• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024

युरोकपको साबिक विजेता पोर्चुगलको सामना गर्दै बेल्जियम


युरोकपको साबिक विजेता पोर्चुगलको सामना गर्दै बेल्जियम

असार १३,२०७८

युरोकप २०२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा आइतबार मध्य राति ९१२ः४५० विश्व फुटबल दुई हेभिवेट टोलीबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको साबिक विजेता पोर्चुगलले फिफा वरीयताको नम्बर एक स्थानमा रहेको बेल्जियमविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

विश्व फुटबलमै आकर्षक छाप राखेको तर मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्न नसकेको टोलीको रूपमा बेल्जियमलाई हेरिँदै आएको छ भने पोर्चुगल कप्तान क्रिस्टियानो रोनाल्डाको भरमा छ । पाँच वर्षअघि पोर्चुगलले पहिलोपटक युरोकप उपाधि उचाल्दा रोनाल्डो नै नायक थिए । यसपटक पोर्चुगलले नकआउट चरण स्थान सुरक्षित गर्दा पनि रोनाल्डो नै टोलीका सारथि बने । गु्रप अफ डेथ समूहमा उत्कृष्ट तेस्रो रहँदै पोर्चुगल अन्तिम १६ मा पुगेको हो ।

पोर्चुगलले आफ्नो समूहमा हंगेरीलाई हराएको थियो । सर्वाधिक तीनपटकको विजेता जर्मनीसँग पोर्चुगल ४–२ स्तब्ध भएको थियो । समूहको अन्तिम खेलमा पोर्चुगलले विश्व च्याम्पियन फ्रान्सलाई २–२ को बराबरीमा रोक्न सफल भयो । यी तीनवटै खेलमा रोनाल्डोले पेनाल्टी गोल गरेका थिए । चालू प्रतियोगितामा रोनाल्डो पाँच गोलका साथ गोल्डेन बुट दाबेदार खेलाडीका रूपमा छन् । पोर्चुगलले प्रतियोगितामा सात गोल गर्दा रोनाल्डो एक्लैले पाँच गोल गरेका छन् । उनले एकपटक गोल असिस्टसमेत गरेका छन् ।

स्टार खेलाडीले भरिएको बेल्जियमलाई नकआउट चरणमा काउन्टर तथा आक्रामक रणनीति विफल पार्न पोर्चुगलका डिफेन्डरले अहिलेसम्मकै उत्कृष्ट खेल प्रस्तुत गर्नुपर्छ । बेल्जियमका स्टार खेलाडीले प्राप्त अवसरलाई गोलमा परिवर्तन गर्ने अवसर खेर फाल्दैनन् । यसकारण पोर्चुगलले विशेषतः इन्टरमिलानका रामेलु लुकाकु, इडेन हजार्ड र केभिन डे ब्रायनेजस्ता खेलाडीलाई मार्किङ गर्नुपर्ने आवश्यकता छ । बेल्जियमले समूह ‘बी’मा सबै तीन खेल जित्दै नकआउट चरणमा स्थान पक्का गरेको हो । रसियालाई ३–०, डेनमार्कलाई २–१ र फिनल्यान्डलाई २–० ले हराउँदै बेल्जियम समूह विजेता बनेको हो ।

हालै सम्पन्न इटालीको सिरिए लिगमा इन्टरमिलानलाई उपाधि दिलाउने क्रममा लुकाकुले उत्कृष्ट खेल देखाएका थिए । उनले चालू प्रतियोगितामा पनि तीन गोल गरिसकेका छन् । उनी पनि गोल्डेनबुटका दाबेदार हुन् । डेनमार्कविरुद्ध दोस्रो हाफमा मैदानभित्र प्रवेश गरेका म्यानचेस्टर सिटीका मिडफिल्डर केभिनले प्रेरणादायी खेल प्रस्तुत गरेका छन् । केभिनको आगमनले बेल्जियमको मध्यपंक्ति थप सशक्त बनेको छ ।

लेस्टर सिटीका योउरी टेलेम्यान्स सम्भवतः पोर्चुगलविरुद्ध खेल्न सक्छन् । खेल अतिरिक्त समयमा जाने सम्भावना भए बेल्जियमले उनलाई मैदानमा उतार्न सक्छ । पेनाल्टी सुटआउटमा उनको प्रदर्शन राम्रो छ । उल्भ्सका डिफेन्डर नेल्सन सेमेडोलाई पोर्चुगलले पहिलो सेटमा खेलाउन सक्छ । समूह चरणको अन्तिम खेलअन्तर्गत फ्रान्सविरुद्ध उनी बेन्चमा बसेका थिए । यो खेलको विजेताले क्वार्टरफाइनलमा इटालीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

हेड टु हेड
बेल्जियम र पोर्चुगल पहिलोपटक मेजर फुटबल प्रतियोगिता भिडन लागेका हुन् । यसबाहेक अन्य अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भने पोर्चुगल बेल्जियमसँग अपराजित छ । सन् १९८९ को विश्वकप छनोटयता पोर्चुगलले बेल्जियमलाई तीन खेलमा हराएको छ । बेल्जियमले दुई खेलमा पोर्चुगललाई रोकेको छ ।

फ्याक्ट्स
बेल्जियम
– रोबर्टो माटिनेजको प्रशिक्षणमा रहेको बेल्जियमले पछिल्लो ५८ मध्ये दुई खेलमा मात्र गोल गर्न सकेन ।
– सन् २०२० को युरोकपमा एक सय ३४ मिनेट मैदानमा बिताएका केभिन डे ब्रुयनेले बेल्जियमले अहिलेसम्म गरेको सातमध्ये तीन गोलमा योगदान दिएका छन् । उनले एक गोल गर्नुका साथै दुईपटक पास असिस्ट गरेका थिए ।

पोर्चुगल
( युरोकप २०२० मा पोर्चुगलले तीन खेलमा ७ गोल गरेको छ । सन् २०१६ मा पोर्चुगलले उपाधि उचाल्दा केवल पाँच गोल मात्र गरेको थियो ।

– पोर्चुगल उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । सन् २००८ मा पोर्चुगलले चार अंक बटुली प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो । नयाँ पत्रीकाबाट

  • प्रकाशित मिति : असार १३, २०७८, आइतवार १२:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८