• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

सामान्य यात्रु सहायता कक्षको उद्घाटन गर्न पनि चितवनका सीडिओ !


सामान्य यात्रु सहायता कक्षको उद्घाटन गर्न पनि चितवनका सीडिओ !

‘वर्षेनी यसरी चाडवाडमा तयार गरिने यात्रु सहायता कक्षले केही यात्रुलाइ सहायता पुर्याएको भने देखिन्छ । तर सीमित प्रहरी र प्रशासनले मात्रै यो काम सम्भव छैन । यसमा यात्रु स्वयम्, यातायात व्यवसायी र आम नागरिकले चनाखो हुनु आवश्यक देखिन्छ ।’

केपी शर्मा- असोज ९, २०७८

चितवनमा भर्खरै आएका प्रमुख जिल्ला अधिकारीले शनिवार नारायणगढको पोखरा वसपार्कमा यात्रु सहायता कक्ष (वीट) को उद्घाटन गरे ।

विगत देखिनै चाडपर्व लक्षित गर्दै प्रहरीले यस्ता सहायता कक्षाहरु संचालनमा ल्याएको पाइन्छ । तर सहायता कक्ष संचालनमा ल्याइएपनि वर्षेनी यात्रुहरुले चाडवाडमा धेरै किसीमका समस्याहरु झेल्दै आएका छन् ।
प्रहरीले कुनै वर्ष पनि यात्रु सहायता कक्षबाट कति यात्रुलाइ सहायता प्रदान गरियो भन्ने एकीन तथ्याङ्क बाहिर ल्याउन सकेको देखिदैन।

चाडपर्व आएमात्रै वर्षेनी यस्ता सहायता कक्षहरु स्थापना गर्ने प्रहरीले अन्य समय खासै चासो दिएको पाइदैन । त्यसमा पनि सामान्य सहायता कक्ष निर्माण गर्न पनि प्रहरीले दाता पर्खिएर बसिरहेको हुन्छ । दाताले सहयोग गर्नु आफैमा नराम्रो त होइन तर दाताले बनाइदिएको सहायता कक्षको तामझामका साथ गरिएको उद्घाटनका दृश्य भने अस्वभाविक देखिन्छन् । जुन आज देखिएको थियो ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले निर्माण गरिदिएको यात्रु सहायता कक्षको चितवनका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले रिवन काटेर उद्घाटन गरे । सामान्य सहायता कक्षको उद्घाटनमा पनि जिल्लाको सीडीयो, प्रहरीका प्रमुख,सशस्त्रका प्रमुख, अनुसन्धान अधिकृतको लहरैको भीडले कतै काम भन्दा बढि उद्घाटन मोह र प्रचारप्रसारको होडवाजी त होइन भन्ने देखिन्छ । उनी चितवन सरुवा भएर आएपछि सम्भवत उद्घाटनको पहिलो कार्यक्रम यो नै हुन सक्छ ।

प्रमुख जिल्ला अधिकारीलेनै उद्घाटन गरिसकेपछि यो कामले कतिको निरन्तरता र प्रहरीले कुन तरिकाले सक्रियता देखाउँछ भनेर धेरैले चासो राखेको पाइन्छ । किनकी वर्षेनी बनाइने यात्रु सहायता कक्षबाट सेवाग्राहीले प्रभावकारी सेवा पाएको भने प्राय भेटिदैन । यसलाई प्रहरी प्रशासनले चुस्त ढंगबाट यात्रुहरुका पीरमर्का बुझ्ने काम गर्नुपर्ने चुनौति देखिन्छ ।

आज उद्घाटन् गरिएका यात्रु सहायता कक्ष (वीट) भरतपुरको तीन ठाउँमा राखिने ट्राफिक प्रहरी चितवनका प्रमुख प्रहरी निरीक्षक भगवान थापाले बताए । उनका अनुसार पोखरावसपार्क, पुल्चोक र केन्द्रीय बस टर्मिनल भित्र यसका वीटहरु राखिनेछन् ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले यातायात व्यवसायी, चालक तथा कर्मचारीहरुले आफ्नो अनुशासन कायम गरे कसैले दुःख नपाउने बताए । उनले भने,“मकवानपुरमा बसेर काम गरेँ । हामीले धेरै ठूला कुरा गर्छौँ, कानून बुझेको पनि भन्छौँ तर व्यवहारमा लागू गर्दैनौँ।”

यदि बुझेको कुरा थोरै पनि व्यवहारमा लागू गर्न सके आधा समस्या स्वतह समाधान हुने उनले बताए । यस्ता कुरामा प्रशासनले मात्रै ध्यान दिएर नपुग्ने भन्दै यात्रुहरुलाई सहायता दिन यातायात व्यवसायी , प्रशासन, प्रहरी र आम नागरिकको उत्तिकै भूमिका रहने उनको भनाई थियो ।

त्यस्तै चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले भने,“हामीहरु बर्दीका प्रहरी हौँ । हामी वाहेक अरु सवै विना वर्दिका प्रहरी हुन् । त्यसैले सवैको सहयोग र सहकार्य आवश्यक छ ।”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले केन्द्रले बढाएको भाडा समेत आफूहरुले लिन नपाएको गुनासो गरे ।

केन्द्र र स्थानीय तहको तालमेल नमिल्दा आफूहरु मारमा परेको भन्दै कहाँ कसले कति भाडा तिर्ने र लिने भन्ने अन्यौलता सृजना भएको भन्दै समस्या समाधान गर्न सीडीओसँग अनुरोध गरे । साथै उनले अव कोरोना भन्ने जन्तु देख्न नपरोस भनी कामना समेत गरे ।
कार्यक्रममा भरतपुर १० का वडाअध्यक्ष अरुण पीडित भण्डारी लगायतले बोलेका थिए ।

  • प्रकाशित मिति : असोज ९, २०७८, शनिवार १३:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८