कात्तिक १३,२०७८
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको आन्दोलन मत्थर हुनै लाग्दा अकस्मात् फेरि बल्झिने संकेत देखापरेका छन् । सर्वोच्च अदालतका धेरै न्यायाधीश काममा फर्किन लचिलो भइसकेको अवस्थामा रातारात परिस्थिति भड्किएको छ ।
दुई दिनमा दुई पूर्वन्यायाधीशको निधनले निम्त्याएको शोकले असन्तुष्ट न्यायाधीशहरुको आक्रोश र प्रधानन्यायाधीश राणाको अहम् धेरै हदसम्म थिग्रिइसकेको थियो । उनीहरु आपसमा बसेर संवाद गर्ने र सहमतिका लागि मध्यमार्गी उपाय खोज्ने वातावरण बनिरहेको थियो । न्यायाधीशहरुकै बीचमा ‘हार्डलाइनरहरु’ अल्पमतमा पर्न थालेका थिए भने मध्यमार्गीहरुको जमात बढ्न पुगेको थियो ।
प्रधानन्यायाधीश राणाले विभिन्न सञ्चार माध्यममा अन्तर्वार्ता दिएर आफै प्रतिवाद गर्दै हिँड्न थालेपछि परिस्थिति क्रमशः उल्टिन पुगेको छ । आफू विवादित भएका बेला मौन बसेर भित्रभित्रै व्यवस्थापन गर्नुपर्ने कुरामा पनि मौखिक प्रतिवाद गर्न पुग्दा उनका समर्थक, शुभ चिन्तक र सहयोगीहरु अप्ठेरामा परेका छन् । अन्तर्वार्ताका क्रममा राणा उत्तेजित हुँदै कतिपयको नामै किटेर टीकाटिप्पणी गरेका छन् । उनी यसरी प्रस्तुत भइरहँदा आफू व्यक्ति होइन, संस्था हो भन्ने कुरा हेक्का नराखेको देखिन्छ ।
अहिले कतिपयले राणालाई जानीजानी उत्तेजित पार्न पनि खोजेका छन् । राणालाई हटाउन खोज्ने स्वदेशी र विदेशी तत्त्वहरुले अनेक उपाय लगाएर नंग्याउने रणनीति अनपाइरहेका छन् । उनकै मुखबाट हलुका कुरा बोल्न लगाएर कमजोर देखाउन लागिपरेका छन् । यसतर्फ विचारै नगरी राणाले अनेकथरी पत्रकार र सञ्चार माध्यमलाई आफ्नो प्रतिक्रिया दिँदै हिँडेका छन् ।
अर्कोतिर राणाले राजनीतिक नेतृत्वलाई मात्रै विश्वासमा लिए पुग्छ भन्ने सोच राखेको देखिन्छ । न्यायालय प्रमुखले यो सोच राख्नु अर्को प्रत्युत्पादक पक्ष हो । उनले समाजका बहुविध पक्षलाई मनाउन र विश्वासमा लिन सक्नुपर्छ । आफ्नो कमजोरी छैन भने यथार्थ के हो भन्ने कुरा त्यस्ता अनौपचारिक संयन्त्रमार्फत् सञ्चारित गर्न जान्नुपर्दछ । यसतर्फ राणाले कुनै विचारै नगरेको देखियो । अझ भनौँ उनीसँग यस पक्षतिर सहयोग गर्ने कुनै संयन्त्र नै नभएको पुष्टि गरेको छ ।
न्यायाधीशहरु बन्दी प्रत्यक्षीकरणका निवेदनसमेत नहेरी फेरि बेग्लै भेलामा व्यस्त हुन थाल्नु र नेपाल बार एसोसिएसनले आक्रामक तवरमा विरोधका कार्यक्रम सार्वजनिक गर्नुले परिस्थिति थप उत्तेजक बनेको संकेत गर्छ । यसका पछाडि रातारात केही न केही घटनाक्रम विकास भएको हुनुपर्छ ।
केही अघिसम्म बार पदाधिकारीहरुले संवाद र सहमतिकै मार्ग अवलम्बन गरेका थिए । त्यो मौकालाई राणाले उपयोग गर्न नसकेको देखियो । अदालतमा टिक्न र काम गर्न अनुकूल वातावरण बनाउनका लागि बारलाई विश्वासमा लिनु अनिवार्य सर्त हो । बारलाई विश्वासमा लिन नसकेमा राजनीतिक दल, नेता वा अरु कुनै पनि तत्त्वलाई खुसी पारेर अदालत चलाउन मुस्किल पर्छ । यो सामान्य समझको विषय पनि चोलेन्द्रशमशेर राणाजस्ता चतुर न्यायमूर्तिले कसरी नजरअन्दाज गरे रु गम्भीर समीक्षाको विषय बनेको छ ।
राणा दिन प्रतिदिन रक्षात्मक बन्दै जानु र स्वयं उनका प्रस्तुतिले पनि प्रतिकूलता थपिँदा जानुले उनका वरिपरि वास्तविक शुभ चिन्तक नभई आफ्नो दुनो सोझ्याउनेहरुको भिड मात्र त छैन भन्ने पनि प्रश्न उब्जिएको छ । यस्तै घेराबाट घेरिएर बस्दा नै प्रायः उच्च नेतृत्व भ्रमपूर्ण सूचना र फितला प्रस्तुतिको शिकार हुने गर्दछन् । यदि यस्ता प्राविधिक कमजोरीकै कारणले राणा सर्वोच्चबाट बहिर्गमित हुनुपरेमा त्यतिखेर उनीसँग पश्चात्तापबाहेक अरु केही हुने छैन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८