बिपक्षी मोर्चाका १४९ सांसद सर्बोच्च जाँदै

  • खबरदाता
  • जेठ ०९, २०७८

विपक्षी पाँच दलका एक सय ४९ जना सांसद राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन्।

जेष्ठ- ९ , २०७८

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधवकुमार नेपाल समूह, जनता जमाजवादी पार्टी (जसपा)का उपन्द्र यादव र बाबुराम भट्टराई समूह तथा राष्ट्रिय जनमोर्चाका एक सय ४९ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न हस्ताक्षर गरेका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूको दाबी नपुगेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकी थिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा ७ जेठ मध्यराति प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

यस कदमका विरुद्ध एक सय ४९ जना सांसद रिट निवेदन बोकेर सर्वोच्च अदालत जाने तयारीमा जुटेको कांग्रेस नेता रमेश लेखकले बताए। अहिले कानून व्यवसायीले कागजपत्र तयार गरिरहेको र आजै सर्वोच्च अदालतमा निवेदन दायर गर्ने तयारी भइरहेको उनले बताए। “आजै सर्वोच्च अदालत जान्छौं, त्यसको तयारी भइरहेको छ,” नेता लेखकले भने।

निवेदन बोकेर कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल सर्वोच्च जाने उनले बताए। उनीहरूसँगै सांसद पनि सर्वोच्च अदालत पुग्ने भएका छन्। पाँचै दलले आ–आफ्ना सांसदलाई नागरिक ल्याउन लगाएका छन्।

संविधानको धारा ७६ ९५० बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेको समयमा देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले दाबी पेश गरेका थिए। देउवाले एक सय ४९ सांसदको हस्ताक्षरसहित र ओलीले संसदीय दलको नेताको हस्ताक्षरसहित दाबी गरेका थिए। ओलीलाई जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले समर्थन गरेका थिए।

राष्ट्रपतिले भने दुवै जनाले बुझाएको हस्ताक्षरमा सांसदहरू दोहोरिएकाले दाबी नपुग्ने जनाएकी थिइन्। जसले गर्दा दुवैलाई प्रधानमन्त्री नियुक्त गर्न नसक्ने सूचना ७ जेठ राति ११ः३८ बजे जारी गरेकी थिइन्।

त्यस लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गर्न सिफारिश गरेको थियो। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले राति १:४९ बजेपछि प्रतिनिधि सभा विघटन गरी कात्तिक र  मंसीरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन्।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८