• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

संवैधानिक इजलासमा बस्ने कि राजीनामा दिने ?

  • खबरदाता

संवैधानिक इजलासमा बस्ने कि राजीनामा दिने ?

‘सर्वोच्च अदालत प्रशासनले नै सोमबार एक लिखित जवाफमार्फत् प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासको परिकल्पना संविधानमा नगरिएको र प्रधानन्यायाधीश त्यसबाट अलग हुनै नसक्ने स्पष्ट अडान प्रस्तुत गरेको छ । प्रधानन्यायाधीशबिना संवैधानिक इजलास बस्न पनि नसक्ने लिखित जवाफमा उल्लेख छ।’

असोज ५,२०७८
काठमाडौँ । प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्ने कि नबस्ने भन्ने विषयले स्वयं चोलेन्द्रशमशेर राणाका लागि वार कि पारको अवस्था आएको छ । सर्वोच्च अदालत प्रशासनले नै सोमबार एक लिखित जवाफमार्फत् प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासको परिकल्पना संविधानमा नगरिएको र प्रधानन्यायाधीश त्यसबाट अलग हुनै नसक्ने स्पष्ट अडान प्रस्तुत गरेको छ । प्रधानन्यायाधीशबिना संवैधानिक इजलास बस्न पनि नसक्ने लिखित जवाफमा उल्लेख छ ।

अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालको एकल इजलासको आदेशअनुसार सर्वोच्च अदालत प्रशासनका तर्फबाट रजिष्ट्रार नारायण पन्थीले लिखित जवाफ पेश गर्दै प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास सञ्चालन गर्ने भनी कुनै निर्णय नभएको पनि स्पष्ट पारेका छन् । यसअघि प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासबाट अलग हुने बताएको प्रचार गरिएको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकार छँदा अध्यादेश ल्याएर संवैधानिक परिषदबाट भएका नियुक्ति बदरको माग गर्दै परेको रिटको सुनुवाइका क्रममा प्रधानन्यायाधीश संवैधानिक इजलासबाट अलग हुनुपर्ने माग उठेको थियो । इजलासमा निवेदक पक्षले नै यो माग गरेपछि प्रधानन्यायाधीश राणाले आफू अलग हुने बताएको प्रचार गरिएको थियो । त्यसलगत्तै सर्वोच्चमा अर्को रिट परेपछि न्यायाधीश हरि फुयालको इजलासले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थिति बाध्यात्मक हुने कि नहुने भन्ने व्याख्या गर्नुपर्ने भएकाले तत्काल संवैधानिक परिषदसम्बन्धी विवादको सुनुवाइ अघि नबढाउन आदेश गरेको थियो । यही रिटमा जारी आदेशअनुसार नै सर्वोच्च अदालतले प्रधानन्यायाधीश संवैधानिक इजलासमा हुनैपर्ने स्पष्ट पारेको हो ।

यो जवाफ सर्वोच्च अदालत प्रशासनले दिएको भनिए पनि विशुद्ध कर्मचारीको धारणा मात्र होइन । धेरै न्यायाधीश र उच्च अधिकारीहरुबीच छलफल भएपछि यो जवाफ तयार भएको हो । न्याय परिषदबाट पनि यस्तै जवाफ सर्वोच्चमा दर्ता भएको छ । मुलुकको न्यायालयसम्बन्धी दुई सर्वोच्च संस्थाले नै प्रधानन्यायाधीश संवैधानिक इजलासमा हुनैपर्ने भनिसकेपछि अब जस्तोसुकै इजलास गठन गरे पनि यसभन्दा भिन्न खालको फैसला गर्ने सम्भावना न्यून छ ।

यदि प्रधानन्यायाधीश बस्न नमिल्ने आदेश वा फैसला आएमा राणा पदमा बसिरहनु उचित हुने छैन । किनभने, देशको प्रधानन्यायाधीशजस्तो उच्च नैतिक र सम्मानीत पदमा भएको व्यक्ति पदेन हैसियतमा संवैधानिक परिषदको बैठकमा जान्छन् र त्यसबाट भएका निर्णय अदालतबाट उल्टिन्छन् वा उनको उपस्थिति नै अवैध ठहरिन्छ भने त्यो ठूलो नैतिक प्रश्न हो ।

संविधानका अक्षर र भावना हेर्ने हो भने पनि प्रधानन्यायाधीशबेगरको संवैधानिक इजलासको परिकल्पना पनि गर्न सकिँदैन । प्रस्ट र बाहिरी आँखाले नै देख्न सकिने कुरामा पनि सर्वोच्च अदालतको कुनै इजलासको फरक दृष्टिकोण आएमा राणा पदमा बसिरहन मिल्ने देखिँदैन । त्यसकारण राणाले वार कि पारको निर्णय गर्नुपर्ने बेला आएको छ ।

यतिखेर न्यायालयलाई विवादित बनाइरहन र प्रधानन्यायाधीश राणामाथि व्यक्तिगत रुपमा पनि आक्रमण बढाउन केही शक्ति र स्वार्थकेन्द्रहरु लागिपरेका छन् । यसो गर्न सकेमा न्यायालयमाथि आफू हावी भएको सन्देश प्रवाह गरी व्यवसाय चलाउने र न्याय क्षेत्रमा पनि भयको व्यापार गर्ने दाउ त्यस्ता शक्ति र समूहको हुन सक्छ । यसतर्फ पनि चनाखो भएर प्रधानन्यायाधीश राणाले मौजुदा विवादको विवेकपूर्ण निरुपण गर्नुपर्ने देखिन्छ ।अहिलेसम्मका कतिपय घटना हेर्दा राणाले स्वतन्त्र न्यायालय र न्यायिक प्रक्रियामा बदनियतपूर्ण तवरले गरिएका हस्तक्षेपको दृढतापूर्वक प्रतिवाद गर्न सकेको पाइँदैन ।

खासगरी संवैधानिक इजलासमा कुनै न्यायाधीशविशेष रहने कि नरहने भनेर मुद्दाका पक्षहरुले उठाएका प्रश्नको प्रधानन्यायाधीश राणाले दृढतापूर्वक प्रतिवाद गर्न नसकेका कारण अहिले उनी स्वयंमाथि यो प्रश्न उठेको हो भन्दा अत्युक्ति हुनेछैन । मुद्दाका पक्षहरुले अमुक न्यायाधीशको निष्ठामाथि प्रश्न उठाएकै भरमा पटकपटक इजलास संरचना नै हेरफेर गर्न तयार हुँदा तिनको मनोबल बढ्दै गएको देखिन्छ । तिनलाई ठेगान लगाउन र त्यस्ता तत्त्वहरुबाट न्यायालयको सम्मान, गरिमा, निष्पक्षता र विश्वसनीयता जोगाउनका लागि भए पनि प्रधानन्यायाधीश राणाले गैरसंवैधानिक माग खारेज गर्न सक्नुपर्छ । यति मात्र होइन, न्यायालय एवं न्यायिक नेतृत्वलाई विवादमा तान्नेहरुलाई कडाभन्दा कडा कारवाही गर्नुपर्छ । संविधानवाद जोगाउनका लागि यति गर्न नसकेमा प्रधानन्यायाधीश राणा पदमा बसिरहनुको औचित्य हुने छैन ।

  • प्रकाशित मिति : असोज ५, २०७८, मंगलवार ००:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८