• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रचण्डको कुरुक्षेत्रमा ओलीको राम राम!


प्रचण्डको कुरुक्षेत्रमा ओलीको राम राम!

प्रचण्ड र ओलीको लडाई कुरुक्षेत्र र राम मन्दिरमा अल्झिएको छ । दुवै शीर्ष तहका नेताहरु हुन् । तर यहाँका गरिव,असहाय, बाढी,पहिरो पीडित जनता भने उनीहरुको जुहारी सुनेर आशैआसमा वस्न वाध्य छन् । न प्रचण्ड ती गरिव जनताकोमा पुगेका छन् न ओली । दुवै आए भाषण सुनाए गए ।

केपी शर्मा

कात्तिक १६, २०७८ ।

प्रचण्डले चितवन कुरुक्षेत्र बन्ने सम्भावना रहेको भन्ने अभिव्यक्ति दिएको केही दिनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसको प्रतिवाद गरेका छन् ।

प्रचण्डको निर्वाचन क्षेत्र माडीमा मंगलवार पुगेका ओलीले प्रचण्डको कुरुक्षेत्रलाई आफूले पठाएका राम र सीताले छेकवार गर्ने बताएका हुन् । अयोध्याधाम निर्माण गर्न छाडेर प्रचण्ड कुरुक्षेत्रको घोषणा गर्दै हिँडेको ओलीको आरोप थियो । कुरुक्षेत्रमा लडाई हुँदा कौरवले नभई पाण्डवहरुले जितेको उदाहरण पेश गरेका ओलीले करुक्षेत्रको धम्की नदिन चेतावनी समेत दिए।

उनले भने,“एउटा बसमा बम पड्काएर ३९ जना मार्ने, पछि थप ६ जना मर्ने र ६९ जना घाइते भएर बाँच्नुपर्ने अवस्था सम्झिएर होला प्रचण्डले कुरुक्षेत्र बनाउन भनेका । तर वैँसमा भएको कुरा अव सम्झिएर कुरुक्षेत्रको धमास दिनु सान्दर्भिकता हुँदैन । हामी माडीलाई धार्मिक क्षेत्र बनाएरै छाड्छौँ ।”

पाँच दलको गठवन्धनबाट बनेको सरकार पाँचमुखे भएको आरोप लगाउँदै यो सरकारले विकास निर्माणका कुनै पनि काम गर्न नसक्ने ओलीको भनाई थियो । उनले भने,“यो सरकारलाई कता जाने, के गर्ने, कसो गर्ने, देश कसरी बनाउने ? भन्नेवारे कुनै चिन्ता छैन ।”

अयोध्याधाम निर्माण भए माडीको विकास हुनेभएपनि अहिलेको सरकारबाट यो अपेक्षा गर्न नसकिने उनको भनाई थियो । आफूले यस अघिको निर्वाचनमा प्रचण्डलाइ जिताउन आग्रह गर्दै माडीलाई मणि बनाउने भनेपनि गतिलो व्यक्ति साथमा नपरेको उनको भनाई थियो ।

आफूले बोलेपछि गरेरै छाड्ने बताएका ओलीले प्रचण्डकै क्षेत्र भएपनि राम र सीताको मुर्ति पठाएर माडीलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागि परेको बताएका हुन् । उनले भने,“सरकार के गर्छ, कसो गर्छ, कुरा भएन तर हामीले माडीलाइ मणि बनाउन गरेको प्रतिवद्धता पूरा गराएरै छाड्नेछौँ । बढिमा एक ढेडवर्ष पर्खनुपर्ला । ”

ओली सरकारमा रहेका बेला माडी ९ अयोध्याधाममा राम,सीता,हनुमान र लक्ष्मण सहितको मुर्ति पठाएर गत वैशाख ८ गते अस्थायी मन्दिर निर्माणमा उनले सहयोग गरेका थिए ।

मन्दिर निर्माणपश्चात चितवन आएका ओलीले उक्त क्षेत्रको स्थलगत अवलोकन गर्दै पुजा गरेका थिए । दुईदिने विभिन्न कार्यक्रममा सहभागी हुन ओली सोमबार चितवन आएका हुन् ।

  • प्रकाशित मिति : कात्तिक १६, २०७८, मंगलवार १२:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८