कात्तिक ७,२०७८
नेकपा एमालेले शुक्रबार नै एक वक्तव्य जारी गरी निहित स्वार्थ राखेर अदालतलाई विवादमा तान्ने प्रयास गरेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिका शृंखलाबद्ध प्रहारको प्रतिवाद गरेको छ । सत्तामा भएको भनिएको भागबण्डाको बहानामा प्रधानन्यायाधीश राणालाई एकल रुपमा दोषी करार गर्ने योजनाबद्ध प्रयास देखिएको भन्दै एमालेले गम्भीर आशंका प्रकट गरेको छ ।
संसदको सबैभन्दा ठूलो दल एमालेले प्रधानन्यायाधीश राणालाई आलोचनाको तारो बनाएर प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेस र सिंगो सत्ता गठबन्धनका नेताहरु आफ्नो निहित स्वार्थपूर्ति गर्न लागिपरेको आकलन गरेको छ । एमाले नेताहरुका अनुसार, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने अरु चार जना न्यायाधीश अहिले पनि सत्ता गठबन्धनसँग मोलमोलाइमा छन् । ती सबै न्यायाधीशले संवैधानिक अंग र अरु निकायमा भागबण्डा खोजिरहेका छन् ।
राणालाई अप्ठ्यारोमा पारेपछि यसअघि संवैधानिक निकायमा गरिएको नियुक्ति अदालतबाट खारेज गर्ने र ती ठाउँमा हिस्सेदारी लिने दाउ बाँकी न्यायाधीशहरुको रहेको छ ।यस्तै न्यायाधीश नियुक्तिमा पनि यसैगरी भागशान्ति गर्ने योजना भित्रीरुपमा तयार गरिएको छ । त्यसै योजनाको कार्यान्वयन गर्न विभिन्न संयन्त्र परिचालन गरिएको छ ।
पूर्वप्रधानमन्त्री केपि शर्मा ओलीका पालामा दुईपटक गरी ५२ जना संवैधानिक पदाधिकारी नियुक्त गरिएका छन् ।तीमध्ये झण्डै आधा तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति र हालका प्रधानमन्त्री शेरबहादुर देउवाले नै भाग पाएका छन् । ती सबै नियुक्ति उल्टाएर प्रचण्ड, माधव नेपाल र अदालतका न्यायाधीशबीच भागबण्डा गरी सत्तामा हिस्सेदारी बढाउने दाउ परमादेशवाला न्यायाधीशहरुको रहेको एमालेको आशंका छ । त्यहीकारण अहिले प्रधानन्यायाधीशलाई सबैले तारो बनाएर प्रधानमन्त्री देउवा, सत्ता गठबन्धन र अरु चार न्यायाधीशबीच शक्तिमा नयाँ प्रकारको साझेदारी गर्ने प्रपञ्च रचिँदै छ । यसप्रति एमाले चनाखो देखिएको छ ।
एमालेले नचाहेसम्म संसदबाट महाभियोगको प्रस्ताव पारित हुन सक्दैन । सत्ता गठबन्धनले चाहेर मात्र प्रधानन्यायाधीश राणालाई पदच्युत गर्न सम्भव छैन । हालको सत्ता गठबन्धनसँग प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याउने नैतिक बल पनि छैन । तसर्थ, चियाको कफमा आँधी ल्याउने केही नेता र केही न्यायाधीशको अँध्यारो कोठाको योजना उज्यालोमा काम नलाग्ने निश्चित भएको छ ।
अदालतमा उठाइएको विरोधको तुफान अन्ततः गोलाप्रथामा अवतरण हुने, बारले न्यायपालिकाको प्रतिरक्षा गर्ने
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका बारेमा उठाइएको विवाद अन्ततः गोलाप्रथामा गएर अवतरण हुने भएको छ ।पूर्वन्यायाधीश र केही मिडियाहरुले प्रधानन्यायाधीश राणाको राजीनामा वा महाभियोगलाई बटमलाइन बनाइरहँदा न्याय क्षेत्रकै एक मुख्य सरोकार राख्ने संस्था नेपाल बार एसोसिएसनले पेसीलाई स्वचालित प्रणालीमा लैजाने कुरालाई मुख्य चासोका रुपमा उठाएको छ ।
प्रधानन्यायाधीश राणा यसअघि नै स्वचालित प्रणालीमा लैजान तयार भइसकेका छन् । उनकै अग्रसरतामा न्यायाधीश मीरा खड्काको संयोजकतत्वमा स्वचालित प्रणालीमा लैजानेबारे अध्ययन तथा सुझावका लागि कार्यदल बनाइएको थियो । उक्त अध्ययन प्रतिवेदनअनुसार, आगामी फागुनभित्रमा पूर्णतः स्वचालित प्रणालीमा जाने र त्यतिञ्जेल सफ्टवेयर तयार गरी मुद्दासम्बन्धी तथ्यांक प्रविष्टि गर्ने तयारी गरिएको छ ।
कम्प्युटरमा आधारित स्वचालित प्रणालीमा जान ढिला हुने अवस्थामा तत्कालै गोलाप्रथामा जान सकिनेबारे पनि छलफल भएको छ । यसबीचमा बार नेतृत्व र प्रधानन्यायाधीश तथा सर्वोच्चका प्रतिनिधिबीच विभिन्न चरणमा भएका अनौपचारिक छलफल सकारात्मक भएपछि आइतबार औपचारिक छलफल हुने भएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशलाई भेट्नका लागि समय मागेअनुसार प्रधानन्यायाधीश राणाले आइतबारको समय दिएका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संयोजक रहेको अध्ययन समितिले पाँच महिना अध्ययन गरेर सबै तहका अदालतमा पेसी व्यवस्थापन विश्वसनीय र पारदर्शी बनाउन भन्दै स्वचालित प्रणालीमा लैजान सुझाव दिएको थियो । उक्त सुझाव कार्यान्वयनको ढाँचा तयार गर्न न्यायाधीश मीरा खड्काको नेतृत्वमा अर्को कार्यदल बनाइएको हो । आउँदो फुल कोर्टको बैठकले यससम्बन्धी निर्णय गर्न सक्ने सर्वोच्च स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश राणा स्वचालित प्रणालीमा पेसी व्यवस्थापन गर्न तयार भएपछि नेपाल बारले अघि सारेको मुख्य चासो सम्बोधन हुनेछ । त्यसपछि बाहिरका विरोध र आलोचना गर्नेहरुलाई पनि तत्कालका लागि बहाना समाप्त हुनेछ । अहिले केही पूर्वन्यायाधीशहरु ‘के निहुँ पाऊँ, कनिका बुकाऊँ’ शैलीमा प्रधानन्यायाधीशमाथि मर्यादाहीन तवरमा टीका टिप्पणी गरिरहेका छन् । व्यक्तिगत तहमा गालीगलौज र लाञ्छित गर्ने उनीहरुको हर्कतले न्यायपालिकाप्रतिको आस्था र विश्वास क्षयीकरण भइरहेको छ । तिनीहरुलाई जवाफ दिनका लागि पनि अदालतभित्रैबाट एउटा ‘बोल्ड’ निर्णय आउन सक्ने ठानिएको छ ।
पूर्वन्यायाधीश फोरमले शुक्रबार राजधानीमा एक कार्यक्रम नै गरी प्रधानन्यायाधीशले न्यायिक स्वतन्त्रता गम्भीर संकटमा पार्ने काम गरेको भन्दै एक वक्तव्य नै सार्वजनिक गरेको थियो । त्यसैलाई आधार मानी केही मिडियाले न्यायपालिका नै रसातलमा पुगेकोजसरी प्रचार गरेका थिए । कतिपय सर्वोच्च अदालतका न्यायाधीशहरु नै छुट्टै भेला र बैठक गर्न थालेपछि न्याय क्षेत्रमा ठूलै भुकम्पका पूर्वकम्पका रुपमा अर्थ्याइएको थियो । तर, प्रधानन्यायाधीश राणाले स्वचालित पेसी व्यवस्थापन प्रणालीलाई सहज रुपमा ग्रहण गरेपछि अदालतभित्रैका असन्तुष्ट पक्षहरु पनि नरम भएका छन् ।
पेसी व्यवस्थापनको चासो सम्बोधन भएपछि अब न्यायालयको प्रतिरक्षामा उभिने प्रतिबद्धता पनि बारले जनाएको छ । बारको शुक्रबार बसेको बैठकमा पनि आधारहीन हल्लाका पछाडि नलागी वस्तुगत आधारमा आफ्नो चासो सार्वजनिक गर्नुपर्ने समझदारी भएको थियो । जायज चासो सम्बोधनका लागि प्रधानन्यायाधीशका लागि ध्यानाकर्षण गन सकिने तर स्याल हुइयाँका पछाडि लाग्न नहुनेमा सबै बार पदाधिकारीबीच एकमत कायम भएको थियो ।
अदालतभित्रको कुरा अदालतमै सम्बोधन हुने भएपछि राजनीतिक नेतृत्वले पनि चासो लिन छाडेको छ । कांग्रेस र एमाले महाधिवेशनको माहोलमा होमिइसकेकाले पनि अब अदालतको विषयलाई खासै मुद्दा नबनाउने मुडमा पुगेको देखिन्छ । कांग्रेसलगायत सत्ता गठबन्धनका घटकहरु अदालतको विषय अदालतभित्रै सीमित हुने र प्रधानन्यायाधीशले स्वविवेकले गर्ने निर्णय नै अन्तिम हुने निष्कर्षमा पुगेका छन् । एमालेले त कुनै निहित स्वार्थ बोकेको तत्त्वले अदालतलाई विवादमा तान्न पछिल्ला हल्ला र विवाद सिर्जना गराएकाले त्यस्ता हल्लाको पछाडि नलाग्ने स्पष्ट पारिसकेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८