• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

अक्सिजन जोहो गर्ने तयारीमा सरकार

  • खबरदाता

अक्सिजन जोहो गर्ने तयारीमा सरकार

बैशाख १२,२०७८
छिमेकी मुलुक भारतमा अक्सिजनको अभावका कारण ठूलो संख्यामा कोभिडका बिरामीले ज्यान गुमाइरहेका बेला नेपालमा त्यस्तै अवस्था आउन सक्ने आकलन गर्दै सरकारले यसको जोहो गर्ने तयारी थालेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक २५ सयभन्दा बढी कोभिडका बिरामी थपिँदै गएको र अक्सिजनको अभाव हुने खतरा बढेपछि २० हजार थान अक्सिजन सिलिन्डर जोहो गर्न लागिएको हो । त्यस्ता सिलिन्डर निजी कम्पनीहरूलाई सहुलियतमा विदेशबाट किन्नका लागि सरकारले बाटो खुला गरिदिने भएको छ ।

अर्थ मन्त्रालयमा स्वास्थ्य मन्त्रालयले उक्त परिमाणको सिलिन्डर भित्र्याउन कर छूटको प्रस्ताव पठाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अक्सिजनको अभाव हुन नदिन निजीक्षेत्रबाटै सिलिन्डर किन्नका लागि आयातमा लाग्दै आएको भन्सार छूट दिन अर्थमा प्रस्ताव पठाइएको र छिट्ट निर्णय भएर आउने बताए । ‘अर्थबाट सकारात्मक जवाफ पाएका छौं, निर्णय भएर आउनेबित्तिकै निजीक्षेत्रले किन्न बाटो खुल्नेछ,’ उनले भने ।

व्यवसायीहरूले भने सिलिन्डर किन्न कठिन भएको बताएका छन् । उनीहरूका अनुसार चीन, भारतबाटै सिलिन्डर आउने हो, सिलिन्डर किन्र्न ती मुलुकमै महामारी कायमै छ । चीनबाट ल्याउन त्यति सहज छैन भने भारतमा सिलिन्डरको हाहाकार नै छ ।

अहिले नेपालभित्र करीब २ लाखको हाराहारीमा अक्सिजन सिलिन्डर रहेको व्यवसायीको अनुमान छ । एभरेष्ट अक्सिजनका सञ्चालकसमेत रहेका उद्योगी शिवप्रसाद घिमिरेका अनुसार कोभिड अघिसम्म कतिपय अस्पतालले माग नभएका कारण खर्चिलो अक्सिजन प्लान्ट चलाएका थिएनन् भने सिलिन्डरमा उपलब्ध गराउने उद्योगहरू पनि करीब ४० प्रतिशत सञ्चालनमा थिएनन् ।

तर, अहिले अस्पतालले पनि अक्सिजन प्लान्ट चलाउन थालिसकेका छन् र उद्योगहरू पनि पूर्णरूपमा सञ्चालनमा आउने क्रम छ । त्यसैले अक्सिजनको अभाव नहुने आकलन उनको छ । संक्रमणले उग्र रूप लिएमा भने अहिलेको सिलिन्डरले माग धान्न कठिन हुन सक्ने उनले बताए ।

घिमिरेका अनुसार काठमाडौं आसपासमा अक्सिजन प्लान्ट बढी छन् उपत्यका बाहिर कम छन् । ‘ठाउँठाउँमा सिलिन्डरमार्पmत अक्सिजन सप्लाई गर्नुपर्ने अवस्था आउँदै छ, सीमाबाट सिलिन्डर बाहिर जाँदा झनै संकट आउने खतरा छ,’ उनले भने ।

महामारीले भारतमा जस्तै उग्र रूप लिने हो भने सिलिन्डरकै अभावमा अक्सिजनको हाहाकार हुने सम्भावना बढेको उनको भनाइ छ ।

स्वास्थ्यका अधिकारीहरूका अनुसार अस्पतालहरूमा बिरामी भरिभराउ हुँदै जाने तर जनशक्तिको अभावमा अस्पतालहरूमा रहेको अक्सिजन प्लान्टले उत्पादन बढाउन नसक्ने हो भने नेपालमा पनि अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने परिस्थिति आउनेछ । यस्तो खतरालाई ध्यानमा राखेर नयाँ सिलिन्डिर ल्याई स्टकमा राख्ने तयारी सरकारले गरेको हो ।

अक्सिजन दिने उपकरण र त्यससँग सम्बद्ध सामानहरू समेत किनेर ल्याउन बाटो खुलाइदिने काम सरकारले गर्दै छ । ‘नेबुलाइजर, हाई फ्लो अक्सिजन क्यानुला र कोभिडको उपचारार्थ चाहिने अन्य सम्बद्ध सामग्री आयातमा समेत भन्सार छूटको लागि हामीले अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छौं,’ स्वास्थ्य प्रवक्ता गौतमले भने । बजारमा मेडिकल अक्सिजनको माग बढेको व्यवसायीहरू बताउँछन् । मुख्यतः सीमावर्ती क्षेत्रमा बिरामीलाई अक्सिजन दिने उपकरण र त्यससँग सम्बद्ध सामानहरूको माग बढ्दो छ ।

केही व्यवसायीले धेरै मात्रामा यी सामान किनिरहेको सूचना आएको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए । उनका अनुसार खुला सीमा भएका कारण ओसारपसार रोक्न कठिन भए पनि त्यसलाई रोक्न संघबाट भरपूर पहल भइरहेको छ ।

  • प्रकाशित मिति : वैशाख १२, २०७८, आइतवार ००:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८