• वैशाख ५, २०८१, बुधवार Wednesday, 17 April, 2024

शुभ तारा स्कुल बन्द , तीस बर्षको इतिहास समाप्त

  • खबरदाता

शुभ तारा स्कुल बन्द , तीस बर्षको इतिहास समाप्त

जेष्ठ १५,२०७८

ललितपुरको महालक्ष्मी नगरपालिकामा संचालित ३२ वर्ष पुरानो निजी क्षेत्रकै प्रतिष्ठित विद्यालय शुभतारा आर्थिक अभावका कारण बन्द भएको छ । स्कुलको संस्थापन निर्देशक रानी गुरुङ कक्षपतिले बिहीबार अबेर राति अभिभावकहरुलाई इमेल लेखेर अगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्नु परेको जानकारी गराएकी छिन् ।

उनले लेखेको इमेल हाल विद्यालयमा अध्ययनरत ३ सय ६५ विद्यार्थी र एक सय १९ शिक्षक कर्मचारीलाई सम्बोधन गर्दै कोभिडका कारण अभिभावकहरुले शुल्क नतिरेको र यस्तो अवस्थामा जबरदस्ती माग्न पनि नसकिने भएकोले शुल्कको लोड विद्यालयमा धेरै हुन गएको र अब आफनो ब्यक्तिगत लगानी गर्न पनि नसकिने भएको उल्लेख गरेकि छिन् ।

हालसम्म २० वटा एसइई ब्याच विद्यालयले सफलता पूर्वक पास गराएको भन्दै उनले स्कुल बन्द गर्नु परेकोमा दुःख ब्यक्ति गरेकि छिन् ।

‘कोभिडका कारण अभिभावकहरुले शुल्क तिर्नु भएको छैन,’ संस्थापक निर्देशक कक्षपतिले इमेलमा लेखेकि छिन्, ‘हालसम्म मैले आफनो निजी २ करोड रकम लोन लिएर विद्यालय संचालन गरे । अब हाम्रो अन्य ब्यापारहरु पनि कमजोर हुँदै गएको छ ।’ उनले थप भनेकि छिन्,‘ अगामी शैक्षिक सत्रदेखि अब हामीले विद्यालय संचालन गर्न सक्ने अवस्था नरहेकोले बन्द गर्नु परेको हो ।’

अब विद्यालय ललितपुरमै रहेको न्यु मिलिनियम विद्यालयसँग गाभ्ने गरी सहमति भएको छ । अभिभावकहरुलाई आफनो नानी त्यही विद्यालयमा पढाउने वा चित्त नबुझे अन्य विद्यालयमा भर्ना गराउन हुन समेत अनुरोध गरिएको छ । विज्ञप्तीमा २० प्रतिशत अभिभावकले मात्र शुल्क नतिरेको जिकिर गरिएको छ ।

स्कुलका प्रशासन प्रमुख प्रवेस खनालले विद्यालयमा कक्षा १ देखि ९ सम्मका सबै परीक्षा तथा आन्तरिक परीक्षाहरु सम्पन्न भई विद्यार्थीलाई नतिजा समेत वितरण गरीसकेकोले नयाँ शैक्षिक सत्रदेखि अभिभावकहरुले आफ्नो रुचि अनुसारको स्कुलमा ढाउन सक्ने बाटो खोलिदिएको जनाए । ‘ शिक्षकहरुलाई समेत स्कुल छनोट गर्न सक्ने अवसर दिएको छ’, प्रमुख खनालले भने, ‘ शिक्षकहरुको वैशाखसम्मको तलब निकासा भएको छ । अब उहाँहरु नयाँ विद्यालयमा जाने वा नजाने आफ्नो रुचि अनुसार जान सक्नु हुन्छ ।’

अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले स्कुलले रात्रि अबेर अचनाक अभिभावकहरुलाई मेल पठाएर स्कुल बन्द गर्ने सूचना इमेल गर्दा अभिभावकहरु अतालिएको बताए । उनले यस्तो कोरोनाको संक्रमणकालमा पनि अभिभावकहरुले शुल्कहरु तिरेकै छन् । यस्तो अवस्थामा अभिभावको लगानीलाई उनीहरुसँग छलफलनै नगरी स्कुलले एकतर्फी रुपमा बन्द वा मर्ज गर्न नमिल्ने जनाए ।

‘केही अभिभावकले नतिरेका होलान् तर अधिकाँसले मासिक शुल्क, वार्षिक शुल्क म्यन्टेनेन्स शुल्क त तिरेकै छन्,’ अध्यक्ष भण्डारीले भने, ‘अभिभावको लगानी पनि त छन् नि विद्यालय बनाउनमा । त्यही भएर सरकारले एउटा समिति बनाएर समस्याको पहिचान गर्नु आवश्यक छ ।’

महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले स्कुलले नगरपालिकामा कुनै जानकारीनै नगराइन एकलौटी रुपमा बन्द गरेको छ । जुन गलत हो । उनले अब लकडाउन खुलेपछि विद्यालयमा उपस्थित भएर छानबिन गरिने जनाए ।

‘हाम्रो नगरपालिकाको विद्यालय संचालन तथा नियमन गर्न छुट्टै शिक्षा ऐन र नीति छ’, मेयर श्रेष्ठले नागरिकसँग भने, ‘ नगरपालिकाभित्र संचालित विद्यालयहरु बन्द वा मर्ज गर्न नगरपालिका शिक्षा विभागको स्वीकृति लिनु पर्छ ।’ उनले थपे, ‘ लकडाउन खुल्नासाथ हामी छानबिन गर्छौ ।’

सन् १९८९ मार्चमा ललितपुरको सानेपाबाट सुरु भएको यो स्कुल धेरै पटक एसइई बोडमा उत्कृष्ट हुन सफल भएको थियो । पछि आफ्नै घर लामाटारमा विद्यालय सरेको थियो ।(कान्तिपुरबाट)

  • प्रकाशित मिति : जेठ १५, २०७८, शनिवार ००:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८