राष्ट्रपति भण्डारीलाई सक्रिय कार्यकारी बन्ने रहर !

  • खबरदाता
  • असार ०७, २०७८

उनले सरकारसँग संवाद गर्ने पनि प्रधानमन्त्रीसँग हो, अरु कुनै पदाधिकारीलाई प्रत्यक्ष नियन्त्रण र निर्देशन गर्न सक्दैनन् ।

असार ७,२०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा बोलाएर विपद व्यवस्थापनका बारेमा जानकारी लिइन् । सुरक्षा प्रमुखहरुले पनि राष्ट्रपतिको जिज्ञासाबमोजिम भएगरेका विपद, उद्धार तथा प्रतिकार्यका सन्दर्भमा भएगरेका कामकारवाहीको विवरण प्रस्तुत गरे । अन्त्यमा राष्ट्रपतिले प्रभावकारीरुपमा समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिइन् ।

आइतबार राष्ट्रपति भण्डारीले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङसहित अन्य विभागीय अधिकारीहरुलाई बोलाएर कोरोना महामारीका सन्दर्भमा जानकारी लिइन् । एवं रीतले सरकारी अधिकारीले जानकारी दिए र राष्ट्रपतिले अन्त्यमा आगामी दिनको जोखिम कम गर्न प्रतिकार्य योजना बनाई अघि बढ्न निर्देशन दिइन् ।

आमनागरिक महामारीसँगै प्राकृतिक विपत्तिमा परेका बेला राष्ट्रप्रमुखबाट चासो व्यक्त हुनु सामान्यतस् अन्यथा होइन । यस्तो अवस्थामा अहोरात्र खटिने उद्धारकर्मी तथा उपचारकर्मीको हौसला बढाउनु पनि राष्ट्रप्रमुखको कर्तव्य नै मान्न सकिन्छ । तर, राष्ट्रपतिले विभागीय मन्त्री र अन्य अधिकारीहरुलाई पालैपालो शीतलनिवासमा बोलाएर छलफल गर्ने र निर्देशन दिने भूमिकासम्मको परिकल्पना भने नेपालको संवैधानिक व्यवस्थाले गरेको छैन ।

नेपालको राष्ट्रपतिले स्वविवेकले गर्न पाउने काम एउटा पनि छैन । उनले गर्ने हरेक निर्णय मन्त्रिपरिषद वा अन्य निकायको सिफारिसमा मात्र सम्भव छन् । उनले सरकारसँग संवाद गर्ने पनि प्रधानमन्त्रीसँग हो, अरु कुनै पदाधिकारीलाई प्रत्यक्ष नियन्त्रण र निर्देशन गर्न सक्दैनन् । तर, राष्ट्रपति भण्डारी आफै सक्रिय भएर विभागीय पदाधिकारीलाई बोलाएर छलफल र निर्देश गर्न लागेपछि केही गम्भीर सवाल उठेका छन् ।

एक, प्रधानमन्त्री केपी शर्मा ओलीका काममा राष्ट्रपति सन्तुष्ट छैनन् भन्ने उनका गतिविधिबाट बुझ्नुपर्ने हुन्छ । अर्थात्, राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्धमा खटपट भएपछि राष्ट्रपति भण्डारी प्रत्यक्ष रुपमा राज्यका विभिन्न निकायहरुसँग आफै संवाद र निर्देशन गर्न अघि सरेको मान्नुपर्ने हुन्छ । अझ भन्दा राष्ट्रपतिले शीतलनिवासलाई समानान्तर शक्ति अभ्यासको थलो बनाइरहेकी छन् । अब मुलुकको शासन व्यवस्था बालुवाटार वा सिंहदरबारबाट मात्र नभई शीतलनिवासको निर्देशन र नियन्त्रणबाट पनि चल्नुपर्ने भएको छ ।

दुई, राष्ट्रपति भण्डारी संविधानले दिएको भूमिकामा सीमित रहन इच्छुक छैनन् । उनले केही अतिरिक्त सक्रियता देखाउन खोजेकी छन् । मुलुकमा संसद नरहेको र अरु संवैधानिक संस्थाहरु खुम्चिँदै गएको यो असमान्य परिस्थितिमा राष्ट्रपतिले आफ्नो दायरा फराकिलो बनाएर सक्रिय बन्न खोजेको सन्देश उनका गतिविधिले देखाउँछ ।

तीन, राष्ट्रपति भण्डारीले विभिन्न देशका समकक्षीहरुलाई पत्राचार गरी कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेकी थिइन् । चीनले तत्कालै प्रतिक्रिया जनाएर १० लाख थप खोप उपहार दिएको थियो । बाँकी कुनै पनि देशले राष्ट्रपति भण्डारीको पत्रलाई वास्ता गरेन । खासमा परराष्ट्र मन्त्रालय र उसको कूटनीतिक संयन्त्रबाट हुनुपर्ने काम राष्ट्रपति आफै गर्न अग्रसर हुनुलाई त्यतिखेरै धेरैले आश्चर्यजनक भनेका थिए । तर, पछिल्ला अरु घटनाक्रमले भण्डारीमा मुलुकको शासन शक्ति प्रयोगको अतृप्त भोक रहेको र त्यो कुनै न कुनै रुपमा अहिलेको राजनीतिक एवं संवैधानिक रिक्तताका बीच अभिव्यक्त भइरहेको बुझिन्छ ।

त्यसो त राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थमा धेरै अप्रिय कदम चालेको र कतिपय अवस्थामा सहयोगी बनेको आरोप लागिरहँदा त्यसलाई ढाकछोप गर्न अरु लोकरिझ्याइँयुक्त र प्रचारमुखी काममा समय खर्च गरिरहेको भन्नेहरु पनि छन् । यदि यसो हो भने उनको यो भनै अमिल्दो ठस्सा मात्र हो । संविधान, संवैधानिक व्यवस्था, जनभावना र स्वयं आफू रहेको पद एवं संस्थाको गरिमा कायम राख्ने हो भने राज्यका हरेक निकाय आफ्नो थान्कोमा बस्नु नै सबैको हितमा देखिन्छ । राष्ट्रपतिको यो अस्वाभाविक सक्रियतालाई प्रधानमन्त्रीले पनि सीमाबद्ध गर्न सक्नुपर्छ । होइन भने यसले कालान्तरका लागि समानान्तर शक्ति अभ्यासको ढोका खोलिदिनेछ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८