पछिल्लो समय प्रचण्डले गरेका हरेक भाषण चुनाव लक्षित रहेको पाइन्छ। शुक्रवार उनले चितवनमा बोलेका कुराहरु पनि चुनाव लक्षित नै थियो । उनका हरेक बोलीमा कतै चितवनबाट आफू विदा हुनुपर्ने त होइन भन्ने मानसिकताले भरिपूर्ण भएको अनुमान सहजै गर्न सकिन्छ । यो पटक भने प्रचण्ड ओली विरुद्ध मात्र केन्द्रीत देखिए ।
केपी शर्मा,
कात्तिक १२, २०७८
मलामी जाँदा हाँस्ने, बाजा बजाउने, गित गाउने र उत्सवको कार्यक्रम गर्ने तर जन्ती जाँदा रुने एक मात्रै मान्छे केपी शर्मा ओली भन्दा अरु कोही नरहेको प्रचण्डले बताएका छन् ।
चितवनको भरतपुरमा उनकै पार्टीले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
माओवादी र एमालेको गठवन्धनबाट झण्डै दुई तिहाई सीट ल्याएर बनेको सरकारलाई समेत टिकाउन नसकेर ओलीको आफ्नै अहंकार र दम्भका कारण वालकोटमा थन्किनु परेको प्रचण्डको भनाई थियो ।
उनले भने,“ओलीले आजीवन आफू प्रधानमन्त्री रहीरहने र वालुवाटार छोड्नु नपर्ने भित्री संकल्प गरेपनि त्यसलाई जनताले पुरा हुन दिएनन् ।” ओलीले आफूलाई राजा जस्तै ठानेका रहेछन्,तर वाल्कोट पुग्नुपर्यो, उनले भने ।
भित्रीरुपमा पराजयको फल अनुभव गरिरहेका ओलीले आफूले जितेको देखाउन वाल्कोट जाँदा पनि तामझाम देखाएको उनको भनाई थियो । उनले भने, “बालुवाटारबाट वाल्कोट जाने भनेको वास्तवमा ओलीका लागि ठूलो पराजय हो । उनको गुटमा मातम छाउनु हो । ओली गुटमा मातम छाएपनि मातम छाएको छैन भनेझैँ गरेर तामझामका साथ वाल्कोट पुगे। मलामी जाँदा नाच्ने कोही छ भने त्यो ओली हो ।”
ओलीले जीवनभर वालुवाटार छाड्नुनपर्ने सोँचका साथ वालुवाटारभित्र दुई वटा दरवार बनाउन सुरु गरेको उनको आरोप थियो । उनले भने,“ऐयाशी जीवन विताउन ओलीले वालुवाटारमा बनाउन लागेको निवासका लागि थाइल्याण्ड, इटाली र रोमबाट अत्याधिक विलासी सामानहरु खरिद गरेका रहेछन् । ती सामाग्री र त्यहाँ बनाउन खोजीएको भवन देख्दा अहिले देउवा जी समेत दङ्ग पर्नुभएको छ ।”
आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सरकारले व्यवस्थापन गरिदिएको सामान्य पलङ विषयलाई लिएर स्यालहुइया मच्चाइएको भन्दै उनले अहिले ओलीले राज्यको ढुकुटीबाट यति धेरै विलासीताको सामान खरिदको विषयलाई जनतामा लानै पर्ने भएकाले यहाँ आफूले यो कुरा निकालेको बताए । उनले भने,“राज्यको ढुकुटीबाट विलासीका सामान किन्नेलाई जनताले कस्तो सजायँ दिने हो सोच्ने समय आयो ।”
जिउँदो मान्छेलाई मरेको भनेर ओलीले पटक पटक प्रयास गरेको प्रचण्डको अर्को आरोप थियो । संविधानले नदिएको अधिकार प्रयोग गरेर ओलीले प्रतिनिधि सभा पटक पटक विघटन गरको उनले बताए । पहिलेको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने भएतापनि अहिलेको संविधानमा अर्को विकल्प रहेसम्म प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने कानुनी व्यवस्था रहेको बताउँदै अदालतको फैसलामा कुनै सेटिङ नभएको उनको भनाई थियो ।
तर पनि ओलीले नयाँ कानुन भएपनि पुरानै शैलीमा जिवित संसदलाई दुई दुई पटक मृत घोषणा गर्ने प्रयास गरेको उनले बताए । सर्वोच्चले समेत संविधानको रक्षा गरेर गठवन्धको पक्षमा फैसला गरेपछि ओली आत्तिएको भन्दै उनको एउटै मात्र उद्देश्य माओवादी र प्रचण्डलाइ एकै साथ सिध्याउने भन्दा अर्को नरहेको प्रचण्डको भनाई थियो ।
आफूहरुलाई चितवनबाट परास्त गर्न ओलीले हरेक प्रकारका तिकडदम प्रयोग गरेको उनको भनाई थियो । मलाई यहाँबाट सदाका लागि हटाउनलाई ओली लागि परेका हुन् । उनले अन्तिम अस्त्रको रुपमा राम र सीतालाई माडीमा ल्याउनुपनि आफूलाई यहाँबाट विदा गर्न खोज्ने प्रपञ्च नै भएको बताए। उनले भने,“जाली,फटाहसँग त जुनसुकै तवरमा पनि लड्न सकिन्छ तर राम र सीतासँग त लड्नुभएन । त्यसैले ओली प्रवृती अन्त्यका लागि नेता कार्यकर्ता मनैदेखि लाग्नुहोस् ।”
राम सीताको प्रपञ्चबाट सम्भव नभएपछि बुटवलमा गर्ने भनिएको महाधिवेशन अन्तिममा चितवनमा सारेको भन्दै यो पनि आफ्नो लागि फाइदानै भएको प्रचण्डले बताए । उनले भने,“चितवनमा ठूलो राजनीतिक लडाई हुँदैछ । तर त्यो हिँसात्मक चाहिँ होइन । महाभारत कुरुक्षेत्र वन्दैछ । त्यसमा हामी के बन्ने पाण्डव की कौरव सोच्ने वेला आएको छ ।” आफू चितवन छोडेर कहि नजाने र यहीवाट चुनाव लड्ने उनको भनाई थियो।
ओली प्रवृत्तीको अन्त्य गरी काँग्रेस सभापति शेरवहादुर देउवलाई प्रधानमन्त्रीका लागि आफैले गठवन्धन गराएर संख्या समेत पुर्याइदिएको भन्दै यसमा चितवनका काँग्रेसहरु खुशी हुनुपर्नेमा उल्टो प्रचण्ड र रेनुलाई लखेट्नुपर्छ भन्दै अभिव्यक्ति दिनुले आफूलाई दुखी बनाएको समेत प्रचण्डको भनाई थियो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८