असोज १८, २०७८
प्रशासनले जारी गरेको आदेशलाई उल्लघंन गर्दै नेपाली काँग्रेस भरतपुरले पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको एक पार्टी प्यालेसमा सोमवार नेपाली काँग्रेस १४ औँ महाधिवेशनबाट निर्वाचित भरतपुर महानगरसमितिका नयाँ पदाधिकारीहरुलाई पदस्थापना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले असोज १५ गते जारी गरेको आदेश विपरीत काँग्रेसले सो कार्यक्रम आयोजना गरेको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले हस्ताक्षर गरी जारी गरिएको आदेशको १ नम्वर बुँदाकै उनीहरुले अवज्ञा गरेका हुन् ।
आदेश गरिएको बुँदामा भनिएको छ,“सबै प्रकारका सभा,जुलुस,महोत्सव, आदि संञ्चालन नगर्ने। तर कानून बमोजिम गर्नैपर्ने साधारणसभा, सम्मेलन, अधिवेशनको हकमा नेपाल सरकारबाट निर्धारित जनस्वास्थ्यका मापदण्डको पालना गर्ने गराउने सुनिश्चितता गरी जिल्ला कोभिड १९ व्यवस्थापन समितिलाई अग्रिम जानकारी गराई संचालन गर्न सकिने ।”
तर काँग्रेसले प्रशासनलाई कुनै पनि जानकारी नगराई वाक्लो भीडभाडका वीच कार्यक्रम गरेको हो । प्रमुख जिल्ला अधिकारी तामाङले भने आफूलाइ यस विषयमा कुनैपनि जानकारी नभएको बताए । उनले भने,“काँग्रेसले आज गरेको कार्यक्रमको बारेमा कार्यक्रम गर्दैछौँ भन्ने हामीलाई कुनैपनि जानकारी आएन । राजनीतिक दलका नेताहरुलेनै यसरी कार्यक्रम गर्ने हो भने अन्य सामान्य व्यक्तिहरुलाई सुरक्षा मापदण्ड कसरी पालना गर्न लगाउने ?”
नेपाली काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले सामाजिक संजालमा राखेका तस्विरहरुमा अधिकाँश नेता तथा कार्यकर्ताहरुले स्वास्थ्यको सामान्य मापदण्ड त परको कुरा, सामान्य मास्क समेत लगाएको देखिदैन ।

हिजै मात्र जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्रहरीको दिवसको अवसरमा सडकमा हिँड्ने सामान्य व्यक्तिहरुलाई मास्क वितरण गरी सम्पूर्णलाई जानकारी गराइरहेको थियो । तर नेता र नेतृत्वमा आउनेहरु नै यसरी मापदण्डको उल्लघंन गरेका हुन ।
सत्तारुढ दल समेत रहेको काँग्रेसले आफ्नै सभापति प्रधानमन्त्री भएको समय सरकारी निकायकै आदेश उल्लघंन गरेको हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८