• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

किन गर्दैछ बारले बार्गेनिङ ?

  • खबरदाता

किन गर्दैछ बारले बार्गेनिङ ?

सर्बोच्च भित्रै बिरोध सभा गर्ने तयारी

कात्तिक १३,२०७८

 

सर्वोच्च अदालतभित्र करिब मत्थर भइसकेको मुद्दालाई लिएर नेपाल बार एसोसिएसनले फेरि आन्दोलन घोषणा गरेको छ । आन्दोलनका चरणबद्ध कार्यक्रममा उसले सर्वोच्च अदालतभित्रै विरोध सभा गर्नेसम्म तय गरेको छ । बार पदाधिकारीहरुले राणालाई सर्वोच्चभित्रै छिर्न नदिने चेतावनी दिइरहेका छन् ।

न्यायालय शुद्धीकरणको माग हेर्दा जति सुन्दर देखिन्छ, यसका नाममा भइरहेको आन्दोलनको भित्री दृश्य निकै कुरुप र विकृत छ । बारको आन्दोलनमा बाहिर प्रधानन्यायाधीशको विरोध र न्यायालय शुद्धीकरणको माग भए पनि भित्रचाहिँ बार पदाधिकारीका निजी आकांक्षा र स्वार्थले भरिपूर्ण देखिन्छन् । उनीहरुको आन्दोलन देखाउने दाँत मात्रै रहेको र भित्रभित्रै प्रधानन्यायाधीशसँग उनीहरुले निजी माग पूरा गराउनका लागि दबाब दिइरहेको बुझिएको छ ।

 

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले यसअघि नै केही आफन्तलाई न्यायाधीश बनाएर जागिर दिलाइसकेका छन् भने अब उनले आफ्ना छोरालाई त्यो पदमा सुनिश्चत गराउन चाहेका छन् । महासचिव लीलामणि पौडेल आफै उच्च अदालतको न्यायाधीश बन्न प्रयासरत छन् ।नेपालमा द्वन्द्वजीवीका रुपमा परिचित गोविन्द बन्दीले आफ्नै श्रीमतीलाई उच्च अदालतको न्यायाधीश बनाउन खोजेका छन् भने अर्का एक विरोधजीवी ओमप्रकाश अर्याल आफै न्यायाधीश बन्ने कोसिसमा छन् । प्रधानन्यायाधीशमाथि चौतर्फी आक्रमण भइरहेका बेला आफ्नो निहित स्वार्थ सिद्धिको मौका यही हो भनेर कतिपयले आर्थिक लाभका लागि समेत मोलमोलाइ गर्न खोजेका छन् ।बारका पदाधिकारीहरुले प्रधानन्यायाधीशविरुद्ध जति चर्का नारा, भाषण र अभिव्यक्ति दियो, उति फाइदा हुने ठानेका छन् ।

 

माओवादी पृष्ठभूमिका वकिलहरु न्यायालयमा आफ्नो उपस्थिति कमजोर भएको ठानी यही मौकामा उपस्थिति बढाउने दाउमा छन् । तर, माओवादी खेमाभित्रै एकले अर्कालाई उछिन्ने र पछार्ने खेलले यो स्थिति आएको हो भन्ने समझ भने कसैमा देखिँदैन । यसअघि पदम वैदिकलाई सर्वोच्च अदालतको न्यायाधीश बनाइदिने भनेर न्याया परिषद सदस्यबाट राजीनामा गर्न लगाएकाहरु पछि उनै वैदिकलाई रोक्न लागिपरेका थिएद । यसमा सबैभन्दा अगाडि चण्डेश्वर श्रेष्ठ नै थिए । वैदिकलाई रोकेवापत श्रेष्ठले धेरै लाभ लिइसकेका छन् भने अब आफ्ना छोरालाई उच्च अदालतको न्यायाधीश बनाएर ढुक्क हुन खोजेका छन् ।

अहिले मात्र होइन, यसअघि पनि जबजब बार पदाधिकारीहरुलाई कुनै पद, पैसा वा मुद्दामा बार्गेनिङ गर्नुपर्ने हुन्छ, त्यतिखेर न्यायिक नेतृत्वविरुद्ध आन्दोलन सुरु हुन्छ । अदालतबाट आफ्ना निहित स्वार्थ पूरा गराउन कतिपय पूर्वन्यायाधीश र पूर्वप्रधानन्यायाधीशले समेत यसैगरी विरोध र आन्दोलनको हतियार प्रयोग गर्न खोज्नु अर्को उदेकलाग्दो पक्ष छ । पूर्वन्यायाधीश समाज नामको एनजीओ र अन्तर्राष्ट्रिय एनजीओका प्रतिनिधि कल्याण श्रेष्ठले अदालतलाई सधैँ आफ्नो कब्जामा राख्न अस्थिरताको खेल खेल्ने गरेको कतै छिपेको छैन । अहिले पनि राणालाई बदनामीपूर्वक हटाएर आफ्नो शक्ति देखाउने र भविष्यका प्रधानन्यायाधीशहरुलाई पनि सधैँ आफ्नो काबुमा राख्ने रणनीति अहिलेका विरोधीहरुले अपनाएको स्पष्ट छ ।

हो, राणा पनि कमजोरीविहीन छैनन् । उनले न्यायिक निष्ठा, स्वच्छता र इमानदारितामा प्रश्न उठाउने पर्याप्त ठाउँ दिएका छन् । यिनको वस्तुनिष्ठ र विश्वसनीय प्रक्रियाबाट निरुपण हुनुपर्छ भन्नेमा कुनै दुविधा छैन । यसका लागि संविधानले नै बाटो दिएको छ । त्यही बाटोबाट निकास खोज्न सक्नुपर्छ । गैरसंवैधानिक बाटोबाट न्यायिक नेतृत्वलाई हटाउने या काबुमा राख्ने प्रयत्न अदालतलाई अराजकताको दलदलमा फसाउने र कालान्तरमा पनि न्यायालयलाई कमजोर बनाइराख्ने प्रपञ्च मात्र हो ।

  • प्रकाशित मिति : कात्तिक १३, २०७८, शनिवार १४:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८