बैशाख २७,२०७८
एमालेका बरिस्ठ नेता माधबकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ बुँदे पत्र पठाएका छन।संसदमा विश्वासको मत लिने अघिल्लो दिन नेता माधवकुमार नेपालले ओलीलाई सो पत्र लेखेका छन् ।
बिगत लामो समय देखि आन्तरिक बिबाद चुलिएको एमालेमा अन्तत सतहमानै आएको छ । जसले अब पार्टी एक रहने या नयाँ सिराबाट अगाडि बढ्ने भन्ने कुराका बिच आम कार्याकर्ता अन्योलमा रहेको पाइन्छ ।
धेरै पटकको एक्लाएक्लै बैठक र छलफल निष्कर्षमा पुग्न नसकेपछि नेपालले सामूहिक राजीनामाको चेतावनीसहित आइतबार बेलुका ओलीलाई पत्र पठाएका हुन्।
यसअघि माधव समूहका योगेश भट्टराईले आफूहरूले ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको बताएका थिए ।
नेता नेपालले लेखेको पत्रमा सर्वोच्चले नेकपालाई एमाले र माओवादीको पुरानै अवस्थामा पुर्याएकाले एकीकरणअघि अर्थात् २०७५ जेठ २ को अवस्थाबाट क्रियाशिल बनाउनुपर्ने सर्त राखेका छन्।
त्यसयता ओलीले एमालेमा गरेका केन्द्रीय कमिटी विघटन तथा नेताहरूलाई गरिएको कारबाही र सांसदहरूलाई सोधिएको स्पष्टीकरण लगायत निर्णय खारेज गर्न माग गरेका छन् ।
पत्रमा छ बुँदे सर्त राख्दै उनले ती सर्त पूरा नभए सांसद पदबाट सामूहिक राजीनामा दिनेसम्मको चेतावनी दिएका छन्।
नेपालका ६ बुँदा:-
१. सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को विधान, नियमावली, आचार संहिता अनुरूप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनु पूर्वको अर्थात् जेठ २ गतेको स्थितिमा पार्टी, जनसङ्गठन र पेसागत गठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने ।
२. नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्ने ।
३. पार्टीलाई विधि, विधान र पद्धति अनुरूप सञ्चालन गर्ने ।
४. पार्टीमा उत्पन्न अन्तर्विरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एक अर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरूको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने ।
५. सरकार र पार्टीको बिचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरि हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।
६. उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने ।
‘हाम्रा जायज आवाजलाई बेवास्ता गरियो भने तपाईँ पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहनुभएको भन्ने अर्थ लाग्ने स्पष्ट छ,’ उनले भनेका छन्, ‘त्यस्तो स्थितिमा हामी देश र जनताको सर्वोपरी हित तथा पार्टी र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभाको सदस्य नै त्याग गर्ने लगायतका जस्तोसुकै पाइला चाल्न पनि बाध्य हुने स्थिति उत्पन्न हुनेछ। यसका लागि पनि जिम्मेवार तपाईँ नै हुनुहुनेछ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८