घाइते चालकको बयानः सबैको ज्यान बचाउन नदी भन्दा भित्तो रोजेँ

  • कार्तिक २२, २०७८

चालकहरुलाई एकै दर्जामा राखेर हेरिने परम्परा यहाँ तोडिएको देखिन्छ । भारतबाट विएचएम गरेर नेपाल आएपछि पनि आफ्नो पुरानै पेशा रोजेका घिमिरले दुर्घटना अवधिमा आफूलाई भन्दा आफ्नो १८ जना यात्रुलाई धेरै पटक सम्झिरहे ।

केपी शर्मा

कात्तिक २२, २०७८

बा ४ ख १३२१ नम्वरको हाइस माइक्रो । चालक सुदिप घिमिरे,वर्ष ३० का भए । ८ वर्षदेखि उनी साना ठूला गाडिहरु चलाइरहेका छन् । विगत दुई वर्ष देखि भने उनी सो माइक्रो लिएर माडी देखि काठमाण्डौको यात्रा गरिरहन्छन् ।

सधैँझैँ सोमवार विहान पनि उनी ३ बजेनै उठीसकेका थिए । हातमुध धोएर माइक्रो स्टार्ट गरी उनी घरघरमा यात्रु उठाउन पुगे । पुख्र्यौली घर माडी भएका उनी अहिले भरतपुर २२ पटिहानीमा बसोवास गर्दै आएका छन् । प्राय उनलाई चिन्ने यात्रुले नै माइक्रो सेवाका लागि फोन सम्पर्क गर्दछन् र उनी यात्रुको घरमै पुगेर त्यसरी दैनिक सेवा दिइरहेका छन् ।

विहान सवा पाँच बजे चितवन राष्ट्रिय निकुञ्जको गेट खुलेसँगै काठमाण्डौ हुँइकिएका घिमिरे आज पनि सधैँझैँ पाँच देखि छ घण्टामा गन्तव्यमा पुगिसक्ने योजनामा थिए । आफ्नो गाडी पूर्णरुपमा भरिएकाले आफ्नै रफ्तारमा उनी नारायणगढ मुग्लिन सडक खण्ड पार गर्दै थिए । बाटो मर्मत र विस्तारसँगै सहज यात्रा गर्न सकिने उक्त सडक खण्ड सधैँझैँ सजिलै पार गर्ने मनस्थितीका साथ उनले माइक्रो चलाइरहेका थिए । जव भरतपुर २९ को सेतीदोभानमा पुगे, तव आठ वर्षको दौरानमा अनुभवनै नगरेको व्रजपात उनले महसुस गरे ।

महसुस मात्रै होइन सेतीदोभनको पहिरो कटेपछिको पहिलो घुम्तीको उकालो चढेर ओरालो झर्नै लाग्दा उनको गाडी सन्तुलनमा रहेन । सो ओरालो झर्नै लाग्दा दुई नम्वरको गियरमा रहेको गाडीलाई उनले तीन नम्वरमा लगाउन खोज्दा गाडीको गियरले कुनै प्रतिक्रिया दिन मानेन । उनले पुन तीन नम्वरमा ल्याउने प्रयास गरे तर त्यतिवेला सम्म गाडीको ब्रेक जाम भइसकोको उनले चाल पाइहाले । त्यसपछि केही आत्तिएका उनले आफूलाई आत्मविश्वासका साथ नियन्त्रणमा लिने प्रयास गरे । र तत्काल आफ्ना यात्रुलाई भने ,“हाम्रो गाडीको ब्रेक फेल भएको छ ।

तपाईहरु कत्तिपनि नआत्तिनुहोस् । म सवैलाई जुनसुकै हालतमा पनि बचाएर छाड्नेछु । ” यती भनिसक्दा उनका अगाडी दुई वटा विकल्प देखिए । गाडीलाई दायाँ मोड्ने की बायाँ । बायाँ मोड्दा त्रिशुली दायाँ मोड्दा अजङ्गको भित्तो । यस विषयमा निर्णय लिनलाई सोचिरहने समय उनीसँग थिएन । उनीसँग त मात्रै थियो १८ जना यात्रुलाई कसरी बचाउने ?

हात भाँचिएर भरतपुरको पुरानो मेडिकल कलेजको चौथो तल्लामा उपचार गराइरहेका चालक घिमिरेले लामो सास तान्दै हामीसँग भने,“बायाँ मोड्दा त्रिशुलीमा खसीन्थ्यो र हामी वाँच्थ्यौँ की मथ्र्यौँ पत्तो हुँदैनथ्यो । दायाँ मोड्दा आफू पक्कै मरिने सम्भावना प्रवल थियो । तर पनि मैले आफू एकजनालाई मरेर १८ जना बचाउँदा त्यो नै ठूलो उपकार हुने सम्झेर गाडीलाई दायाँ साइडमा लगेर भित्तामा ठोक्काएँ । ”

उनले यति कुराहरुको बर्णन गरिरहदा जम्माजम्मी ३५ देखि ४० सेकेण्ड मात्र समय वितेको थियो । उनले यति धेरै निर्णयहरु यति छोटो समयमा गरिसकेका थिए । केही ढिला भएको भए पोखराबाट आउँदै गरेको गाडीसँग ठोक्कीने अर्को सम्भावना रहेको उनले सुनाए ।

दुर्घटना हुने अवधिमा आफूले यात्रुलाई नआत्तिन भन्दैगर्दा यात्रुवाट पनि आफूलाई सुरक्षित रहदै हामीलाई र तपाईपनि बाँच्ने प्रयास गर्नुहोस भनेपछि अझ सहज भएको उनी सम्झिन्छन् । गाडी मोडेर भित्तामा ठोक्काउँदा उनी भने च्यापिन पुगेका थिए । च्यापिएका उनलाई तिनै यात्रुहरुले अगाडिको सिसा फोरेर उद्दार गरी अस्पताल पुर्याएको उनले बताए ।

‘सवै चालकहरु एकै खालका नहुने उनको भनाई छ । दुर्घटना भयो भन्दैमा चालककै गल्ती हुन्छ भन्ने छैन । चालकले हर प्रयास गर्छन तर यस्ता कुरालाई संचार माध्यमले खासै महत्व राख्दैनन् । आज पनि मैले यस्तो निर्णयले धेरै यात्रु र आफू बाँचे तर केही संचारमाध्यमले चालकको गल्ती भएको औँल्याएका रहेछन् । जुन दुखद पक्ष हो ।’

करिव ८ वर्षको अवधिमा पहिलो पटक दुर्घटनामा आफू परेको उनले बताए । तर यो भन्दा अघि बुद्द यएरको चक्का नखुलेको प्रकरणका समय आफू काठमाण्डौ विराटनगरको यात्रामा रहेको उनले सम्झिए ।

आजको दुर्घटनामा उनले आफू सहजै सुरक्षित रहन चाहाँदा सकिने अवस्था रहेको बताए । तर यात्रुहरु सबै आफन्तै हुन भन्ने सोचले गर्दा आफ्नो ज्यानको प्रवाह नगरी सवैलाई बचाएको उनको भनाई थियो । उनले भने,“मैले चाहेको भए ब्रेक फेल हुनासाथ आफू झरेर गाडी छोडिदिन सक्थेँ ।”
सवै चालकले अर्काको गाडी चलाउँदा आफ्नै भनेर चालाए, अधिकाँश दुर्घटनाबाट जोगाउन सकिने उनको भनाई थियो । उनले भने,“सवै चालकले अर्कैको गाडी चलाउँदा पनि आफ्नै सम्झने र अरु मरेपनि आफ्नै परिवारको भनेर सोच्नुपर्छ । ”

फुटवलका सौखिन घिमिरे कुनै समय फुटवल हेर्नै भनेर बेलायत सम्म पुगेको बताउँछन् । भारतबाट विएचएम गरेका उनी इन्टर्नसीपका लागि स्वीजरल्याण्ड सम्म पुगेको उनले बताए । त्यहाँबाट फर्कीएपछि आफ्नो धेरै साथीहरुको गाडी रहेको र आफू पनि यो व्यवसायमा लागेको उनको भनाई छ। मासिक ५५ हजार किस्ता तिर्ने गरी उनले यो हाइस खरिद गरेका थिए । पुख्र्यौली थलोमै आफन्त धेरै भएको र उहाँहरुकै मायाले माडीबाट काठमाण्डौ सम्मको दैनिक यात्रा उनले तय गरेका थिए ।

उक्त माइक्रोबस नारायणगढ मुग्लिङ सडक खण्ड अन्तरगत भरतपुर २९ सेतीदोभानमा सोमबार बिहान ७ः१५ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी गाडीका चालक,सहचालक र २ जना बालबालिका सहित १८ जना घाइते भएका थिए । घाइते सवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये हालसम्म ११ जना डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको मध्यम अवस्थामा उपचार भइरहेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८