• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

विवादमा किन पर्दैछन प्रधानन्यायाधीश ?

  • खबरदाता

विवादमा किन पर्दैछन प्रधानन्यायाधीश ?

असोज १९,२०७८

आफ्नो अक्षमतालाई ढाकछोप गर्न अरुमाथि हिलो छ्याप्ने प्रवृत्ति नेपाली राजनीतिमा नौलो होइन । मन्त्रिपरिषद विस्तारको प्रसंगमा पनि अहिले यही भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको तीन महिना पुग्न लागिसक्यो । मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । यसमा गठबन्धनभित्रै एकले अर्कोलाई आरोपित गर्ने सिलसिला सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका अरु केही नेताले माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवतिर तेर्स्याएका छन् । माधव नेपाल र उपेन्द्र यादव देउवामाथि नै शंका गर्न थालेका छन् । देउवाले परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त गरेपछि यादव चिढिएका छन् भने आफूले दिएको नामावलीलाई रद्दीको टोकरीमा पुर्याएपछि नेपाल तनावमा छन् । प्रचण्डले त आफ्नै पार्टीभित्रको मारमुंग्री र छिनाझम्टी मिलाउन नसकेर हैरानी खेपिरहेका छन् ।आफूभित्रको लफडा आफै मिलाउन नसकेपछि गठबन्धनका नेताहरु अब मन्त्रिपरिषद विस्तार हुन नसक्नुमा कहिले भारत, कहिले चीन र कहिले अमेरिकाको भूमिकालाई दोषी देखाइरहेका छन् । हुँदाहुँदा अब यसको दोष अदालततिर पन्छाइँदै छ।

आइतबार एकाएक मूलधारका सञ्चारमाध्यममा उही व्यहोराको सामग्री प्रसारित भयो । त्यसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मन्त्रिपरिषदमा भाग खोजेको र यही कारण मन्त्रिपरिषद विस्तार गर्न सकस परेको विवरणमा उल्लेख छ । ती सामग्रीहरुमा कुनै वस्तुनिष्ठ आधार देखिँदैन । कुनै प्रमाण पनि खुलाइएको छैन । अज्ञात स्रोतलाई उद्धृत गरिएको छ ।यसमा गठबन्धनभित्रैका नेताको खेल रहेको प्रस्टसँग बुझिन्छ । तर, यो शैली आफ्ना कमजोरी ढाकछोप गर्न न्यायालयको संवेदनशीलतामाथि प्रहार गर्ने प्रकृतिको छ । अहिले मात्र होइन, यसअघि पनि पटकपटक राजनीतिक मामिलामा प्रधानन्यायाधीश र न्यायपालिकालाई विवादित बनाउने काम भएको छ । यो अहिले संयोगवश भएको नभई नियोजित शृंखलाकै एक कडीजस्तो देखिन्छ ।

अदालतमा एकातिर संवैधानिक परिषद र संवैधानिक इजलाससम्बन्धी रिट विचाराधीन छन् । यी दुवै रिटमा प्रधानन्यायाधीशलाई विपक्षी बनाइएको छ । यी रिटलाई प्रभावित पार्न पनि अहिले मिडिया ट्रायल भइरहेको हुन सक्ने आधार पनि उत्तिकै छन् । केही राजनीतिक शक्तिले न्यायिक नेतृत्वमाथि हिलो छ्यापेर अरु पनि निहित स्वार्थ पूरा गर्ने दाउ रचेको हुन सक्छ । केही अघि सर्वोच्च अदालतकै न्यायाधीश हरिकृष्ण कार्कीले एक अध्ययन प्रतिवेदनका नाममा प्रधानन्यायाधीश राणालाई लाञ्छित गर्ने दस्तावेज सर्वोच्चमा बुझाएका थिए । उनले अहिलेका बेथितिको सम्पूर्ण कारक प्रधानन्यायाधीश रहेको र उनलाई पेसी तोक्ने प्रक्रियाबाट अलग्याउनुपर्ने राय दिएका थिए । अहिले राजनीतिक तप्काबाट लागेका आरोप र हिजो कार्की प्रतिवेदनले औँल्याएका व्यहोराको अभिमुखीकरण करिब समान छ ।

यसले न्यायिक नेतृत्वमा पुग्न वा कसैलाई पुर्याउन हतार भएको पनि हुन सक्ने अड्कल काट्न सकिन्छ । पछिल्ला केही वर्षयता कुनै पनि प्रधानन्यायाधीशको सहज बहिर्गमन भएको छैन । अहिले पनि छिर्के हानेर न्यायालय कब्जा गर्ने कतिपयको सोच र योजना प्रकट–अप्रकट रुपमा देखिन थालेको छ । न्यायालयमाथि प्रहार हुँदा प्रतिरक्षामा उत्रिनुपर्ने नेपाल बार एसोसिएसन उल्टै राजनीतिक खपतका निम्ति गरिएका बजारिया स्यालहुइँयाको पछि लाग्नु थप खेदजनक छ ।
यस प्रकारका गतिविधिबाट तत्काललाई कसैको तुष्टीकरण हुन सक्ला । कसैलाई तत्काल कुनै लाभ पनि मिल्ला । तर, दीर्घकालमा भने यसले न्यायपालिका नामको संस्थालाई त कमजोर बनाउने नै छ, यो संविधान, व्यवस्था र राज्यप्रणाली नै क्षत विक्षतको अवस्थामा पुर्याउन सक्नेछ । चेतना भया ।

  • प्रकाशित मिति : असोज १९, २०७८, मंगलवार ००:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८