ओलीसँग मिल्दा राजनीतिमा रित्तो भए ठाकुर 

  • खबरदाता
  • असार २३, २०७८

असार २३,२०७८

काठमाडौं ।सत्ता समीकरणका दौरानमा दुई धारमा विभाजित जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्रको विवाद थप चुलिँदै गएको छ ।

ओलीले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सुरु भएको विवाद फुटको चरणमा पुगेको हो। अब पार्टीको विवाद निर्वाचन आयोगले कानुनी रूपमै टुङ्ग्याउने भएको छ।उपेन्द्र यादव पक्षले सार्वजनिक गरेको एकताका सर्त ठाकुर पक्षले अस्वीकार गरेको छ।दुबै पक्ष मङ्गलवार अब एकै ठाउँमा बस्न नसक्ने निष्कर्षमा पुग्दै विभाजनसम्बन्धी प्रक्रियामा अगाडि बढाउन राजी भए।

ओलीसँग मिल्दा राजनीतिक रूपमा ठाकुर समूह रित्तो भएको छ । १७ दिन सरकारमा सहभागी हुुँदा केही थान मुद्धा फिर्ता भए होलान् तर मधेशको चासो नागरिकता अध्यादेश खारेज हुँदा उसलाई नराम्री झड्का लागेको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको समूह र अर्का अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको समूहले निर्वाचन आयोगमा आधिकारिकतालाई लागि दिएको निवेदनमा केही समयअघि दुवै समूहलाई आधिकारिकता दिइएको थिएन ।

पछि दुवै समूहले आधिकारिकता दावी गर्दै आयोगलाई थप ध्यानाकर्षण गराएका थिए । जसपाको विवाद निरुपण सन्दर्भमा आयोगले मंगलबार जसपाका यादव र ठाकुर दुवैसहितका नेतालाई बोलाएर छलफल गरेको छ । पार्टीको आधिकारिकता विवाद हल गर्न आयोगले बोलाएको संयुक्त बैठकमा दुवै पक्षका नेता विभाजित हुन सहमत भएका छन् । जसपाको आधिकारिकताबारे आयोग अब एक साताभित्र इजलास गठन गरी कानून व्यवसायीको परामर्श लिएर ठोस निष्कर्षमा पुग्ने छ ।

जसपाका नेता केशव झाका अनुसार आयोगले दुवै पक्षको धारणा लिएको र त्यसमा उहाँहरुले भिन्नभिन्न रुपमा पार्टीलाई अघि बढाउने अवधारणाका साथ धारणा व्यक्त गर्नुभएको छ । बैठकमा अध्यक्ष यादवले एउटै पार्टी दुई तरिकाले चल्न नसक्ने जनाउँदै अहिलेको अवस्थामा सँगै बस्ने स्थिति नभएकाले आगामी प्रक्रिया चाँडो टुङ्गो लगाइदिन आयोगलाई आग्रह गर्नुभएको थियो ।

अर्का अध्यक्ष ठाकुरले पार्टी एकता आफूहरुको कार्यसूची भएको र परिवर्तनकारी शक्ति, उत्पीडित शक्तिका हितमा पार्टीलाई अघि बढाइने भए पनि त्यस किसिमको वातावरण नरहेको जनाउँदै आयोगले पार्टीको आधिकारिकताबारे चाँडो टुङ्गो दिनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८