२०७४ सालको निर्वाचन परिणाम आउँदा नै भारतले ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न खोजेकै हो । त्यसबेला ओलीले पाएको अपार जनसमर्थनका कारण भारतीय योजना असफल भयो ।
बैशाख – २८,२०७८
अन्ततः नेपालमा कम्युनिस्टहरुको दुई तिहाइ गल्र्यामगुर्लुम ढलेको छ । संसदको निकै कमजोर अवस्थाको दोस्रो शक्ति भए पनि प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई मार्ग प्रशस्त भएको छ । केपी शर्मा ओली शक्ति, दम्भ र अहंकारको घोडामा सवार हुँदा दुर्घटनामा परेका छन् ।
ओलीको यही अहंकारपूर्ण शैलीमा नेपाली राजनीतिमा बढी नै चाख राख्ने भारतले नजानिँदो तवरले खेल खेलिदियो । वास्तवमा भारतलाई न नेपालमा कम्युनिस्टहरुको दुई तिहाइ मन परेको थियो, न त केपी ओलीको सत्तामा पुनरागमन नै । २०७४ सालको निर्वाचन परिणाम आउँदा नै भारतले ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न खोजेकै हो । त्यस ओलीले पाएको अपार जनसमर्थनका कारण भारतीय योजना असफल भयो ।
त्यसपछि ओलीलाई सत्ताच्युत गराउन दृश्य अदृश्य खेल भए । ओली प्रधानमन्त्री भएलगत्तै पुष्पकमल दाहाल प्रचण्डलाई भारतले निमन्त्रणा गरे वैकल्पिक नेताका रुपमा स्वागत र सत्कार गरेको थियो । आफ्नो विकल्पमा प्रचण्डलाई उभ्याउन खोजेको ओलीले बुझिसकेका थिए । लगत्तै प्रचण्ड चीन भ्रमणमा जाँदा ओलीले अर्को चाल चले । उनले त्यतिखेर आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदाहुँदै अर्को कुनै नेतालाई समान हैसियतमा स्वागत गरे राम्रो सन्देश प्रवाह नहुने भन्दै चिनियाँ संस्थापनकहाँ सन्देश पुर्याए । फलस्वरुप चिनियाँ राष्ट्रपतिलाई भेट्न हिँडेका प्रचण्ड बीच बाटोबाटै फिर्ता हुनुपरेको थियो । यति मात्र होइन, प्रचण्ड भ्रमणको चाँजो मिलाउन खोज्ने तत्कालीन राजदूत लीलामणि पौड्यालसमेत खोसुवामा परे ।
२०७६ फागुनमा प्रचण्डले माधव नेपालसँग मिलेर पार्टीभित्रैबाट संसदीय दलमा बहुमत पुर्याएर ओलीलाई हटाउन खोजे । त्यतिखेर कांग्रेस र जसपाका दुवै घटक ओलीलाई हटाउन तयार भएका थिए । यो चाल पाएर ओलीले उपेन्द्र यादवको पार्टी फुटाएर नेकपामा मिलाउने तयारी गरे । त्यसैका लागि उनले राजनीतिक दलसम्बन्धी अध्यादेश नै ल्याए । मो। इस्तियाक राई सहितका करिब ७ जना सांसदले दल विभाजन गरी नेकपामा मिसिने आश्वासन दिएका थिए । त्यसैअन्तर्गत सांसद अपहरण काण्डसमेत भएको थियो । ती सांसद भित्रिएका भए ओली संसदीय दल र पार्टीमा बलिया हुन्थे ।
तर, पर्दापछाडि अर्कै खेल भएको थियो । त्यतिखेर समाजवादीका सांसदहरुले ओलीलाई साथ दिन्छु भन्दै ललिपप देखाए पनि वास्तवमा उनलाई झन् उग्रताको बाटोमा हिँडाउने अदृश्य खेलको एउटा कडी मात्र थियो । अन्ततः त्यही भयो । पार्टीभित्र विरोध र विग्रह बढ्यो । रातारात समाजवादीलाई राजपासँग मिलाएर झन् ठूलो शक्ति बनाइयो । एक सिटे बाबुराम भट्टराईलाई ३५ सिटको नेता बनाइयो । ओलीविरोधी घेरा थप सुदृढ र संगठित बन्दै गयो ।
पछिल्लोपल्ट भारतीयले महन्थ ठाकुर र राजेन्द्र महतोमार्फत् आफ्नो साथ रहेको जनाउ दिए । झण्डै २२ सांसदको हिसाब बुझाए उनीहरुले । एमालेका १ सय २१ र जसपाका २२ सांसद आफ्नो पक्षमा हुँदा ओली सरकार टिक्थ्यो । नभए उनको पुनःनियुक्ति सम्भव हुन्थ्यो । वास्तवमा ओलीलाई थप कठोर र अलोकप्रिय निर्णय लिन लगाउने प्रपञ्च मात्र थियो यो । यसो नगरेसम्म न नेकपा टुक्रिन्थ्यो, न त ओलीको माधव नेपालसँग सम्बन्ध विच्छेद हुन्थ्यो । दोस्रो तहका भनिने नेताहरु अन्तिम समयसम्मै पार्टी एकताको गीत गाइरहेकै थिए । ओलीले आफू कमजोर भएको महसुस गरेमा सम्झौताको सम्भावना हुन्थ्यो । त्यसैले हरतरहले ओलीलाई बलियो रहेको भान दिलाउनुपथ्र्यो । त्यसका लागि ठाकुर र महतोले काम गरे ।
तर, भित्रभित्रै उपेन्द्र यादव, मो। इस्तियाक राईहरुमार्फत् अर्कै खेल खेल्यो । उपेन्द्र यादव, प्रचण्ड र अग्नि सापकोटाजस्ता चीननजिक भनेर चिनिन चाहने पात्रलाई भारतले सहजीकरण गर्यो । अर्थात्, यसपालि ओलीलाई झुक्याउन भारतले चाइना कार्ड खेल्यो । मो। इस्तियाक राईहरुले ओलीलाई दुर्घटनाको खाल्डोमा पार्न अन्तिम समयसम्म साथ दिने वाचा गरे । ओलीले पनि आफ्नो पक्षमा बहुमत कायमै रहने ठानेर औँला भाँचेर बसे । जब निर्णायक घडी आयो, उपेन्द्र यादवका सांसदहरुले पल्टा खाए । मो। इस्तियाक राईलगायतले जनता समाजवादीको पार्टी र संसदीय दल दुवैतिर उपेन्द्रको पक्षमा बहुमत पुर्याउन भूमिका खेले । ओलीले भर गरेका ठाकुर र महतोले पनि हात उठाए ।
एकातिर महतो र ठाकुरलाई ओलीको पक्षमा उभ्याएर ओलीलाई भारतीयको साथ लिएर टिक्न खोजेको सन्देश प्रवाह गरियो । यसले उनको विगतको राष्ट्रवादी छवि बिटुल्याइयो । अर्कोतिर चीन परस्त भनेर चिनिने उपेन्द्र यादव र प्रचण्डहरुलाई प्रयोग गरी भारतले नै ओलीको गाथगादी ढालिदियो ।
यसरी झुक्यानमा नपारेसम्म ओलीलाई ढाल्न मुस्किल थियो । किनभने, एमसीसीको आड लिएर उनले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको बोल्ती बन्द गरिदिएका थिए । एमसीसी प्रकरणमा ओली र देउवा एक ठाउँमा हुनुपर्ने बाध्यता थियो । अमेरिकाले एमसीसी समीकरण टिकाउन खोजेको थियो । अमेरिकालाई नाघेर जाने भारतीयको हैसियत थिएन । तर, लिम्पियाधुराको नक्सा, भारतीय नाकाबन्दीविरुद्धको अडान अनि संसदमै भारतको निशान छापमा अंकित नारालाई सिंहमेव जयते भन्दै हिंस्रक उपमा दिएका प्रकरणले भारत ओलीसँग रुष्ट थियो । यसपटक भारत निकै भिन्न रणनीतिका साथ नेपाली राजनीतिमा आफ्नो हात माथि पार्न सफल भयो । ओलीलाई भारतपरस्त देखाएरै लडाइदियो, चीनपरस्त भनिएका शक्तिहरुलाई हातमा लिएर ।(बर्णनबाट)
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८