निषेधाज्ञा अवधिभर जरीवाना नलेऊ : सर्वोच्च

  • खबरदाता
  • जेठ ०६, २०७८

जेष्ठ ६,२०७८

कोभिडसँगै निषेधाज्ञाको चपेटामा परेका निजीक्षेत्रलाई राहत मिल्ने गरी सर्वोच्च अदालतले करसम्बन्धी एउटा रीटमा सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता सृजना अधिकारीको रीटमाथि बुधवार सुनुवाइ गर्दै न्यायाधीश मीरा खडकाको एकल इजलाशले निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरीवाना नलगाउन आदेश दिएको हो ।

‘निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरीवाना असुल नगर्नू, नगराउनू,’ आदेशमा भनिएको छ, ‘ बन्दाबन्दी पूर्णरूपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनू ।’

आदेशमा यस सम्बन्धमा लिखित जवाफ १५ दिनभित्र पेश गर्नसमेत अर्थ मन्त्रालयलाई भनिएको छ । आन्तरिक राजस्व विभागको वेबसाइटमा कर विवरण बुझाउने सम्बन्धमा कुनै सूचना वा जानकारी उपलब्ध नगराइ जरीवाना लगाइएको भन्दै अधिकारीले सर्वोच्चमा रीट दायर गरेकी थिइन्।

गतवर्ष कोभिडको महामारीका बेला सरकारले भ्याट तथा कर विवरण बुझाउन बन्दाबन्दीको अवधिभर समय दिए पनि यसपालि निषेधाज्ञा भने यस्तो सुविधा दिएको छैन । वैशाखको दोस्रो सातादेखि मुलुकका प्रायः जिल्लामा अहिले निषेधाज्ञा छ । तर, आन्तरिक राजस्व विभागले कर भुक्तानीसहित विवरण बुझाउन वैशाखमा विभिन्न माध्यमबाट करदातालाई ताकेता गरिरहेको छ ।

जारी निषेधाज्ञा र उद्योग÷प्रतिष्ठानमा कार्यरत कर्मचारी बिरामी परेका कारण देखाउँदै निजीक्षेत्रले करको विवरण बुझाउन र कर तिर्ने समयावधि बढाउन सरकारसँग माग गरे पनि यसबारे निर्णय गर्न हतार नभएको भन्दै सरकारले कर असुलीलाई तीव्र पारेको थियो ।

अदालतको आदेशले निजीक्षेत्रलाई राहत मिलेको उद्योगी–व्यवसायीको भनाइ छ । चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले पछिल्लो मौद्रिक नीतिसँगै सर्वोच्च अदालतको आदेशले राहत मिलेको बताए । ‘हामी उद्योगी–व्यवसायी यो देशको नागरिक नै हौ, हामीले कानून मान्नुपर्छ त्यो थाहा छ तर विषम परिस्थितिलाई हेरेर हामीले कर तिर्ने र विवरण बुझाउने समय मागेका थियौं, चासो देखाइएको थिएन,’ मल्लले बताए ।

उनका अनुसार आदेश तथा मौद्रिक नीतिमार्फत घोषणा गरिएका व्यवस्थालाई सहज तरीकाले निजीक्षेत्रले लाभ लिन सक्ने गरी कार्यान्वयनमा लैजानुपर्छ ।

  • खबरदाता
  • प्रकाशित मिति:जेठ ०६, २०७८

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८