• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

तीन दिनमा कोभिड रोकथाममा पाँच करोड ७२ लाख

  • खबरदाता

तीन दिनमा कोभिड रोकथाममा पाँच करोड ७२ लाख

३१ हजार बढी आइसोलेसन र एक लाख ११ हजार तीन सय ६४ अक्सिजन सिलिन्डर

जेष्ठ ४,२०७८
सरकारले मुलुकभर ३१ हजारभन्दा बढी आइसोलेसन सेन्टर रहेको बताएको छ । सोमध्ये करिब एक हजार पाँच सय अक्सिजनसहितको आइसोलसन सेन्टर रहेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जानकारी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकमा सीसीएमसीका सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीसीएमसी सदस्यहरुले जानकारी दिएका हुन् ।

यस्तै कार्यालयका प्रवक्ता किरणराज शर्माले प्रधानमन्त्री ओलीको उपस्थितिमा कार्यालयमा बसेको बैठकमा सीसीएमसी सदस्यहरुले कोरोना नियन्त्रण तथा मुलुकको पछिल्लो गतिविधिबारे जानकारी गराएको बताए । सोही क्रममा कोरोना संक्रमितहरुको उपचारको लागि १० हजार आठ सय १२ वटा बेडहरु रहेका छन् भने विशेष उपचारको लागि तीन सय ६५ वटा थप बेड गरी कुल दुई हजार पाँच सय ९०, एचडीयू दुई हजार दुई सय २५ सहित पाँचवटा थप बेड गरी कुल एक हजार छ सय २३ वटा आईसीयू र पाँचवटा थप भई जम्मा पाँच सय ९८ वटा भेन्टिलेटर रहेको छ ।

यस्तै गृह मन्त्रालयका अनुसार देशभरका विभिन्न सीमानाकाहरुबाट तीन हजार ३४ जना नेपाली नागरिक मुलुक प्रवेश गरेका छन् । अक्सिजन उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन सम्बद्ध क्षेत्रमा एक सय २६ वटा स्थानमा अनुगमन भएको छ । उद्योग लगायत अन्य क्षेत्रमा प्रयोगमा रहेको एक हजार दुई सय ९२ वटा अक्सिजन सिलिण्डरहरु मेडिकल प्रयोजनको लागि फिर्ता गरिएको पाइएको छ । देशभर क्वारेन्टिनको नियम पालना नगर्ने ४२ हजार आठ सय २८ जनालाई कारबाही तथा सचेत गराइएको गृहले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने उपत्यकाभित्रका १० वटा उद्योग र उपत्यकाबाहिर १९ वटा उद्योगमा ठूलो ७२ हजार दुई सय ५० र सानो ३९ हजार एक सय १४ गरी कुल एक लाख ११ हजार तीन सय ६४ अक्सिजन सिलिण्डर रहेको जनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट उपत्यकामा दुईवटा खाद्य फर्म, एक वटा स्वास्थ्य सामग्री फर्म व्यवसायहरुको अनुगमन भएको र एउटा फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना समेत गरिएको छ । नियमविपरीत काम गरेसँगै ती फर्महरुलाई जरिवाना गराएको विभागले जानकारी दिएको छ ।

यता परराष्ट्र मन्त्रालयले चीनको सिचुवान प्रान्तले नेपाल सरकारलाई सहयोग सहायतास्वरुप प्रदान गरेको तीन दशमलव छ मिलियन आरएमबी बराबरको कोभिड १९ विरुद्धको स्वास्थ्य सामग्रीहरु १९ मेमा सिचुवान एयरलाइन्सको चार्टर्ड कार्गो उडानबाट काठमाडौं आइपुग्ने जनाएको छ भने अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग जेठ २ गते सम्ममा आइपुग्नेछ ।

अर्थ मन्त्रालयका अनुसार कोभिड रोकथाम, नियन्त्रण र उपचारको लागि पछिल्लो समय पाँच करोड ७२ लाख १२ हजार रुपैयाँ खर्च भएको जनाएको छ । मन्त्रालयका अधिकारीहरुका अनुसार वैशाख ३१ गते तीन करोड ७७ लाख ४३ हजार रुपैयाँबराबरका २८ लाख १३ हजार १६ थान विभिन्न मेडिकल उपकरणहरु, ५७ लाख ५६ हजार रुपैयाँबराबरका अक्सिजन तथा औषधिहरु साथै जेठ १ गते एक करोड ३५ लाख पाँच हजार रुपैयाँबराबरका १७ हजार एक सय ७७ थान विभिन्न मेडिकल उपकरणहरु र दुई लाख छ हजार रुपैयाँको अक्सिजन तथा औषधिहरु भन्सारबाट पैठारी भएको छ ।

निषेधाज्ञाको समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कुल पाँच सय जना यात्रुको उद्धार गरेको छ । यस्तै नेपाल वायुसेवाले ओमानबाट पाँच सय ६० थान अक्सिजन सिलिण्डर लिई आएको छ भने चीनबाट प्राप्त हुनेमध्ये एक हजार छ सय अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको कार्गो उडान मे १५ देखि मे १८ तारिखसम्म नियमित जाने आउने गरी तय भएको छ ।

प्रवक्ता शर्माले हाल अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्रीहरु प्राप्त हुने क्रम बढ्दै गइरहेको स्थितिमा संक्रमितहरुलाई अक्सिजन र बेडको अभाव हुन नदिन, स्वास्थ्य उपचारलाई व्यवस्थित, सहज र सबैको पहुँच सुनिश्चित गर्न आआफ्नो क्षेत्रबाट योगदान पु-याउन कार्यालयले सबैमा आग्रह गरेको बताए । (आर्थिक दैनिकबाट)

  • प्रकाशित मिति : जेठ ४, २०७८, मंगलवार ०१:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८