• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कसकालागि थपियो एमालेमा बरिस्ठ उपाध्यक्ष पद?

  • खबरदाता

कसकालागि थपियो एमालेमा बरिस्ठ उपाध्यक्ष पद?

असोज १९,२०७८

 

नेकपा एमालेको विधानले एक वरिष्ठ उपाध्यक्ष र एक महासचिवसहित केन्द्रमा १५ जना पदाधिकारी रहने गरी विधान पारित गरेको छ । योसँगै अब ओलीको टिममा शक्तिशाली र प्रभावशाली पदमा को रहन्छन् भन्ने आमजिज्ञासा पैदा भएको छ ।

विधानको सुरु मसौदामा वरिष्ठ उपाध्यक्षको व्यवस्था थिएन । ललितपुरको गोदावरीमा देशभरबाट बोलाइएका ६ हजार ३ सय प्रतिनिधिको बीचमा छलफल भएर पारित गर्ने क्रममा अन्तिम समयमा यो पद थपेर घोषणा गरिएको थियो ।यो पद कसलाई हेरेर थपियो रु कसलाई व्यवस्थापन गर्नुपर्ने भयो रु यी प्रश्न धेरै प्रतिनिधिका मनमा तत्कालै उब्जिए पनि उत्तर अझै फेला पर्न सकेको छैन ।

एमाले राजनीतिका जानकारहरुका अनुसार, भीम रावल वा ईश्वर पोखरेलमध्ये एकजनालाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी छ । ओलीलाई अध्यक्षमा निरन्तरता दिने गरी विधान पारित गरिएपछि यी दुवै नेतालाई थामथुम पार्न वरिष्ठ उपाध्यक्षको ललीपप देखाइएको धेरैको बुझाइको छ । यो तर्कको मुख्य आधार हो, एमालेको अध्यक्ष बन्ने आकांक्षा राखेका यी दुवै नेताले ११ औँ महाधिवेशनअघि नै सक्रिय राजनीतिबाट उमेर हदका कारण अवकाश लिनुपर्नेछ । अहिले ओली नै दोहोरिएपछि उनीहरुको पालो दोस्रो तहकै नेता भएर सकिनेछ ।

ओलीनिकट नेताहरुका अनुसार, अबको एमाले संरचनामा अध्यक्षपछि वरिष्ठ उपाध्यक्ष र महासचिव नै संगठनमा धेरै प्रभावशाली हुनेछन् । ओलीको स्वास्थ्य र उमेरका कारण पनि वरिष्ठ उपाध्यक्ष र महासचिवले नै अब पार्टी हाँक्नेछन् । यसकारण पनि यी दुई पदमा विशेष आकर्षण देखिएको छ ।ओलीको अनुपस्थितिमा कार्यवाहक तोक्न सजिलो होस् भनेर नै वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएको आइतबार एक टेलिभिजनमा प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । यस हिसाबले हेर्दा पनि ओलीले आफ्नो उत्तराधिकारीका रुपमा कोही नेतालाई उपाध्यक्ष बनाउन खोजेको बुझ्न गाह्रो छैन ।

यस्तै, महासचिवका दावेदारमा सुरेन्द्र पाण्डे, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल लगायतका नेता छन् । हाल उपमहासचिव रहेका घनश्याम भुसाल पनि यसमा इच्छुक हुन सक्छन् । तर, सबैभन्दा बलिया दावेदार भने शंकर र विष्णु नै देखिन्छन् । यसअघि एमाले र माओवादी मिलेर बनाइएको नेकपामा एकाएक विष्णुलाई महासचिव बनाउँदा दुवै पार्टीको सम्पूर्ण पंक्ति आश्चर्यचकित भएको थियो । प्रचण्ड र ओलीका समान रुपमा विश्वासपात्र बनेर उदाएका विष्णु राष्ट्रिय–अन्तर्राष्ट्रिय, वैध–अवैध शक्ति मिलाउन सक्ने तागत रहेको मानिन्छ ।

शंकरलाई भने ओलीका लागि सांगठनिक र वैचारिक आधारभूमि तयार गरिदिने नेताका रुपमा लिइन्छ । विद्यार्थी राजनीतिबाट उदाएका उनलाई ओलीले महत्त्वपूर्ण जिम्मेवारी दिएर अघि बढाउन खोजेको यसअघिका घटनाक्रमले पनि देखाउँछ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री भइसकेका शंकर ओलीका हरेक राजनीतिक संकटमा अग्रमोर्चामा रहेर समाधानका सूत्रधार र बचाउका हतियार बनेका थिए । कतिपयको बुझाइमा त विष्णुलाई वरिष्ठ उपाध्यक्ष पद दिएर भए पनि ओलीले शंकरलाई नै महासचिव बनाउन सक्नेछन् ।

आखिर जो भए पनि अब बन्ने वरिष्ठ उपाध्यक्ष र महासचिवले नै एमालेलाई चलाउनेछन् । ओली अहिले जति नै सक्रिय देखिए पनि आउँदो चुनावपछि सत्तामा पुग्ने अन्तिम प्रयास गर्नेछन् र पार्टी उत्तराधिकारीलाई सुम्पनेछन् । ओलीका निकटस्थहरुले पनि उनको यो मनोविज्ञान राम्ररी बुझेको देखिन्छ । यही कारण भावी अध्यक्षका दावेदारमध्ये कसैले पनि यसपालि ओलीको दोहोरिने चाहनामा तगारो बन्न नखोजेको प्रस्ट हुन्छ । ओली सर्वसम्मत अध्यक्षमा नवीकृत हुने वातावरण बन्नुले अरु पदाधिकारीमा पनि उनले एक–एक गरी पात्र चयन गरेर चुनावरहित महाधिवेशन गर्न सक्ने देखिएको छ ।

  • प्रकाशित मिति : असोज १९, २०७८, मंगलवार ००:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८