‘नयाँ राजीतिक बाटो तय गरौं’

  • खबरदाता
  • जेठ २१, २०७८

नेकपा (एमाले) का चार जना नेताहरूले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पत्र पठाएर नयाँ राजनीतिक बाटोमा लाग्न आग्रह गरेका छन्।

जेष्ठ २१,२०७८

एमाले पोलिटब्यूरो सदस्यहरू जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र केन्द्रीय सदस्य राजेन्द्र राईले पत्र पठाएर अब नयाँ राजनीतिक यात्राका लागि ढिलो गर्न नहुने जनाएका छन्। नेपाल र खनालसँगै स्थायी समिति सदस्यहरूलाई पठाएको १० बुँदे सुझाव सहितको पत्रमा भनेका छन्, “वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं। नयाँ आधारमा नयाँ राजनीतिक बाटो तय गरौँ र देशलाई प्रतिगमन, राष्ट्रघात, फिजीकरण गर्ने गुरुयोजनालाई परास्त गर्न लागौँ।”

उनीहरूले कम्युनिष्ट आन्दोलनमा विसर्जनवाद र दक्षिणपन्थ हाबी भएको निष्कर्ष निकालेका छन्। जसले गर्दा संघीयता र लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती आएको चार नेताले औल्याएका छन्। “कम्युनिष्ट आन्दोलनमा वर्तमानमा हाबी भएको विसर्जनवाद र दक्षिणपन्थको विरुद्धमा प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिलाई एक गरौं र देशको संघीय, लोकतान्त्रिक गणतन्त्रमाथि आइपरेको चुनौती सामना गर्न देशभरिका लोकतान्त्रिक शक्तिलाई एकताबद्ध बनाउन लागौँ।”

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षबीच फुट ल्याउन चालबाली गरिरहेको उनीहरूको आरोप छ। अब वार्ता कार्यदलको औचित्य सकिएको उनीहरूले जनाएका छन्। उनीहरूले भनेका छन्, “पार्टी एकताको लागि अधिकतम लचकता प्रदर्शन गर्न थप नेताहरूलाई कारबाही नगर्ने भनी गरिएको प्रचार हामीबीच फुट ल्याउने चालबाजी हो भन्ने प्रष्ट नै छ।”

उनीहरूले ओलीले वार्ताको नाटक गरिरहेको दाबी गरेका छन्। “आज रचना गरिएको वार्ताको नाटकले हामीबीचको एकतालाई छिन्न भिन्न गर्ने, राजनीतिक दलहरूसँगको हाम्रो सहकार्य भंग गर्ने र सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको बहसलाई कमजोर पार्ने उद्देश्य  बोकेको छ भन्ने प्रष्टसँग देख्न सकिन्छ,” चार नेताले भनेका छन्।

  • खबरदाता
  • प्रकाशित मिति:जेठ २१, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८