• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

प्रधानमन्त्री र रास्ट्रपतिका कारण एमाले र जसपा फुटको नजिक

  • खबरदाता

प्रधानमन्त्री र रास्ट्रपतिका कारण एमाले र जसपा फुटको नजिक

जेष्ठ १०,२०७८

जेष्ठ १०, सोमबार, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भन्डारीले संसद विघटन गरेपछि दुईपार्टी फुटको नजिक पुगेका छन् । ओलीका आफ्नै पार्टी एमालेका माधव समूहले नयाँ पार्टी दर्तानै गरिसकेको अवस्थामा यता जनता समाजवादी पार्टी पनि फुटको नजिक पुगेको छ । जसपाले उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले पार्टीको सम्पूर्ण कार्यकारी अधिकार उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ ।

दुई दिन बसी आइतबार सकिएको जसपाको कार्यकारिणी समितिको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘बैठकले पार्टी कार्यकारिणी समितिको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ।’

जसपामा दुई अध्यक्ष छन् । यसअघि महन्थ ठाकुरले यस्तो अधिकार प्रयोग गर्दै आएका थिए। त्यस्तै जसपाले ठाकुर लगायत पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ । बैठकले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी समेत बैठकले दिएको छ। संसदीय दलको नेतामा महतो चयन भएको विषयलाई पनि बैठकले अस्वीकार गरेको छ।त्यस्तै सरकारसँग वार्ता गर्न बनेको कार्यदलमा लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको प्रति समेत आपत्ति जनाएको छ । यता महन्त ठाकुर समूहले भने यादवको निर्णय मान्य नहुने चेतावनी दिएका छन् । महन्त ठाकुर समूहले दुई अध्यक्ष विनाको निर्णय मान्य नहुने उल्टै यादव समूहलाई कारबाही गर्ने चेतावनी दिएको छ । यता महन्त ठाकुर समूहले ओली सरकारमा सहभागी हुने निर्णय गरेको छ । यादव समूहले सरकारमा सहभागी हुने सवैलाई कारबाही गर्ने निर्णय समेत गरेको छ । यसले अव पार्टीको फुट निश्चत भएको छ ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले कार्यकर्ताको नाममा पार्टी दर्ता गरेको रहस्य खुलिसकेको छ । सोही पार्टीलाई नेपाल समूहले आफ्नो पार्टी बनाउने तयारी गरेको समेत पाइएको छ । आवश्यक परेको बेलामा पार्टी चाहिन्छ भनेर नेपालले आफू निकट युवा नेता जीवन राईको नेतृत्वमा पार्टी दर्ता गराउन लगाएका हुन् ।

संसद विघटन भएसँगै खनाल–नेपाल समूहमा नयाँ पार्टी गठन गर्नुपर्ने मत बलियो बन्दै गएको छ।दोस्रो पुस्ताका केही नेता भने अझै पनि २०७५ जेठ २ मा फर्किने अवस्था बन्छ कि, भनेर कोशिस गर्ने अडानमा छन् । उनीहरूकै दबाबका कारण वरिष्ठ नेता नेपालले पार्टी गठनको घोषणा गर्न सकिरहेका छैनन् । यो पार्टीले आयोगबाट पार्टी दर्ताको प्रमाण–पत्र भने पाइसकेको छैन । यो पार्टीले चुनाव चिन्ह कलम मागेको छ।

राष्ट्रपतिले दिएको समयसीमामा कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर सहित दाबी गरेका थिए। शेरबहादुर देउवाको तर्फबाट पेस भएको दाबीमा कांग्रेसका ६१ जना, नेकपा माओवादी केन्द्रका ४९ जनाको हस्ताक्षर र सम्बन्धित पार्टीको पत्र तथा जनता समाजवादी पार्टी नेपालका १२ जना र नेकपा एमालेका २६ जना तथा जनमोर्चाका एक सांसद गरी १४९ सांसदको हस्ताक्षर थियो ।

ओलीले एमालेका १२१ र जसपाका ३२ जना सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा विश्वासको मत पाउन पर्याप्त आधार रहेको भनी पत्र पेस गरेका थिए । तर ओलीले दाबी गरेका एमालेका २६ र जसपाका १२ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

ओलीले १५३ जनाको समर्थन छ भनी बुझाएको पत्रमा भने उनीसहित जसपाका दुई सांसद महन्थ ठाकुर र राजेन्द्र महतोको मात्रै हस्ताक्षर थियो ।

ओलीले दाबी गरेका ३८ सांसदले देउवालाई सांसद बनाउन हस्ताक्षर गरेको र ती सांसदलाई ओली, ठाकुर र महतोले मान्यता नदिन अनुरोध गरेपछि दुवैतर्फ दाबी नपुगेको भन्दै राष्ट्रपतिले ७६(५) अनुसार प्रधानमन्त्रीमा कसैलाई पनि नियुक्त गरिनन् । र शुक्रबार मध्यरातमा संसद विघटन गर्दै मध्यवधि चुनाव घोषणा गरेकी थिइन ।

  • प्रकाशित मिति : जेठ १०, २०७८, सोमवार १४:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८