असोज २२, २०७८
नेपाली कांग्रेसका समकालीन नेताहरुमा अहिले पनि सभापति बन्नका लागि योग्यतम नेता रामचन्द्र पौडेल नै हुन् भन्नुमा कुनै संकोच छैन । सबैभन्दा पाका, निष्कलंक छवि, सादा जीवन, पार्टीमा अनवरत योगदान अनि अपरीक्षित व्यक्तित्वका कारण यसपालि उनैलाई नेतृत्वमा पुर्याउनुपर्छ भन्ने मत कांग्रेसमा बढ्दै गएको छ । यसपालि उनीप्र्र्रति विशेष प्रकारको सहानुभूति पनि देखिन्छ ।
यति हुँदाहुँदै पनि उनका कतिपय स्वभावजन्य पक्ष यस्ता छन्, जसले सभापतिको दावालाई कमजोर बनाइरहेको छ । जोसँग उनी आगामी महाधिवेशनमा टक्कर लिँदै छन्, उसैसँग उनी एक थान मन्त्रीका लागि हारगुहार गर्दै छन् । अहिले सभापतिको कुर्सीमा भए पनि शेरबहादुर देउवासँग यो कुर्सीमा बस्ने हक समाप्त भइसकेको छ । उनको पदको म्याद गुज्रिइसकेको छ । दुई वर्षअघि नै गरिसक्नुपर्ने पार्टीको महाधिवेशनका लागि कुनै तयारी नगरी आज एउटा, भोलि अर्को बहाना गरी आफ्नो पदको भाका आफै बढाउने देउवाको अवैध हर्कतलाई मान्यता नदिने अडान पौडेल र अरु विधिपक्षीय नेताहरुले राखेका भए अहिले परिस्थिति अर्कै भइसक्थ्यो । पार्टीभित्र प्रतिपक्षको लाचारीको लाभ देउवा एक्लैले उठाइरहेका छन् । यही अवस्था कायम रहे देउवाले अरु केही वर्ष अल्मल्याइरहनेछन् । पद र सत्ता ओगटिरहनेछन् ।
अहिले पनि देउवासँग दुईटै हातमा लड्डु छन् । एकातिर पार्टी सभापतिको म्याद जति चाह्यो, उति लम्ब्याउँदै आएका छन् । अर्कोतिर, आफ्नो गुटबाट मन्त्री बनाउनुपर्ने जतिलाई बनाइसकेका छन् । अरु पार्टी र कांग्रेसभित्रकै इतर खेमलाई केही थान मन्त्रीको लोभ देखाएर झगडा सुरु गरेका छन् । सत्ताका चतुर खेलाडी देउवाले इतर खेमाभित्र विभाजन र आशंका बढाउन एकएक थान मन्त्री पद सबै भुरे–टाकुरे नेताहरुलाई वितरण गरेका छन् । ती भुरे–टाकुरे नेताहरु आफूले भाग पाएकोमा दंग छन् । तर, त्यही एउटा भाग देखाएर देउवाले आफ्नो काम तमाम गरेकोतिर कसैले ख्याल गरेको देखिँदैन ।
रामचन्द्र पौडेलले पनि दुईजनाको कोटा पाएका छन् । त्यसमा मन्त्री सिफारिस गर्न आफूलाई गाह्रो भएको भन्दै पौडेलले थप एकजनाको कोटाका लागि अनुनय विनय गरिरहेका छन् । तर, देउवा गजक्क परेर भन्दै छन्, ‘यो त कहाँ सम्भव छ र रु कोइराला परिवार, सिटौला गुट सबलाई चित्त बुझाउनु छ ।’ मानौँ, देउवा आफ्नो खल्तीबाट झिकेर यी पद दिँदै छन् ।
पौडेलले बुझ्नुपर्ने हो, मन्त्रीको कोटा देउवाले खल्तीबाट दिने होइन । नेपाली कांग्रेस पार्टीको जगमा उनले यो अवसर पाएका हुन् । गत चुनावमा पार्टीलाई रसातलमा पुर्याएका देउवाले एक त प्रधानमन्त्री बन्ने नैतिक हैसियत नै गुमाइसकेका हुन् । प्रधानमन्त्री त के, प्रमुख प्रतिपक्षी दलको नेता बन्ने हैसियत समेत उनले प्राप्त गरेका थिएनन् । त्यसैले अहिले प्रधानमन्त्री बन्न पाउनु नै उनका निम्ति ठूलो कुरा हो ।
अहिले प्राप्त अवसर देउवाको निजी प्रतापले सम्भव भएको होइन । नेपाली कांग्रेसको ऐतिहासिक विरासत र बचेखुचेको सांगठनिक संरचना र जनाधारका कारण सम्भव भएको हो । यसमा देउवाको होइन, उनीबाहेक हरेक कांग्रेसीको बराबर हक लाग्छ । तसर्थ, यो देउवालेल दिने कुरा होइन । कांग्रेसका हरेक सांसदले स्वतः पाउने कुरा हो । कांग्रेसका हरेक सांसदको बराबर दावी लाग्ने कुरा हो ।
यति कुरा पनि भन्न नसकेर रामचन्द्र पौडेल लुरुक्क परेर एक थान मन्त्रीका निम्ति मोलमोलाइ गर्नु उनको लाचारीको पराकाष्ठा हो । उनले त नेताहरुबीच भागबण्डा होइन, पार्टीमा स्पष्ट मापदण्ड बनाएर अहिलेसम्म अवसर नपाएका, योग्य, इमानदार र समावेशात्मकता हेरेर मन्त्री चयन गर्नुपर्ने अडान राख्नुपर्ने हो ।
म्याद गुज्रिएका सभापतिसँग भागबण्डा खोजेर पौडेलले आगामी महाधिवेशनमा सभापतिका लागि हुन सक्ने दावीलाई नै कमजोर बनाउँदै छन् । देउवालाई दाता र आफूलाई मगन्तेमा सीमित गर्दै छन् । देउवालाई शासक र आफूलाई शासितको कोटिमा उभ्याउँदै छन् । यो पौडेलको निर्दोष कमजोरी मात्र होइन, लाचारी र दूरदृष्टिविहीनताको द्योतक हो ।
एकाध मन्त्री बनाएर तत्काल उनीहरुको तुष्टिकरण त होला तर त्यसले आफ्नो गुटभित्र झन् झगडाको बीऊ रोपिनेछ भन्ने पनि पौडेलले हेक्का राखेको देखिएन । देउवाले दुईजनाको नाम देऊ भन्दै छन् । उनलाई राम्ररी थाहा छ कि दुई जनाको नाम दिनेबित्तिकै बाँकी सबैजना पौडेलसँग रुष्ट हुनेछन् । मन्त्री पदको बिलो फालेर पौडेल खेमाभित्र आगो बाल्न देउवाले रचेको चक्रव्यूहमा रामचन्द्र बस्दै गएका छन् ।
यदि रामचन्द्र पौडेलले साँच्चै कांग्रेसको नेतृत्वको सपना देखेका हुन् र देशकै शासनसत्ताको बागडोर सम्हाल्ने अठोट लिएका हुन् भने देउवासँग सत्ताको सौदाबाजी गर्न छाड्नुपर्छ । उनले पार्टी र संगठनमै आफूलाई केन्द्रित गरी महाधिवेशनलाई अर्जुनदृष्टि बनाउनुपर्छ । होइन भने देउवाले पौडेललाई यसैगरी ससाना कुरामा अल्झाउँदै आफ्नो स्वार्थसिद्धि गर्नेछन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८