• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवन कारागारमा भेटघाट बन्द


चितवन कारागारमा भेटघाट बन्द

बैशाख २०,२०७८

चितवन । जिल्ला कारागार कार्यालय चितवनमा रहेका कैदी र बन्दीसँगको भेटघाट बन्द गरिएको छ। कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कोरोना सङ्क्रमण फैलन सक्ने भएकाले भेटघाट बन्द गरिएको हो । आफन्त भेटघाटमा आउँदै कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने भन्दै कारागार प्रशासनले भेटघाट बन्द गराएको उनले जानकारी दिए ।

उनले भने, “बाहिरबाट मान्छे आउँदा भित्र रहेकालाई कोरोना सर्न सक्ने खतरा भएकाले भेटघाट बन्द गराएका छौँ ।” दोस्रो चरणको कोरोना भाइरस पहिलेको भन्दा जटिल भएकाले भेटघाटमा आउने आफन्तलाई गेटबाट फर्काइएको उनले बताए ।

भेटघाट बन्दसँगै बाहिरबाट ल्याउने कैदीबन्दीलाई समेत रोक लगाइएको उनको भनाइ छ । उनले भने, “बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी भाकाबाहेक अन्य कैदीबन्दी नपठाउन भनेका छौं।” जिल्ला अदालतबाट ल्याइएका कैदीबन्दीको पनि कोरोना परीक्षण गरेर मात्र राख्ने गरिएको उनले जानकारी दिए। उनले भने, “कारागारमा कोरोना सङ्क्रमण फैलन नदिनका लागि उच्च सतर्कता अपनाएका छौ ।”

जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई आउने बित्तिकै १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ । बीस जना अट्ने क्षमता रहेको सो क्वारेन्टिनमा अहिले पनि कैदीबन्दी रहेका छन् । पहिलो चरणको कोरोना सङ्क्रमणका समयमा विसं २०७६ साल चैत ८ गतेदेखि बन्द गरिएको भेटघाट २०७७ साल माघ २६ गतेमात्र खोलिएको थियो । भेटघाट बन्द गरिएसँगै कारागार कार्यालयमा कोरोना सङ्क्रमण फैलन पाएको थिएन ।

कारागार कार्यालयमा अहिले ६६५ कैदीबन्दी रहेका छन् । त्यसमा पुरुष ६१६, महिला ४९ र आश्रित बालबालिका तीन रहेका छन् । यहाँ रहेका कैदीबन्दी मध्ये ५५१ ले कोरोनाविरुद्धको दोस्रो चरणको खोपसमेत लगाइसकेको काफ्लेले जानकारी दिनुभयो । यस कार्यालयमा २५ महिला र २५५ पुरुषको क्षमता रहेको छ ।

  • प्रकाशित मिति : वैशाख २०, २०७८, सोमवार ०७:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८