• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

तामाङले पाए क्षतिपूर्ति ! दम्पती नै मन्त्री

  • खबरदाता

तामाङले पाए क्षतिपूर्ति ! दम्पती नै मन्त्री

जेष्ठ २२, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर तामाङलाई दोहोरो क्षतिपूर्ति दिएका छन् । कार्यकालको पहिलो वर्षमै कानुनमन्त्री बनाइएका तामाङ केही समयमै सामान्य बोलीको विवादमा परेर नैतिकता प्रदर्शन गरी राजीनामा दिएका थिए । अरु नेताहरुले पदमा टाँस्सिनका लागि अनेक हर्कत गर्न पनि पछि नपर्ने बेलामा उनले उच्चस्तरको नैतिकता र उदारता प्रदर्शन गरेर पदत्याग गरेका थिए ।

बौद्धिक र इमानदार छवि भएका नेता तामाङ अन्ततः ओलीकै मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री बन्न पुगेका छन् । ओलीले निकै विश्वास गरेर उनलाई महामारीका बेला महत्त्वपूर्ण जिम्मेवारी दिएका हुन्।
यसअघि माधव नेपाल खेमातिर रहेका तामाङ पार्टी विभाजन गर्ने प्रयासमा असहमति राख्दै एमालेको मूल धारलाई रोजेका थिए । तामाङकी श्रीमती उषाकला राई प्रदेश १ मा सामाजिक विकास मन्त्री छन् । उनलाई पनि केही अघि मात्र नियुक्त गरिएको हो ।

अनिल झाको पनि दम्पती नै मन्त्री

सम्पूर्ण परिवार राजनीतिमा होमिएका त धेरै भेटिन्छन् । तर, एकसाथ मन्त्री पद प्राप्त गर्ने अवसर कमैलाई जुरेको हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा रहेका केही सदस्यले भने यो दुर्लभ अवसर प्राप्त गरेका छन् ।

संघीय सरकारमा खानेपानी तथा सरसफाइ मन्त्री बन्ने मौका पाएका जसपाका नेता अनिल झाको परिवारमा पनि दम्पती नै मन्त्री हुने संयोग जुरेको छ । उनकी पत्नी डिम्पलकुमारी झा प्रदेश २ को भौतिक पूर्वाधार राज्यमन्त्री छिन् ।

यसैगरी जसपाको महन्थ ठाकुर नेतृत्वको समूहले यसअघि माओवादीले प्राप्त गरेभन्दा पनि ठूलै भाग हात पारेको छ । एक उपप्रधानमन्त्री, सात मन्त्री र दुई राज्यमन्त्रीसहित १० जनाले एकैपटक सत्तारोहण गर्ने मौका प्राप्त गरेका छन् । संसदीय गणित हेर्दा विघटित प्रतिनिधि सभामा पुग नपुग २० सदस्य भए पनि त्यसको पचास प्रतिशतले मन्त्री बन्ने अवसर पाएका छन् ।

  • प्रकाशित मिति : जेठ २२, २०७८, शनिवार ००:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८