• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

बिहीबार नेप्सेमा ऐतिहासिक रेकर्ड

  • खबरदाता

बिहीबार नेप्सेमा ऐतिहासिक रेकर्ड

कारोबार रकम र कारोबार कित्ता सर्वाधिक

जेष्ठ १४,२०७८

साताको अन्तिम कारोबार दिन बिहीबार कारोबार रकमले पुनः ऐतिहासिक रेकर्ड कायम गरेको छ । यो दिन रु. १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार बराबरको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर कारोबार भएको छ ।

कारोबार रकमसँगै यो दिन कारोबार कित्ताले पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । यो कारोबार २१५ कम्पनीको १ लाख ४७ हजार ४९३ पटकको व्यापारमा भएको हो ।
यसअघिको उच्च रकमको कारोबार जेठ १० गते र उच्च कित्ता शेयर कारोबार २०७६ साल वैशाख ४ गते भएको थियो । उच्च रकमको कारोबार भएको दिन जेठ १० गते रु. १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर कारोबार भएको थियो ।

यसअघिको उच्च कित्ता शेयर कारोबार भएको दिन २०७६ साल वैशाख ४ गते २ करोड ८० लाख १६ हजार ३१३ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन नेप्से परिसूचक १ हजार २१७ दशमलव शून्य ४ बिन्दुमा थियो भने रु. ८२ करोड १६ लाख ९८ हजार बराबरको शेयर कारोबार भएको थियो ।

बिहीबार सर्वाधिक रकमको कारोबार अपि पावर कम्पनीको भएको छ । अपि पावरको रु. ४३ करोड २८ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको हो । यसको शेयर मूल्य ९ दशमलव ९४ प्रतिशत बढेको छ । अपिको शेयर मूल्य प्रतिकित्ता रु. ३४ ले बढेर अन्तिम मूल्य रु. ३७६ कायम भएको हो ।

बिहीबार नेप्से परिसूचक भने अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव २० अंक घटेर २ हजार ८१५ दशमलव ४० बिन्दुमा आएको छ ।

सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव २८ अंक घटेर ५०३ दशमलव ७० मा झरेको छ । यो दिन सूचीकृत कम्पनीहरूको कुल शेयरको मूल्य अर्थात् कुल बजार पुँजीकरण रकम रु. ३९ खर्ब ६ अर्ब ७६ करोड ८० लाख ४ हजार पुगेको छ ।

बिहीबारको बजारमा व्यापारिक समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने लघुवित्त समूहका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । यो दिन व्यापारिक समूहको परिसूचक ६ दशमलव ७२ प्रतिशत बढ्यो भने लघुवित्तको सर्वाधिक ३ दशमलव ४१ प्रतिशत घट्यो ।

यो दिन समता घरेलु लघुवित्तको ५ दशमलव २३ प्रतिशत र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ५ दशमलव शून्य ६ प्रतिशत शेयर मूल्य घट्यो । समता घरेलु लघुवित्तको प्रतिकित्ता रु. ९२ ले घटेर अन्तिम मूल्य रु. १ हजार ६६८ र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिकित्ता रु. ९० ले घटेर अन्तिम मूल्य रु. १ हजार ६८९ कायम भयो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई लघुवित्त कम्पनीको शेयरमा लगानी गर्न रोक लगाउने निर्णय गरेसँगै बिहीबार लघुवित्तको शेयरमा बिक्री चाप बढेकाले मूल्य घटेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई लघुवित्त कम्पनीको शेयर खरिदमा रोक लगाउँदै २०७८ जेठ १० गतेसम्म खरिद गरेको लघुवित्तको शेयर आगामी पुस मसान्तभित्र बिक्री गरिसक्न भनेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनका लागिबाहेक लघुवित्त कम्पनीको शेयरमा लगानी गर्न रोक लगाएको हो ।

उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाको लगानी अनुमानित रु. ७ अर्ब रहेको जानकारी दिए । यसमध्ये करिब रु. ३ अर्ब कन्भर्सन भएका लघुवित्तका शेयरको मूल्य रहेको र व्यापारिक लगानी रु. ४ अर्ब मात्र रहेको अनुमान पौडेलको छ ।

यो रकम केही दिनदेखि कारोबार भएको रकमको एक दिनमा हुने कारोबारको एक तिहाइ हिस्सा रहेको पौडेलको भनाइ छ । यसर्थ लघुवित्तको हकमा करिब ८ महिना र अन्यको हकमा १४ महिनासम्मको समयावधि दिएकाले अहिलेलाई आत्तिइनुपर्ने अवस्था नभएको पौडेल बताउँछन् ।

बिहीबार लघुवित्त समूहसँगै बैंकिङको शून्य दशमलव ३५ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव ४४ प्रतिशत, अन्यको १ दशमलव शून्य ८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ७३ प्रतिशत र लगानी समूहको शून्य दशमलव ६५ प्रतिशत परिसूचक घटेको छ ।

त्यस्तै, व्यापारिक समूहसँग विकास बैंकको ३ दशमलव ४३ प्रतिशत, जलविद्युत्को ४ दशमलव ५७ प्रतिशत, वित्तको २ दशमलव २८ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ९७ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५६ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ५५ प्रतिशत परिसूचक बढेको छ ।

यो दिन उच्च दरमा शेयर मूल्य बढ्ने २० कम्पनीमा सबै जलविद्युत् कम्पनी रहेका छन् । यीमध्ये तीन कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो । १० प्रतिशतले मूल्य बढ्ने कम्पनीमा हिमाल दोलखा हाइड्रोपावर, सानिमामाई हाइड्रोपावर र पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेड रहेका छन् ।

  • प्रकाशित मिति : जेठ १४, २०७८, शुक्रवार ०२:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८