एक÷एक जना प्रतिनिधि निर्वाचित गर्नेछन् । जनवर्गीय सङ्गठनबाट पाँच जनाका दरले महाधिवेशन प्रतिनिधि छनौट हुने उसको विद्यानमा छ ।
चितवनमा हुने महाधिवेशनमा ५ लाख नेता कार्यकर्ता उतार्ने दावी एमालेको छ । केही समय अघि मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औँ महाधिवेशन गर्ने स्थलको अवलोकन गरेका थिए । हालसम्म महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहा गर्ने एमालेले जनाएको छ । जिल्लाको समितिले तयारी तीव्र पारेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८