प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई परेको संकटमा कोही पनि काँध थाप्न तयार छैनन ।
कात्तिक ९,२०७८
देशका प्रधानन्यायाधीश यतिखेर ऐतिहासिक संकटमा छन् । संसारकै न्यायिक इतिहासमा बिरलै हुने संकट नेपालको न्यायपालिकाले बेहोरिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई परेको संकटमा कोही पनि काँध थाप्न तयार छैन ।
राणाले आफ्नो गर्धन थापेर धेरैलाई जोगाएका छन् । २०७४ सालमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लाग्दा राणाले गर्धन थापे । त्यही कारण उनी अहिले पनि आलोचित भइरहेका छन् भने उनले जोगाएकी कार्कीको वाहवाही भइरहेको छ । र, कार्कीले तिनै राणामाथि न्यायिक इमान र नैतिकता गुमाएको आरोप लगाउँदै राजीनामा माग्न पूर्वप्रधानन्यायाधीशको भेला गरी सामूहिक वक्तव्यमा हस्ताक्षर गरेकी छन् ।
देशको अग्रणी सञ्चारगृह कान्तिपुरलाई पनि राणाले नै जोगाएका हुन् । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले कान्तिपुरलाई बन्द गर्ने किसिमको आदेशको खेस्रा तयार गरिसकेका थिए । सात न्यायाधीशको इजलासमा वाचन गर्न मात्र बाँकी थियो । जुन दिन फैसला हुने आकलन गरिएको थियो, त्यही दिन राणाले इजलासमा एक आदेश पढेर पराजुलीमाथि नै प्रहार केन्द्रित गरे । राणाको त्यो आदेशपछि सात सदस्यीय इजलास नै भंग भयो । त्यसपछि पराजुलीले अर्को इजलास गठन गर्न नपाउँदै विदा हुनुपर्यो । अहिले कान्तिपुर नै राणाविरुद्ध खनिएको मात्र छैन, सम्पादकीय लेखेरै राजीनामा माग गरिरहेको छ । राणाले अहिले आफ्नो सफाइमा दुई शब्द राख्ने ठाउँ समेत पाएका छैनन् ।
राणाले निकै ठूलो विवाद र आलोचना झेलेर नहकुल सुवेदी र मनोजकुमार शर्मालाई सर्वोच्च अदालतमा ताने । तर अहिले ती दुवै जना उनको विपक्षमा हुने भेलामा सहभागी भइरहेका छन् । राणालाई बहिष्कार गर्नुपर्छ भनेर दर्जन न्यायाधीशले भन्दा उनीहरु पनि सँगै सामेल भएका छन् । आफू असुरक्षित ठानेर हो या राणाप्रति आग्रहभाव विकास भएर हो, उनीहरुको यो अलगावपूर्ण व्यवहार रोचक भने अवश्य छ ।
सर्वोच्च अदालतमै पनि दोस्रो वरीयताका न्यायाधीश दीपककुमार कार्कीलाई उनले बढी विश्वास गरे । उनले जे माग्यो, त्यही दिँदै गए । राणाबाट पाउन सक्ने सबै लिइसकेपछि र आफ्नो स्वार्थ पूरा भइसकेपछि अन्ततः पछाडिबाट छुरा हान्न तिनै कार्की अघि सरे । आफू प्रधानन्यायाधीश हुने भएपछि कार्कीले राणाको साथ त छाडे नै, विरोधीहरुको मोर्चाको नेतृत्व नै गर्न अघि सरे ।
यसबीचमा राणाले विश्वास गरेका अरु कतिपय न्यायाधीश अहिले कतै नलाग्ने भन्दै तिहारसम्मै ढुक्कले विदा बसेका छन् । हिजो राणालाई विभिन्न काममा उक्साउने र हिस्सेदारी लिनेहरु दुला पसेका छन् । तिनीहरुकै जी–हजुरीमा मख्ख परेका राणाले आफ्ना वास्तविक शुभ चिन्तकलाई बिर्सिए ।
हिजो आफूलाई अप्ठेरो पर्दा साथ दिनेहरुलाई उनले खोलो तरेपछि मिल्काइएको लौरो बनाए । अदालतमा अस्तित्वहीन भइसकेपछि राजीनामा गोजीमा बोकेर हिँडिरहेका बेला दामोदरप्रसाद शर्माकहाँ लिएर जानेहरुलाई राणाले फर्केर पनि हेरेनन् । नजिक पर्न पनि दिएनन् । नजिक परे पनि उनले भेट्नु नपरे हुन्थ्योजस्तो गरे । अन्ततः त्यो नै उनका निम्ति निकै महँगो र प्रत्युत्पादक सावित भयो । प्रधानन्यायाधीश राणाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उच्च अदालतका न्यायाधीश किशोर सिलवाललाई नियुक्त गरे । अरु पनि संवैधानिक आयोगमा न्यायिक पृष्ठभूमिका पात्रलाई पुर््याए । त्यसवापत उनले खानुसम्म गाली खाए । तर, अहिले राणालाई काँध थाप्न कोही तयार भएका छैनन् । कतैबाट पनि राणालाई सहयोग गर्ने मनसाय प्रकट गरेका छैनन् ।
त्यसो त राणाले नै परमादेश जारी गरेर प्रधानमन्त्रीको कुर्सीमा पुर्याइएका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकै मन्त्रिपरिषदमा भाग खाइरहेका गठबन्धनका कुनै पनि घटकले देशको प्रधानन्यायाधीशजस्तो संवेदनशील र गरिमामय पदाधिकारीमाथिका टीकाटिप्पणीमा प्रतिक्रिया जनाएका छैनन् । देशमा केही भएकै छैनजस्तो गरी उनीहरु न्यायालयतिर पिठ्युँ फर्काएर बसेका छन् ।
यति मात्र होइन, राणाले जसलाई विश्वास गरे तिनैले घात गरेका अरु पनि धेरै पात्र र प्रकरण छन् । राणाले पछिल्लो समय जसलाई पहुँचमा राखे, तिनैले गद्दारी गरे । यसका पनि अनेकन शृंखला छन् ।आफ्ना शुभचिन्तक को हुन् र आफूलाई उपयोग गर्ने स्वार्थीहरु को हुन् भनेर चिन्न नसक्दा प्रधानन्यायाधीश राणा चौतर्फी आक्रमणको तारो बनेका छन् ।
उनी अब न फर्किने ठाउँ छ, न अगाडि बढ्ने अवस्था छ । उनलाई पारि तारिदिन पनि कोही तयार छैन । सम्मानजनक तवरले बाहिर निस्किन्छु भन्दा पनि निस्कने ढोका छैन । के राणाले यसतर्फ आत्मसमीक्षा गर्न भ्याएका छन् रु
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८