• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनका १ लाख भन्दा धेरै घरमा जनगणना हुने


चितवनका १ लाख भन्दा धेरै घरमा जनगणना हुने

सधैँ सरकारले केही गरेन भन्ने नागरिकले सरकारलाई आफ्नो वास्तविक तथ्याङ्क दिएर सहजीकरण गर्नुपर्ने देखिन्छ । यही तथ्याङ्कलाई आधार बनाएर देशको नीति,योजना तथा बजेट लगायत कयौँ कार्यक्रम निर्धारण गरिनेछ । १० वर्षमा एक पटक घरमै आएर तथ्याङ्क माग्दापनि सहरमा रहेका नागरिकहरुले वास्तविक तथ्याङ्क लुकाएर आफ्नो गैरजिम्मेवारीपन देखाएका छन् ।

केपी शर्मा – असोज १८, २०७८

चितवनका १ लाख २७ हजार भन्दा धेरै घरहरुमा जनगणना हुने भएको छ । मेरो गणना, मेरो सहभागीता भन्ने मूल नाराका साथ सुरु भएको १२ औँ राष्ट्रिय जनगणना २०७८ मा चितवन जिल्लाका १ लाख २७ हजार ९७४ घरधुरीमा गणकहरु पुगेर जनगणना गरिने भएको हो ।

जिल्ला जनगणना कार्यालय चितवनका जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले दिएको जानकारी अनुसार चितवनमा रहेका १ लाख ६५ हजार ९ घरधुरी मध्ये १ लाख २७ हजार ९७४ घुरधुरीमा जनगणना हुने छ । सुपरीवेक्षकले ल्याएको उल्लेखित तथ्याङ्क अनुसार चितवनका सम्पूर्ण घरहरुमा जनगणना गर्नुनपर्ने देखिन्छ ।

उनीहरुले दिएको तथ्याङ्कका आधारमा ३८ हजार १०६ वटा घरमा मानिस बस्दैनन् । त्यसैले गणक पुग्नुपर्ने घरधुरी संख्या १ लाख २७ हजार ९७४ मात्र रहेको हो । किनकी अहिलेको नीति अनुसार अक्सर मानिसहरु जहाँ बसोवास गरेका छन् त्यहीबाट जनगणना हुनेछ ।

उनका अनुसार ती घरधुरीका १ लाख ५५ हजार पाँचसय ६८ परिवारसँग गणकहरुले प्रत्यक्षरुपमा साक्षत्कार गर्नेछन् ।

यो तथ्याङ्क भने असोज १७ गते साँझ सम्मको मात्र हो । तर घर तथा घरपरिवार सूचीकरणको आज (सोमवार) अन्तिम दिन रहेको हुनाले माथिको तथ्याङ्कमा केही प्रतिशत बढ्ने निश्चित छ ।

भण्डारीका अनुसार इच्छाकामना गाउँपालिकाको माथिल्लो भेग र राप्तीको परेवाकोट लगायतका केही विकट क्षेत्रबाट सुपरीवेक्षकहरुले एकीन घरधुरीसंख्या ल्याएपछि मात्रै चितवनका कति घरधुरीमा गणना गर्नुपर्ने एकीन तथ्याङ्क आउने छ ।

उनले भने,“इच्छाकामना र राप्तीका विकट क्षेत्रबाट सुपरीवेक्षकहरुले साँझसम्म डाटा दिनेछन् । त्यसपश्चात मात्र एकीन तथ्याङ्क आउनेछ । तर हिजोको तथ्याङ्कमा केही प्रतिशत अवश्य बढ्नेछ।”

लोकतान्त्रीक संविधान २०७२ जारीपछिको पहिलो जनगणना भएकाले पनि यसलाई विशेष महत्व दिइएको छ । अहिलेको जनगणनामा पहिला भन्दा धेरै परिमार्जन गरिएकाले स्थानीय सरकारलाई यो जनगणनाको तथ्याङ्कले कालान्तर सम्म धेरै कुराको जानकारी गराउनेछ ।

घर संख्या र परिवार संख्या मात्रै नभएर उक्त परिवारको ऋण भए नभएको, कृषि खेती गरेनगरेको , वैँकमा खाता भएनभएको, सीपमूलक तालिम लिएनलिएको,पशु चौपाय पालेनपालेको लगायतका प्रश्नावलीहरु यो जनगणनाको पहिलो चरणमा सोधिएको छ । सुपरीवेक्षकहरुले सोधेर ल्याएका यी प्रश्नको उत्तरलाई व्यस्थित गरी चाँडै विवरण सार्वजनिक गर्ने तयारी छ ।

गाउँमा भन्दा सहरमा उत्तर पाउन कठीन

सात वटा स्थानीय तह रहेका चितवन जिल्लामा पहिलो चरण (घर तथा घरपरिवार सूचीकरण) को तथ्याङ्क संकलनका लागि २१० जना सुपरीवेक्षकहरु भाद्र ३० देखि कार्यक्षेत्रमा खटिएका छन् । उनीहरुले सवै घरहरुमा पुगेर विवरण ल्याउने काम गरिरहेका छन् । तर मेरो गणना मेरो सहभागीता नारा रहेपनि गाउँ भन्दा सहरमा रहेका वासिन्दाहरुले सुपरीवेक्षकहरुलाई भनेको जस्तो तथ्याङ्क उपलब्ध नगराउने गरेको पाइएको छ ।

सहरका वासिन्दाले ‘मेरो ऋण, मेरो खाता, मेरो जग्गा, मैले किन भन्नुपर्यो ? तपाइहरुले तिरिदिने हो र’ भन्ने जस्ता उत्तरहरु फर्काउनाले सुपरीवेक्षकहरुलाई वास्तविक तथ्याङ्क निकाल्न हम्मेहम्मे परेको छ । सुपरीवेक्षकले सहर भन्दा गाउँबाटनै वास्तविक तथ्थाङ्क आएको बताउँछन् । हरेक १०/१० वर्षमा हुने जनगणनामा पनि नागरिकहरु गैरजिम्मेवार वनेको कतिपयले टिप्पणी गरेका छन् ।

गणना गरिने कतिपय स्थानमा असहज परिस्थिती देखा परेको पाइन्छ । उक्त स्थानहरुमा जनगणना कार्यालयबाटनै कार्यालय प्रमुख सहित थप जिम्मेवार कर्मचारीहरु गएर विवरण संकलन गरीएको छ ।
सुपरीवेक्षक पछि मूलगणना गर्न गणकहरु कार्तिक २५ देखि मंसिर ९ सम्म मानिस बसेको प्रत्येक घरधुरीमा पुग्नेछन् । सुपरीवेक्षकको छोटो समयको प्रश्नमा त अटेर गरेका स्थानीयले गणकले सोध्ने धेरै प्रश्नहरुमा के गर्लान् भन्ने चिन्ता थपिएको छ । त्यसका लागि थप जनचेतना जगाउन भने आवश्यक देखिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले गणकहरुको नामलिष्ट सार्वजनिक गरेसँगै अहिले जिल्लामा त्यसको प्रमाणीकरणको काम जारी रहेको छ । गणकहरुलाई चितवनमा कार्तिक १३ देखि १६ सम्म तालिम संचालन गरिने भएको छ।

एक सुपरीवेक्षकले चार जना गणक हेर्नेगरी व्यवस्था मिलाइएको र चितवनमा ८५७ गणक मुल गणनाका लागि खटिने छन् । नागरिकसँग सोधिएका प्रश्नहरुको उत्तर भने तथ्याङ्क ऐन २०१५ अनुसार गोप्य रहने छन् ।

  • प्रकाशित मिति : असोज १८, २०७८, सोमवार १३:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८