कात्तिक २२, २०७८
चितवन / आगामी निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मंसिर पहिलो हप्तादेखि मतदाता नामावली संकलन गर्ने भएकोछ ।
आयोगले गाउँ–गाउँमा गएर मताधिकार भित्र पर्ने उमेर समूहका व्यक्तिहरुको नामावली संकलन गर्ने तयारी गरेको हो । उसका अनुसार ७५३ वटै स्थानीय तहका गाउँगाउँमा गएर मतदाता नामावली संकलन गरिने छ । त्यसका लागि अर्थमन्त्रालयसँग बजेट समेत माग भएको र एक महिनामा मतदाता नामावली संकलन गर्न ११ करोड रुपैयाँ बजेट आवश्यक पर्ने आकलन गरी तिहारअघिनै बजेट माग गरेर अर्थमा पत्राचार भइसकेको आयोगका सचिव सुरेश अधिकारीले बताए ।
आयोगले ७ सय ५३ स्थानीय तहमा मतदाता नामावली संकलन गर्न प्राविधिकलाई एक महिनाका लागि करारमा नियुक्ति गरेर खटाउन लागेको छ । हिमाल र पहाडमा २० दिन र तराईमा ३० दिन उक्त अभियान चलाइने भएको हो । मतदाता नामावली संकलनका लागि एक जना प्राविधिकले हिमाल र पहाडमा एक स्थानीय तहमा १० दिन र अर्कोमा १० दिन खटिनुपर्ने हुन्छ । तराईमा भने एउटा स्थानीय तहमा १५ दिन खटाउने कार्ययोजना आयोगले बनाएको छ ।
निर्वाचनको मिति घोषणापछि निर्वाचन प्रयोजनका लागि मतदाता नामावली संकलन नहुने कानुनी व्यवस्था छ । आयोगले सरकारसँग चैत ५ भित्र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने कानुनी अड्चन रहेको जानकारी गराइसकेको छ ।
प्राविधिक सहयोग भने जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराउनेछ । स्थानीय तहमा खटिने प्राविधिकले एक दिनको १ हजार ८ सय रुपैयाँ पाउनेछन । आयोगले अहिले पनि हरेक जिल्ला प्रशासनमा प्राविधिक राखेर मतदाता संकलन गरिरहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८