पर्यटन व्यवसायीले जस्तासुकै ठूला छुटका प्याकेज ल्याएपनि सौराहालाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म पुरानै लयमा सौराहा फर्कनेमा शंका कायमै छ ।
केपी शर्मा – असोज १८, २०७८
कोभिड सँगै सुतेको सौराहा विस्तारै आँखा खोल्न थालेको छ । पछिल्लो समय कोरोना संक्रमणको दर विश्वभरनै घट्दै गएपछि नेपालमा पनि विदेशी पर्यटकहरु आउन थालेका छन् ।
सरकारले सीमा नाकामा गरेको कडाईलाई केही खुकुलो पारेपछि दुई वर्षअघि स्थगित भएका पर्यटकका कार्यक्रमहरु पुन संचालनमा आउन थालेका छन् । यो सँगै दुई वर्षदेखि सुनसान रहेको देशकै तेस्रो पर्यटकीय नगरी सौराहामा पनि चहलपहल बढ्न थालेको छ ।
बहु संख्यामा पर्यटकहरु नआइसकेपनि फाट्टफुट्ट भने देखिन थालेका छन् । कोभिड सँगै बन्द भएको सौराहामा आन्तरिक पर्यटकहरु मनग्य आउन थालेका छन् । विशेष गरी शुक्रवार र शनिवार बढि मात्रामा पर्यटक पुग्ने गरेका छन् । तरपनि नगण्य पर्यटकले सौराहाको व्यवसाय उठ्न नसक्ने व्यवसायीहरु बताउँछन् । वास्तवमै भन्ने हो भने यो समय पर्यटकले खचाखच हुने बेला हो ।
कुनै बेला यो समय त्यहाँका व्यवसायी तथा कामदारहरुलाई बोल्ने फुर्सद समेत हुँदैनथ्यो । करिव डेढवर्ष बन्द भएपश्चात सौराहा पुनः सुचारु हुन थालेको हो ।
क्षेत्रीय होटल व्यवसायी संघ सौराहाका अध्यक्ष दिपक भट्टराइले आन्तरिक पर्यटक आउन थालेको बताउँदै दैनिक १५ देखि २० प्रतिशतसम्म पुगिसकेको बताए । यसका अलवा विदेशी पर्यटकहरुमध्य युरोपियनहरु पनि फाट्टफुट्ट आउन थालेका छन् भने भारतीय पर्यटकहरुको बुकिङ भने उल्लेख्य रुपमा आएको जानकारी दिए । दसैँको फुलपातीसम्ममा आन्तरिक पर्यटकहरु ४० देखि ५० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।
आन्तरिक पर्यटकको रोजाइमा अघिल्ला वर्ष साना तथा मझौला होटलहरु पर्नेगरेकोमा कोभिड १९ को संक्रमण कम भएर लकडाउन खुलेपछि ठूला होटलहरु रोजाइमा पारेका छन् । पर्यटकहरुलाई ठूला होटलमा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना हुन्छ भन्ने विश्वासले त्यसतर्फ आकर्षण बढाएको भट्टराइको भनाई छ ।
लामो समय बन्द रहेको सौराहा खुलेपछि सवै पर्यटकीय गतिविधिहरु पनि संचालनमा आएका छन् । सौराहा संचालनमा आएसँगै व्यवसायीहरुमा उत्साह थपिएको भएपनि यसपटक भने उनीहरुले पहिला जस्तो संस्थागत रुपमा कुनैपनि छुट र सौलियतका प्याकेजहरु भने सार्वजनिक गरेका छैनन्।
तर आआफ्नो व्यसायको स्तर हेरेर होटल तथा रेष्टुरेन्ट संचालकहरुले आउने पर्यटकहरुलाई छुट दिएका छन् ।
सौराहामा संस्थागत रुपमा दर्ता भएका ११० वटा साना ठूला होटलहरुमा कुल ५ हजार ५ सय वटा कोठाहरु रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८