भदौ ३,२०७८
नेकपा एमालेलाई फुटाई छाड्ने कसम खाएका माधव नेपालले अन्ततस् माछो–माछो भ्यागुतोको अवस्थामा पुगेका छन् । पार्टीभित्रै हुकुमीकरणको विरोध, विधि, पद्धति र शुद्धीकरणको पक्षमा नारा लगाएर ठूलै पार्टी पंक्तिलाई उनले उद्वलित बनाएका भए पनि अन्ततस् उनी नराम्रोसँग एक्लिएका छन् । विस्तारै उनको असलियत बाहिर आउन थालेपछि प्रभावशाली र विश्वासिला नेताहरूको पंक्तिले अन्तिम अवस्थामा साथ छाडेको छ ।
आसलाग्दा र भविष्य भएका नेताहरु माधव नेपालसँग सती जान तयार भएनन् । सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, गोकर्ण विष्ट, ठाकुर गैरे, रघुजी पन्तलगायतले साथ छाडेपछि नेपाल समूह अन्ततस् नेताविहीन बन्न पुगेको छ । लालबाबु यादव, शेरबहादुर तामाङ, उषाकला राई, गणेश पहाडी, कृष्णचन्द्र पोखरेल, विष्ण रिजाललगायतले यसअघि नै नेपालको साथ छाडेर एमाले संस्थापनमा समाहित भइसकेका हुन् ।
साविक एमालेका ५८ जना केन्द्रीय सदस्यले मात्र नेपाललाई साथ दिएका छन् । यो संख्या नेकपा एमालेको २०७५ जेठ ३ मा माओवादीसँग एकता गर्नुपूर्वको २ सय ४१ सदस्यीय केन्द्रीय समितिको जम्मा २४ प्रतिशत मात्र हो । यीमध्ये पनि प्रदीप नेपाल, भानुभक्त जोशी, कृष्ण खनाल, नरेश खरेल, रमा आले र सुधीर साहले आफ्नो सहमतिबिनै नाम राखेको र नेपालसँग नजाने बताइसकेका छन् । यसरी थप केही संख्या घट्दै जाने हो भने अध्यादेशबाट संशोधन गरिएको न्यूनतम संख्या पनि पुग्न मुस्किल छ ।
यता संसदीय दलमा त झन् २० प्रतिशत पनि नेपालले पुर्याउन सकेका छैनन् । प्रतिनिधि सभाका १ सय २१ जना एमाले सांसदमध्ये जम्मा २२ जना मात्र नेपालतिर खुलेका छन् । यो करिब १८ प्रतिशत मात्र हुन्छ । संसदीय दल र केन्द्रीय समिति दुवैमा २० प्रतिशतभन्दा कम सांसद हुँदा नेपालले दर्ता गर्न खोजेको पार्टीले नै मान्यता नपाउने सम्भावना छ ।
ठूल्ठूला प्रभावशाली नेताहरुले नेपालको साथ छाडेपछि प्रदेश र जिल्ला तहका पनि धेरै नेता तथा कार्यकर्ता केपी शर्मा ओलीले नेतृत्व गरेको एमालेमै रहने भएका छन् । यसले एमाले पुरानै अवस्थामा जीवित रहने र माधव नेपाल एक्लै पतन हुने निश्चित भएको छ ।
माधव नेपालको पार्टीले मान्यता पाए पनि संसदको सबैभन्दा ठूलो दल ओली नेतृत्वको एमाले नै हुनेछ । एमालेले चाहेमा कुनै पनि संवैधानिक पदाधिकारीका विरुद्ध महाभियोग लाग्न सक्ने छ भने सत्ता गठबन्धनले महाभियोग लगाउन खोजेमा एमालेले रोक्ने सामर्थ्य राख्दछ । सत्ता गठबन्धनको अंकगणितमा केही मात्र तलमाथि गर्न सके जुनसुकै बेला देउवालाई विस्थापित गरी ओली बालुवाटार प्रवेश गर्न सक्नेछन् ।
महन्थ ठाकुर नेतृत्वको समूहले १३ जना सांसदसहित नयाँ पार्टीको मान्यता प्राप्त गरेमा ओली झनै बलिया बन्नेछन् । किनभने, देउवा सरकारलाई समर्थन गर्नु ठाकुरको एउटा तत्कालीन बाध्यता मात्र थियो । जब उनी आफ्नो समूहलाई पार्टीकै हैसियतमा कायम राख्न समर्थ हुन्छन्, त्यतिखेर सत्ताको खेलमा ओलीतिरै उभिन्छन् । यसले पनि ढिलोचाँडो शक्तिको पल्लाभारी ओलीतिरै हुने संकेत गर्दछ ।
माधव नेपालको राजनीतिक पतन त भयो नै, एमाले फुटाउने सर्तमा विभिन्न दृश्य–अदृश्य शक्तिकेन्द्रले गरेको लगानी पनि खेर गरेको भएको छ । दृश्य रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको लगानी नेपालमाथि बढी थियो । त्यस्तै केही व्यापारिक घरानाको पनि यस्तो लगानी हुन सक्ने आकलन गरिएको छ । त्यस्तै लिम्पियाधुराको नक्सा जारी गरेपछि ओलीसँग रुष्ट बनेको शक्तिले पनि माधव नेपालमाथि ठूलै लगानी गरेको भए पनि अन्ततस् त्यो पनि बालुवामा उपलब्धिहीन भएको छ । सबैभन्दा ठूलो कुरा के भने माधव नेपालको यो कुण्ठा र प्रतिशोधको राजनीतिले जीवनको उत्तरार्धमा कलंकको टीको लागेको छ । एमाले अध्यक्ष ओलीप्रति झन् बढी सहानुभूति र समर्थन बढेको छ । एमालेका शुभचिन्तकहरु अब ओलीतिरै ढल्किएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८