कात्तिक १६,२०७८
सर्वोच्च अदालतका न्यायाधीशहरु अन्ततः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्व स्वीकार गरी काममा फर्किएका छन् । गत सातादेखि इजलास नगई प्रधानन्यायाधीश राणासँग राजीनामा मागेका न्यायाधीशहरु सोमबारबाट काममा फर्किएका हुन् ।
राणाले आफूबाहेकका न्यायाधीशहरुको इजलास गठन गरी बन्दी प्रत्यक्षीकरणका निवेदन पेसीमा चढाएका थिए । सबै न्यायाधीशले आफ्नो इजलासमा भएका निवेदनको सुनुवाइ गरेका थिए । यसले न्यायाधीशहरु सम्बन्ध सुधारको पक्षमा रहेको देखाएको छ । सुरुमा आफ्नो राजीनामा माग्ने न्यायाधीशकै राजीनामा मागेका राणा पनि अहिले केही लचक देखिएका छन् । उनले समझदारीमार्फत अदालत सञ्चालनका लागि आफू पनि तयार रहेको सन्देश दिएका छन्, न्यायाधीशहरुको मागअनुसारै पेसी तोकिदिएर ।
न्यायाधीशहरु राणाकै नेतृत्व स्वीकार गरेर काममा फर्किएपछि अब राजीनामाको मुद्दा स्वतः अप्रासंगिक सिद्ध भएको छ । गएको दसैँमा बिग्रिएको अदालतको वातावरण तिहारले सुधार्ने अपेक्षा गरिएको छ । तिहारको पूर्वसन्ध्यामा केही सकारात्मक वातावरण बनाउन राणा सफल भएका छन् । यही बीचमा तिहारको विदा सुरु हुने र त्यस अवधिमा राणाले न्यायाधीशहरुसँग हार्दिकतापूर्वक वार्ता गर्ने अपेक्षा गरिएको छ ।
अहिले धेरै न्यायाधीशहरु राणासँग मिलेरै अघि बढ्नुपर्ने पक्षमा देखिएका छन् । इजलास बहिष्कारको पक्षमा कठोरताका साथ उभिएका न्यायाधीश अल्पमतमा देखिन थालेका छन् । त्यसले गर्दा पनि अदालतमा सझदारीको विन्दु पहिल्याउन सहज हुने ठानिएको छ । अहिले प्रधानन्यायाधीश राणाविरुद्ध ट्रेड युनियन शैलीबाट प्रदर्शन गर्ने र अराजक शैलीबाट पदबाटै हट्न दबाब दिँदा त्यो नजिर बन्ने भय भविष्यमा प्रधानन्यायाधीशको रोलक्रममा रहेका न्यायाधीशहरुलाई छ । त्यसैले सकेसम्म अहिलेको विवादको सहज अवतरण होस् भन्ने अपेक्षा भविष्यका प्रधानन्यायाधीशहरुको छ । यदि अहिले राणालाई हड्तालमार्फत् हटाउने प्रयास सफल भएमा भोलि त्यही कालले आफूलाई पनि डस्न सक्छ भन्ने उनीहरुले राम्रोसँग बुझेको पाइन्छ ।
अर्कोतिर, हरेक न्यायाधीश विवादित छन् । प्रधानन्यायाधीश राणामाथि जुन मुद्दामा प्रश्न उठाइएको छ, तिनमा कुनै न कुनै न्यायाधीश जोडिएका छन् । संसद विघटनको मुद्दा हेर्ने न्यायाधीश एकपटकमा ५ जना थिए । त्यस्तै बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा बस्नकै लागि अयोग्य भनेर घोषणा गर्ने गरेका थिए, न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले । इजलासमा आफू बस्ने कि नबस्ने भनेर न्यायाधीशले आफ्ना बारेमा मात्र घोषणा गर्न सक्छ । तर, कार्की र भट्टराईले कुन विधिशास्त्रमा टेकेर त्यो आदेश गरेका थिए रु त्यो विवाद पनि न्यायाधीशहरुको समूहमा प्रवेश गरेको छ ।
त्यस्तै हरि फुयालले संवैधानिक परिषदसम्बन्धी विवादमा प्रधानन्यायाधीशको संलग्नताबारे गरेको आदेशमा दिनहुँजसो स्पष्टीकरण दिनुपरेको छ । उता एनसेल प्रकरणको फैसलामा १२ जना संलग्न छन् भने हिट एन्ड रनको मुद्दामा सपना मल्ल प्रधान र मनोज शर्मा जोडिएका छन् । विवाद खोतल्दै जाँदा सबै न्यायाधीश कुनै न कुनै प्रकरणमा जोडिएका छन् । एउटामाथि अविश्वास गरिन्छ भने हरेकमाथि त्यो तरबार बर्सिने अवस्था छ । एउटामाथि प्रश्न उठ्दा अर्कोले चैनको निद्रा सुत्न पाउने अवस्था छैन ।
हरेक न्यायाधीश कमजोरीविहीन नरहेको र विवादमुक्त पनि नभएको कारण कोही पनि अहिले आफू जोगिनेमा ढुक्क छैनन् । प्रधानन्यायाधीश राणालाई गलहत्याउँदा त्यही विन्दुबाट आफूमाथि पनि खतराको तरबार झुन्डिने भय हरेक न्यायाधीशलाई छ । अहिले आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले राणाको बहिर्गमनलाई न्यायालय शुद्धीकरणको प्रस्थानविन्दु भनेको छ । यसको अर्थ राणामाथिको निशाना सफल भएमा त्यसपछि त्यो निशाना अर्कोमाथि दागिनेछ । क्रमशः एकपछि अर्को न्यायाधीशलाई शिकार गर्ने योजना बारको देखिन्छ ।
सुरुमा बारभित्रै यस विषयमा विवाद थियो । तर, रातारात बारभित्र एकमत कायम गरिएको देखिन्छ । यसले परिस्थितिलाई थप शंकास्पद बनाइदिएको छ । केही पूर्वन्यायाधीश र पूर्वप्रधानन्यायाधीशहरुबाट सुरु भएको न्यायिक अस्थिरताको खेल बारमा कसरी प्रवेश गर्यो भन्ने व्यापक आशंकाको विषय छ । यसको पृष्ठभूमिमा केही एनजीओहरुको खेल पनि हुन सक्ने देखिएको छ । त्यसकारण पनि इजलास बहिष्कारमा लागेका धेरै न्यायाधीश सतर्क हुन खोजेको बुझिन्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८