भदौ २७,२०७८
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को शनिवार बसेको स्थायी कमिटी बैठकमा संसदीय मर्यादादेखि संशोधन बजेटबारेमा छलफल भएको थियो। आफू सत्ताबाट बाहिरिएपछि संसद चल्दै नदिने योजना बनाएको एमालेले शुक्रबार प्रतिनिधिसभा बैठक बिथोल्न निकै प्रयास गरेको थियो । तर बिरोधकै बाबजुद नेपाली कांग्रेस नेतृत्व गठबन्धन सरकारले प्रतिस्थापन विधेयक मार्फत बजेट ल्याएपछि सरकारविरुद्ध नयाँ रणनीति बनाउन शनिवार स्थायी कमिटी बैठक बोलाइएको थियो ।
शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनको नयाँ मिति तय गर्नेदेखि प्रतिनिधि संख्या तोक्ने निर्णय गरेको छ भने आफूहरुको बिरोधकैबीच प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सञ्चालनकाबारेमा गम्भीर छलफल भएको एक स्थायी कमिटी सदस्यले बताए ।
विपक्षी दलमाथि बल मिच्याईँ
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमाथि बलमिच्याईँ गरेर सत्ता गठबन्धन अघि बढेको स्थायी कमिटी बैठकले निश्कर्ष निकालेको छ । बैठकले एमालेको विरोधका बावजुद प्रतिस्थापन विधेयक ल्याउने काम गरेर नेकपा ९एमाले० लाई बलमिच्याइँ गरेको निष्कर्ष निकालेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
बिरोधकैबीच प्रतिस्थापन विधेयक ल्याउने काम अशोभनिय भएको उनले बताए । आफ्नो सरकारले ल्याएको लोकप्रिय बजेटको कटौती गरेर कुनै सल्लाह नै नगरी हचुवाको भरमा कार्यक्रम थपेको उनले आरोप लगाए ।
सभामुखको भूमिकाप्रति आलोचना
एमालेले संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति पनि आलोचना गरेको छ । पार्टी फुटाउन सभामुखले अध्यादेश ल्याएको भन्दै एमाले नेताहरु सभामुख सापकोटाप्रति रुष्ट छन् ।
संसद बैठकबस्नुभन्दा केही दिनअघिको एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटालाई ‘आँपे’ गाली गर्दै संसदको कुनै नम्स नबुझेको भनी टिप्पणी गरेका थिए ।
उनले प्रतिपक्षी दल कस्तो हो भनी देखाइदिनेसमेत घोषणा गरेका थिए । त्यही तयारीका साथ संसदमा उपस्थित भए पनि सभामुख सापकोटाले संसद सूचारु गर्दै सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने वातावरण बनाइदिए ।
एमाले फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै आएको एमालेको स्थायी कमिटीमा पनि सभामुखको आलोचना भएको छ । सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको बैठकपछि एमाले सचिव भट्टराईले आरोप लगाए ।
अहिले सडकमा भइरहेको शान्तिपूर्ण आन्दोलनहरुमाथि पनि सरकारले अनावश्यक धरपकड गरेकाले स्थितिलाई उत्तेजित नबनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको भट्टराईले जानकारी दिए ।
मर्यादा सिकाउन दलको बैठक आह्वान
प्रतिनिधिसभा बैठकमा एमालेको बिरोधकाबीच संसद बैठक चलेको मात्र नभई बैठकमा एमाले सांसदहरुले पनि मर्यादा नाघेको भन्दै आलोचना भइरहेको छ ।
संसदमा एमालेले नाराबाजी गरिरहँदा केही सांसदहरुको सांसदको बुइ चढेर मर्यादापालकलाई नाघ्ने कोशिश गरेका थिए । संसदीय मर्यादा पालना गर्ने सन्दर्भमा आफ्ना सांसदहरु चुकेको नेताहरुले निश्कर्ष निकालेका छन् ।
एमालेले आइतबार संसदीय दलको बैठक पनि बोलाएको छ । सभामुखको भूमिकालाई लिएर संसदमा विरोध गरिरहेको एमालेले विरोधका सीमा र संसदीय मर्यादा कायम गर्नेबारेमा स्पष्ट गर्न संसदीय दलको बैठक बोलाइएको एमाले सचिव भट्टराईले बताए ।
विधान महाधिवेशनको प्रतिनिधि टुङ्गो
प्रमुख प्रतिपक्षी दल एमालेले विधान महाधिवेशनको नयाँ मिति तग गर्दै प्रतिनिधिको संख्या टुङग्याएको छ । आगामी असोज १५ गतेदेखि काठमाडौंमा गर्ने निर्णय गर्दै विधान महाधिवेशनमा करिब तीन हजार प्रतिनिधिले भाग लिने निर्णय गरेको सचिव भट्टराईले जानकारी दिए ।
एमालेको विधानमा महाधिवेशनमा विधान परिषद्का सदस्यले भाग लिने व्यवस्था गरिएको भए पनि परिषद् सदस्य रिक्त छ ।
विधान महाधिवेशनमा केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्य, केन्द्रीय आयोगहरुका सबै पदाधिकारी र सदस्य, विभागबाट १५ जना, सबै जनवर्गीय संगठनबाट १०–१० जना राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशका सांसदहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु, प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिला सहभगि हुने छ् ।
एक पुरुष र एक दलित, स्थानीय तहका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको सहभागिता गराउने निर्णय भएको छ । दश प्रतिशत प्रतिनिधिहरु भने केन्द्रीय कमिटीले मनोनित गर्नेसमेत वैठकले निर्णय गरेको सचिव भट्टराईले जानकारी दिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८