अनुगमन गर्दै हिँड्ने समन्वय समितिले अनुगमन गर्दा कजोरी देखिए कारवाही प्रकृया अगाडि बढाउँछ । तर २०७३ सालदेखि आफ्नै वेवसाइट अपडेट नगरी जनतालाई पुरानो विवरण उपलब्ध गराए वापत उसलाई कसले कारवाही गर्ने ?
केपी शर्मा,
असोज १३, २०७८
जिल्ला समन्वय समिति चितवनले आम नागरिकलाई झूठो सूचना दिने गरेको पाइएको छ । देशमा संघीयतामा गएर नयाँ संविधान २०७२ जारी भएसँगै जिल्लामा एक गाउँपालिका, एक महानगरपालिका र पाँच वटा नगरपालिका छन् । तर जिल्ला समन्वय समितिको बेवसाइटको परिचय खण्डमा भने अझैपनि ‘गाविस प्रोफाइल’ भनेर लेखेको देख्न पाइन्छ ।
समन्वय समितिमा जनप्रतिनिधि चुनिएर आएदेखि नागरिकलाई नयाँ सुचना उपलब्ध गराउन सकेको छैन। संचारक्षेत्रले अत्याधिक फड्को मारिसक्दा सम्पूर्ण जिल्लालाई नै अनुगमन गर्ने समन्वय समिति भने आफ्नो वेवसाइट समेत अपडेट गर्न नसक्ने अवस्थामा पुगेको छ । जव जनप्रतिनिधि आए तव देखिनै वेवसाइटमा जानकारी तथा सूचना रित्तै छ । तर निर्वाचित भएर आएका पदाधिकारी र कर्मचारीले भने आफ्नो फोटो भने राखेर प्रचार गरेका छन् । जवकी वेवसाइट पछिल्लो नयाँ र ताजा सूचना दिन बनाइएको हुन्छ ।
पछिल्लो समय नागरिकले कुनैपनि सूचना तथा जानकारी लिन सम्वन्धीत कार्यालयको वेवसाइट, फेसबुक पेज तथा कुनैपनि सामाजिक संजालको प्रयोग गर्ने गरेको पाइन्छ । तर जिल्ला समन्वय समितिले भने वेवसाइटमा रहेका ९ वटै खण्डमा पुराना सूचनाहरु मात्रै राखेको छ। २०७३ साल साउन २५ गते पछाडी कुनैपनि सूचना तथा जानकारी समितिको वेवसाइटमा अपलोड भएको देखिदैन ।
जिल्लालाई नै अनुगमन गर्ने निकायलाई अन्य कुनै संस्थाले अनुगमन गर्नुपर्ने अवस्था आएको देखिन्छ ।

वेवसाइटको वार्षिक प्रगति प्रतिवेदन खण्डमा आर्थिक वर्ष २०७३/०७४ को प्रतिवेदन २०७३ साउन २५ गते अपलोड भएपछिका दिनदेखि उक्त खण्ड रित्तै छ । जवकी अहिले आर्थिक वर्ष २०७८/०७९ हो । अव केही महिना मात्रै जनप्रतिनिधिको समय सकिन वाँकी छ ।
त्यस्तै हालत छ चौमासिक प्रगति प्रतिवेदन खण्डमा पनि । जहाँ २०७४ जेठ ७ गते सोही वर्षको वैशाख महिनाको प्रतिवेदन अपलोड गरेपश्चात रित्तै छ । लेखा परीक्षण प्रतिवेदन खण्डमा २०७२ साउन १० मा आन्तरिक लेखा परीक्षण प्रतिवेदन २०७२/०७३ मात्रै अपलोड छ ।
जिल्लाकै अनुगमन गर्ने महत्वपूर्ण जिल्ला समन्वय समितिले आफ्नो वेवसाइटमा एक पटक पनि अनुगमन प्रतिवेदन अपलोड गरेको देखिदैन । जनतालाई सरकारी निकायका सवै सूचना पारदर्शी गराउने र विकास निर्माणका सवै गतिविधि छर्लङ्ग पार्ने कसम खाएका उनीहरुले सार्वजनिक सुनुवाई पनि गरेको पाइदैन । उक्त खण्डमा २०७२ साल साउन महिनाको अन्तिम प्रतिवेदन लेखिएको सामाग्री वाहेक केही पाइदैन ।
यस्तै सामाजिक परीक्षण महलमा आर्थिक वर्ष २०७२/०७३ पछि कुनै पनि प्रतिवेदन सार्वजनिक भएको देखिदैन ।
जिल्ला समन्वय समितिले नागरिक वडापत्र समेत राखेको छैन । उक्त खण्डपनि रित्तै रहेको छ ।
लाजमर्दो कुरो त के छ भने देश संघीयतामा गएर नयाँ संविधान जारी पछि जिल्लामा एक गाउँपालिका, एक महानगरपालिका र पाँच नगरपालिका घोषणा भइसक्दा पनि जिल्ला समन्वय समितिको वेवसाइटमा गाविसहरुकै मात्र विवरण पाइन्छ । तर त्यही गाविस प्रोफाइल भित्र गएर हेर्दा रित्तै छ ।

जनप्रतिनिधि वाहेक करिव १४ जना कर्मचारी रहेको समन्वय समितिको वेवसाइटमा अहिले पनि कार्यालय सहायक समेत गरी जम्मा सात जना कर्मचारीको मात्रै विवरण राखिएको छ । अझ अचम्मको कुरा त के छ भने वेवसाइटमा दुई जना सूचना अधिकारीको तोकिएको छ । तर वेवसाइटमा नयाँ सूचना भने केही पाइदैन ।
त्यस्तै त्यहाँ राखिएको टेलिफोन नम्वर समेत परिवर्तन भइसक्दापनि जिल्ला समन्वय समितिले नयाँ टेलिफोन अपडेट गर्न सकेको छैन।
ज्यष्ठ नागरिक भत्ता प्रति महिना चार हजार पुगिसकेको कयौँ समय भइसक्दा पनि जिल्ला समन्वय समितिको वेवसाइटमा भने प्रति महिना रु. ५ सय नै उल्लेख छ।

नियममा के छ ?
जिल्ला समन्वय समितिको व्यवस्था गर्न वनेको विद्येयकको परिच्छेद तीनको दफा ८ वमोजिम उल्लेख भएअनुसार जिल्लाका विकास निर्माण देखि सम्पूर्ण कार्यहरुको अनुगमन गर्ने गराउने भन्ने छ । तर उसैको अनुगमन गर्नुपर्ने अवस्था देखिएको हो ।
त्यस्तै वागमती प्रदेशले जारी गरेको जिल्ला समन्वय समितिको अन्य काम कर्तव्य र अधिकार सम्वन्धी नियमावली २०७५ को धारा ३ को ठ मा ‘जिल्ला सूचना तथा अभिलेख केन्द्रको स्थापना र संचालन गर्ने’ भन्ने उल्लेख छ ।
जिल्ला समन्वय अधिकारी चुडामणी शर्मा गौतमले वेवसाइट निर्माण गर्ने कम्पनी सम्पर्कमा नभएको र आफूसँग सो सम्बन्धी विज्ञ जनशक्ति नहुँदा नयाँ सूचना अपलोड गर्न नसकिएको स्वीकारे ।
यता सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्मालाई यस सम्बन्धमा के हो भनी सम्पर्क गर्दा उनले आफू जिल्ला समन्वय समितिमै रहेको र सच्याउन तथा अपटेड गर्न लगाउने बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८