भदौ ५, २०७८
केही समय अघिसम्म शक्तिशाली कम्युनिष्ट सरकारको प्रमुख सत्तारुढ दल बनेको नेकपा एमाले अहिले छिन्नभिन्न बन्न पुगेको छ ।
दुई शीर्ष नेताहरुको व्यक्तिगत टकराबले गर्दा पार्टी नै टुक्रिन पुग्यो । दल विभाजन सम्बन्धी अध्यादेश आएकै दिन नेपा माधव कुमार नेपालको समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिइसकेका छन् ।
आयोगले सनाखतका लागि पर्सी ९ गते बोलाएको छ । त्यसपछि आयोगले नयाँ दलको टुंगो लगाउनेछ । औपचारिक रुपमा टुक्रिएको पार्टीलाई अझै एक गराउन सकिन्छ कि भनेर केही नेताहरु लागि परेका छन् । यो प्रयास अब नगर्दा पनि हुन्छ । छुट्टिनै सकेको पार्टीलाई एकता गराउन खोजिए पनि त्यो लामो समयसम्म टिक्दैन ।
किन भने भर्खर मुक्त भइयो भने जसरी नेता माधव नेपाल खुशी नै देखिएका छन् । कम्तीमा पनि अब आउने निर्वाचनसम्म एकताका लागि लचक हुने छाँटकाँट देखिदैन । निर्वाचनको परिणामले नै एकताको निर्धारण गर्नेछ । अब नेता नेपाल नेतृत्वको दल मिल्यो भने पनि ओलीसँग नभई प्रचण्डको पार्टीसँग गाभिन सक्ने सम्भावन बढी देखिन्छ ।
ओलीसँग समान हैसियत माग्दै आएका नेता नेपाल अब ओली बराबरको अध्यक्ष भएका छन् । यसरी छुट्टिदाँ कतिपयले संधै किचलो गरेर बस्नु भन्दा राम्रो नै भएको रुपमा हेरे पनि राजनीतिको उत्तरार्धमा आएर नयाँ दल खाल्नुको कुनै तुक नभएको बताउँछन् । यसरी दलको संख्या थपिनु सरकार बनाउने र भत्काउन संख्या पु¥याउने बाहेक अर्को उज्वल भविष्य देखिदैन ।
दल टुक्रा हुँदा खेरी अवश्य निर्वाचनमा बढी असर पर्नेछ ।एमालेमा तेस्रो धारको रुपमा रहेको समूहले एकताको प्रयास जारी राखेको हो । भीम रावल नेतृत्वको सो समूहले संथापन पक्षलाई १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। । त्यस्तै नेता नेपाल पक्षले निर्वाचन आयोगमा जारी दल दर्ताको प्रक्रिया स्थगित गर्न आग्रह गरेका छन् ।
१० बुँदे सहमतिको कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई कार्यदलले आग्रह गरेको समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिन हतार गर्दै दल विभाजनको अध्यादेश ल्याएर नेपाल पक्षलाई सहयोग गरेको हो ।
नेकपा एमालेको कुनै पक्षमा नलागेका ५७ जना नेताहरूको पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिने निष्कर्ष निकालेका छन् । हिजोसम्म नेता नेपाल पक्षमा लागेका उनीहरु पार्टी विभाजनको कुरा उठ्न थालेपछि कतै पनि नलागेर तटस्थ बसेका हुन् । अध्यक्ष ओलीलाई सकेसम्म गलाउने र नेपालको पार्टीको गतिविधि हेरेर कतापट्टी लाग्ने भन्ने निर्णय गर्नेछ ।
भारतमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई आफ्नो पूर्ण साथ र सहयोग रहने बताएका छन् । पूर्वप्रधानमन्त्री खनालको कित्ता पनि क्लियर भएको छ । आयोगले निर्णय दिने वित्तिकै नेपाल समूह शक्तिशाली मन्त्रालयसहित सरकारमा जान खुट्टाउचालेर बसेको छ ।
प्रधानमन्त्री देउवाले पनि नेता नेपालकै लागि भनेर सरकार विस्तार गर्न कुरेर बसेका छन् । देउवा सरकार गठन भएको एक महिना पूरा भईसकेको छ । अब केही दिनमा नै विस्तार हुने बताइएको छ । नेपाल नेतृत्वको पार्टीबाट को को मन्त्री बन्लान् त्यो त केही दिनमा नै देखिनेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८